नेपालले संयुक्त राष्ट्रसंघका पाँच निकायमा उम्मेदवारी दाबी गरेको छ । यसपालिदेखि १३ वर्षपछि हुने चुनावसम्मका लागि नेपालले उम्मेदवारी घोषणा गरेको छ । यो वर्ष मात्रै नेपालले दुईवटा निकायमा उम्मेदवारी दिएको छ । जसमध्ये एउटा कमिटीका लागि राष्ट्रसंघमा चार महिनापछि मतदान हुनेछ ।
यो वर्ष नेपालले संयुक्त राष्ट्रसंघीय महासभाको उपाध्यक्षका लागि उम्मेदवारी दिएको छ । आगामी जुनमा निर्वाचन हुनेछ । महासभामा २१ मुलुक उपाध्यक्षमा चुनिन्छन् । नेपालले एसिया प्रशान्त समूहबाट उम्मेदवारी दिएको छ । नेपाल महासभाको ७१औँ सत्रका लागि सर्वसम्मतिबाट सन् २०१६ मा उपाध्यक्ष निर्वाचित भएको थियो ।
यसैगरी, इन्डिपेन्डेन्ट अडिट एड्भाइजरी कमिटीको सदस्यमा नेपालले उम्मेदवारी दिएको छ । आगामी कात्तिकमा यसको निर्वाचन हुनेछ । यो निकायमा सन् २०२३ देखि २०२५ सम्म सदस्यका लागि नेपालले इच्छा जनाएको छ । सदस्य मुलुकहरूले मनोनीत गर्ने र महासभाले नियुक्त गर्ने चलन छ । दश योग्य उम्मेदवार मुलुकहरूको सूचीबाट छनोटमा पर्ने चलन छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले सदस्य मुलुकहरू विशेषतः एसिया प्रशान्त क्षेत्रमा नेपालले भोटका लागि लबिइङ गरिरहेको बताइन् । ‘न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग, जेनेभास्थित स्थायी नियोग तथा दिल्लीस्थित नेपाली दूतावासले यसका लागि सघन काम गरिरहेका छन्,’ प्रवक्ता लम्सालले भनिन् । परराष्ट्र मन्त्रालयका अनुसार २०२४ देखि २०२६ सम्मका लागि संयुक्त राष्ट्रसंघीय इकोनोमिक एन्ड सोसल काउन्सिलमा सदस्यका लागि नेपालले चुनाव लड्दै छ ।
२०२३ जुनमा यसको चुनाव हुँदै छ । संयुक्त राष्ट्रसंघीय महासभाअन्तर्गतको फस्ट कमिटीको अध्यक्ष पदका लागि चार वर्षपछि २०२६ जुनमा निर्वाचन हुँदै छ । अध्यक्ष पदमा नेपालले उम्मेदवारी घोषणा गरेको छ । नि:शस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी काम गर्ने यो कमिटी महत्वपूर्ण मानिन्छ । सन् २०३७–३८ का लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि नेपालले उम्मेदवारी दिने निर्णय गरिसकेको छ । यसका लागि १४ वर्षपछि २०३६ मा चुनाव हुन्छ ।