१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १३:४९:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

६ लेन सडकमा फुटपाथ र सर्भिस लेन बनेन, पाँचौँपटक म्याद थपको तयारी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:४९:oo

भारतीय सीमानाका गौरीफन्टादेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने धनगढी–अत्तरिया ६ लेन सडकमा फुटपाथ तथा सर्भिस लेन निर्माणलगायतका काम अलपत्र परेका छन् । चौथोपटक थपिएको आयोजनाको अवधि यही महिना सकिँदै छ, तर सडक कालोपत्रेबाहेक अन्य कामले भने गति लिन सकेको छैन । 
    
फुटपाथ र सर्भिस लेन निर्माणसँगै रेलिङ लगाउने, रङरोगन गर्ने, ट्राफिक संकेत र बोर्डहरू राख्ने काम भएका छैनन् । सडक कालोपत्रे गरेपछि निर्माण कम्पनीले अन्य संरचना निर्माणमा बेवास्ता गरेका छन् । केही दिन काम गरेर हप्तौँसम्म काम रोकिने गरेको छ । फुटपाथ निर्माण गर्दा गुणस्तरहीन ब्लक राख्न लागिएको उजुरी अख्तियारमा परेपछि एक महिनादेखि काम ठप्प छ । फुटपाथमा ब्लक लगाउने र सर्भिस लेन ग्राभेल गर्ने सडक निर्माण सम्झौतामा उल्लेख छ । फुटपाथ डेढ मिटर र सर्भिस लेन तीनदेखि साढे चार मिटरसम्म चौडा रहनेछ । आयोजना प्रमुख रामबहादुर गुरुङले थोरै काम बाँकी रहे पनि कामले गति लिन नसकेको बताए । करिब पाँच प्रतिशत काम मात्र बाँकी रहेको जानकारी दिँदै उनले केही ठाउँमा फुटपाथ पनि बनिसकेको बताए ।

१४.२ किलोमिटर लामो ६ लेन सडकलाई तीन खण्डमा छुट्याएर छुट्टाछुट्टै ठेक्का लगाइएको थियो । जेठ, ०७४ मा निर्माण सम्झौता हुँदा दुई वर्षभित्रै सम्पन्न गर्ने सर्त थियो । तर, सुरुको सम्झौता अवधि सकिएर तीन वर्ष बित्दा पनि आयोजनाले पूर्णता पाएको छैन । निर्माण कम्पनीले पाँचौँपटक म्याद थपका लागि निवेदन दिएका छन् । ‘असार मसान्तसम्मको समय माग गरेर पाँचौँपटक म्याद थपका लागि निर्माण कम्पनीले निवेदन दिएका छन्,’ आयोजना प्रमुख गुरुङले भने, ‘अब डेढ महिनाभन्दा बढी थपिन्न । काम सक्ने ग्यारेन्टी भए मात्र म्याद थप्छौँ, नत्र जरिवाना असुल्छौँ ।’ 

सडक निर्माणले पूर्णता नपाउँदा यातायातका साधनहरू व्यवस्थित रूपमा सञ्चालन हुन सकेका छैनन् । रेलिङ राख्ने, रङरोगन गर्ने, ट्राफिक संकेतहरू राख्ने कार्य नहुँदा यातायातका साधन सञ्चालनमा अस्तव्यस्त छ । ट्राफिक चिह्न, संकेत राख्ने, डिभाइडरहरू राख्नेलगायतका काम पूरा नभएकाले ट्राफिक प्रहरीले यातायातका साधनलाई लेन अनुशासनको पालना गराउन सकेको छैन । कतिपय ठाउँमा मेडियन फुटाइएका छन् । यातायातका साधनले मेडियन फुटाएका ठाउँबाट जथाभावी लेन बदल्ने गरेका छन् । यातायातका साधन र पैदल यात्रुले जथाभावी बाटो काट्दा दुर्घटनासमेत बढेका छन् ।

