मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २८ सोमबार
  • Tuesday, 17 December, 2024
२o७८ चैत २८ सोमबार o९:२२:oo
Read Time : > 5 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

बहुकर्जाको समस्या समाधान नगरे लघुवित्त टाट पल्टन्छन् : शंकरमान श्रेष्ठ

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २८ सोमबार o९:२२:oo

शंकरमान श्रेष्ठ नेपालमा लघुवित्त कार्यक्रम सुरु गर्ने अग्रणीमध्येका हुन् । ग्रामीण क्षेत्रका जनतालाई वित्तीय सेवा उपलब्ध गराउने काममा उनको पाँच दशकभन्दा लामो अनुभव छ । स्वावलम्बन विकास केन्द्रका संस्थापक कार्यकारी निर्देशक श्रेष्ठ हाल सोही संस्थाका अध्यक्ष छन् । उनले ग्रामीण लघुवित्त विकास केन्द्रको प्रमुख कार्यकारी अधिकृतका रूपमा १५ वर्ष काम गरेका छन् । श्रेष्ठसँग मुलुकको लघुवित्त क्षेत्रको योगदान र समस्याबारे नयाँ पत्रिकाले गरेको कुराकानीको सार :

नेपालमा लघुवित्त कार्यक्रम सुरु गर्ने अग्रणीको नाताले हालसम्मको अवस्था हेर्दा यसलाई कत्तिको सफल पाउनुहुन्छ ? 
लघुवित्तको एउटा उद्देश्य भनेको खासगरी गरिब जनताको जीवनस्तर, चेतनास्तर र क्षमता बढाउने नै हो । लघुवित्तका मुख्य केन्द्रबिन्दु भनेका वित्तीय पहुँच नपुगेका गरिब जनता हुन् । उनीहरू अर्थात् विपन्नको जीवनस्तरमा परिवर्तन ल्याउनु हो । अहिले हामीले यही उद्देश्यपूर्तिका लागि पनि लघुवित्त सदस्य सम्मेलन आयोजना गरिरहेका छौँ । 

लघुवित्तका सदस्यहरू निरक्षर छन्, लघुवित्त कार्यक्रमले उनीहरूलाई आफ्नो नाम लेख्न सक्ने हुनैपर्ने गराउँछ । हरेक दिन एक–एक घण्टा तालिम दिँदा सात दिनमा आफ्नो नाम लेख्न सकिन्छ भन्ने कुरा सिकाउँछ । यही कार्यक्रमको प्रभावका कारण लघुवित्तमा संलग्न ९५ प्रतिशतका छोराछोरी विद्यालय गएका छन् । 
लघुवित्तमा संलग्न महिलाहरू पनि घरभित्रै हुन्छन्, अझ तराईमा त बाहिरसमेत आउँदैनन् । तिनीहरू लघुवित्तले गर्दा बाहिर आउने भए । हरेक सप्ताहमा एकपटक सबै बसेर मिटिङ गर्ने भए । अर्को उत्साह भयो । हरेक बैठकमा उनीहरूले स्वावलम्बन गान गाउँछन् । सत्य बोल्छौँ, झुटो बोल्दैनौँ, लिएको कर्जा समयमै तिर्छौँ  भन्ने गीत हुन्छ । वाणिज्य बैंकहरूको नजरमा गरिबले ऋण  लिन र तिर्न सक्दैनन् । त्यसैले वाणिज्य बैंकहरूले उनीहरूलाई विनाधितो ऋण दिँदैनन् । हामीले लघुवित्तबाट विनाधितो ऋण दिँदा कुनै लोन डिफल्ट भएन, शतप्रतिशत फिर्ता भयो । महिला तथा विपन्न सदस्यहरू पनि बैंकिङ कारोबार गर्न सक्छन् भन्ने कुरा यसले सिद्ध गर्छ । 

सदस्यहरूलाई ऋणको आकारचाहिँ बिस्तारै बढाउँदै जानुपर्छ । क्षमता बढेपछि व्यावसायको आकार बढ्छ, अझ ठूला आकारका ऋणहरू चलाउँछन् र गरिबीको रेखाबाट माथि आउँछन् । हाम्रोमा चाहिँ त्यस्तो ऋण १५ लाखभन्दा बढी दिनुहुँदैन भनेर राष्ट्र बैंकले सीमा तोकिदिएको छ । तर, बंगलादेशमा त्यस्तो सीमा छैन । बंगलादेशमा एकजना व्यक्तिले पाँच हजार ऋण लिएर रिक्सा किने, अर्को ५–६ वर्षपछि टेम्पो चलाए, पछि उनका छोरा पढेलेखेको भए, बचत पनि बढाउँदै लगे र पछि ५० लाख लोन लिएर माइक्रोबस किनेको मैले नै देखेँ । यसरी उनीहरूको क्षमता बढ्दै जान्छ, वास्तवमा यही नै लघुवित्तको सिद्धान्त हो ।