अख्तियारमा उजुरी परेपछि रोकिएको काम केही दिनयता सुरु भएको आयोजना कार्यालयले जनाएको छ । फुटपाथमा प्रयोग भएका ब्लक तोकिएकै गुणस्तरको रहेको परीक्षणबाट पुष्टि भएको आयोजना प्रमुख गुरुङले बताए । ‘अब डेढ महिनाभित्र काम सक्ने सुनिश्चितता भए मात्र म्याद थप्छौँ । काम सक्ने सुनिश्चितता नभए निर्माण अवधि सकिएको दिनदेखि प्रत्येक दिनको जरिवाना असुल्छौँ,’ उनले भने ।आयोजना कार्यालयका अनुसार तीनवटै खण्डमा गरी एक अर्ब ६५ करोड लागत रहेकोमा निर्माण कम्पनीहरूले कुल रकमको करिब ९० प्रतिशत भुक्तानी लगिसकेका छन् । मोहना पुलदेखि बोराडाँडीसम्म साढे चार किलोमिटर पहिलो खण्डमा शर्मा–अमर–नागार्जुन जेभीले काम गरिरहेको छ । त्यस्तै, बोराडाँडी–गेटा साढे चार किलोमिटर दोस्रो खण्ड र गेटा–अत्तरिया तेस्रो खण्डमा क्रमशः लुम्बिनी–राजेन्द्र–डाँफे र लामा–राजेन्द्र–डाँफेले काम गरिरहेका छन् ।

सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर कोरोनाका कारण प्रभावित आयोजनाको अवधि चैत मसान्तसम्म पुर्‍याएपछि ६ लेनको अवधि पनि थपिएको हो । निर्माण कम्पनीहरूले यसअघि कोरोनाका कारण काम गर्न नपाएको तर्क गरे पनि संक्रमणको अवस्था सामान्य हुँदासमेत कामले गति लिएको छैन । 

सम्झौता भएपछि पुल सार्न जनप्रतिनिधिको दबाब
धनगढीमा ६ लेन सडक गौरीफन्टा नाकास्थित मोहना नदीवारिसम्म छ । नाकासम्मै जोड्नका लागि मोहना नदीमा ‘डबल लेन’को पुल निर्माणका लागि एक महिनाअघि सम्झौता भएको छ । तर, धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिले पुल सार्नुपर्ने भन्दै काम सुरु नगर्न दबाब दिएका छन् ।

अहिलेको ठाउँबाट केही पूर्वतिर सार्नुपर्ने भन्दै धनगढीका मेयर नृपबहादुर वडले काम सुरु नगर्न दबाब दिएको आयोजना कार्यालयले जनाएको छ । आयोजना प्रमुख गुरुङले मेयरको दबाबपछि काम सुरु हुन नसकेको बताए । ‘निर्माण कम्पनी साइट बनाउन आएको थियो, तर दबाब आएपछि उसले काम सुरु गर्न सकेको छैन,’ गुरुङले भने, ‘काम रोक्न मौखिक दबाब आएको छ, हामीले लिखित रुपमा दिन भनेका छौँ ।’अहिले रहेको पक्की पुल साँघुरो रहेकाले त्यो पुलको चार मिटर ‘ग्याप’मा नयाँ पुल निर्माणको ठेक्का एक महिनाअघि भएको थियो । एक सय २५ मिटर लामो यो पुल निर्माण गर्न भ्याटबाहेक १२ करोड १७ लाख लागतमा रायमाझी कन्स्ट्रक्सनसँग सम्झौता भएको छ ।

आयोजना कार्यालयका अनुसार करिब ७०–८० मिटर पूर्व सार्नुपर्ने भन्दै काम रोक्न मेयर वडले दबाब दिएका छन् । ठेक्का रद्द गरेर स्थान सार्दा पुल निर्माण हुन थप चार वर्ष ढिलो हुने आयोजना प्रमुख गुरुङले बताए । रोक्नुको कारण भने नखुलाइएको उनले बताए । मोहना पुल पार गरेर गौरीफन्टा नाका पुग्न करिब सय मिटर सडक कञ्चनपुर जिल्लामा पर्छ । कञ्चनपुरको भूभाग भए पनि विगतदेखि कैलालीले व्यवस्थापन गर्दै आएको नाका गत वर्षबाट कञ्चनपुर प्रशासनमातहत गएको छ । ‘पुल अहिलेको ठाउँबाट पूर्व सारे सीधै नाकानजिकैसम्म पुग्ने र नाका व्यवस्थापन कैलालीमातहत आउने भएकाले रोक्न दबाब दिएको बताइएको छ ।

पुल सार्ने दबाबबारे केन्द्रमा जानकारी गराइएको र केन्द्रबाट पुल सार्नुको कारणबारे बुझ्न निर्देशन आएको आयोजना प्रमुख गुरुङले बताए । यसबारे बुझ्न खोज्दा मेयर वडसँग सम्पर्क हुन सकेन । ६ लेनअन्तर्गत नै गेटामा मनहरा र सुनिखोलामा नदीमा पनि ६ लेनको पुल निर्माण भइरहेका छन् ।

ad
ad