लघुवित्तबाट लिने ऋण पनि अपचलन हुने गरेको छ । लघुवित्तबाट ऋण लिएर ‘मिटर ब्याजी’ बन्ने पनि आए । यस्तो विकृति निम्तिँदा पनि नियमनकारी निकायले राम्रो नियमन गर्न सकेन । भारतमा एक व्यक्तिले दुईवटा संस्थाबाट भन्दा बढी ऋण लियो भने लाइसेन्स जफत गर्ने चलन छ । तर, हामीकहाँ २४ वटा संस्थासँग ऋण लिएको मैले भेटेको छु । 

लघुवित्तको अर्को सिद्धान्त भनेको सदस्यहरूलाई घरमै गएर, दैलोमै पुगेर वित्तीय सेवा दिने हो । कुनै पनि किसिमको झन्झटरहित सेवा दिनुपर्छ, अनि सानो–सानो किस्तामा ऋण तिर्ने व्यवस्था गरिदिनुपर्छ । हप्ता–हप्ता गरेर ५२ किस्तामा ऋण तिर्दा सदस्यहरूलाई पनि तिरेजस्तो नै हुँदैन । 

लाहानको एउटा घरमा लघुवित्तबाट ऋण लिएर एकजना बुहारीले एक ठाउँमा फलफूलको घुम्ती पसल चलाउनुभयो, अर्की बुहारीले अर्कै ठाउँमा घुम्ती पसल चलाउनुभयो, अर्को ठाउँमा आमाले चलाउने, अनि बाउछोराले भने वीरगन्जबाट फलफूल ल्याउँथे । वास्तवमा गरिबले पनि पैसा चलाउन सक्छन् ? उनीहरूको बुद्धि छ ? भनेर प्रश्न गर्ने पनि छन् । त्यसको जवाफ यही उदाहरणले दिन्छ । वास्तवमा उनीहरूको बुद्धि हाम्रोभन्दा बढी छ । यसरी लघुवित्तले अरू कोही नपुग्ने ठाउँमा पुगेर कर्जा दिएका छन् । अहिले ७७ जिल्लामै लघुवित्त पुगेका छन्, लघुवित्तमा विपन्नको पहुँच बढाएका छन्, सदस्यहरूको जीवनस्तरमा परिवर्तन ल्याइरहेका छन्, गरिबीको संख्या घटाइरहेका छन् ।

अहिले ब्याजदर वृद्धिदरको सबैभन्दा ठूलो समस्या देखिँदा त्यसको असर लघुवित्तमा कस्तो पर्छ ?
माइक्रो फाइनान्सको क्षेत्रमा बैंक ब्याजदरको प्रभाव नपर्ने कुरै हुँदैन । अहिले मुख्य समस्या भनेको राष्ट्र बैंकले आवश्यकताभन्दा बढीलाई लाइसेन्स दियो । पहिलाचाहिँ ४५ वटा एनजिओहरूले लाइसेन्स पाएका थिए । त्यही ४५ वटालाई अपग्रेड गरेर लाइसेन्स दिएको भए राम्रो हुने थियो । जब यिनीहरूले लाइसेन्स खुलाए, राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी  सबै माइक्रो फाइनान्स कम्पनी खोल्नतर्फ लागे । च्याउ उम्रिएजसरी माइक्रो फाइनान्स खुले । एक सय २० जनाले निवेदन दिए, ९० वटालाई लाइसेन्स दियो । त्यहाँबाट धेरै विकृति बढेपछि अबचाहिँ लाइसेन्स बन्द गरिएको छ । 

अहिले राष्ट्र बैंकले माइक्रो फाइनान्स धेरै भयो, अब मर्ज गर भन्छ । यो भनेको असाध्य कठिन काम हो । दुईथरी–तीनथरी मान्छेहरूको सोचलाई मर्ज गरेर एकै ठाउँमा ल्याउन गाह्रै हुन्छ । अहिले मर्ज भएका लघुवित्तहरूको अवस्थालाई हेर्दा पनि थाहा हुन्छ, कतिपय त फुट्ने अवस्थामा पुगेका छन् । तँ ठूलो कि म ठूलो भन्ने भावनाको विकास भएको छ । 

अहिले राष्ट्र बैंकले माइक्रो फाइनान्स धेरै भयो, अब मर्ज गर भन्छ । यो भनेको असाध्य कठिन काम हो । दुईथरी–तीनथरी मान्छेहरूको सोचलाई मर्ज गरेर एकै ठाउँमा ल्याउन गाह्रै हुन्छ ।

अहिले धेरै लघुवित्त भएकै कारणले विकृति बढेको हो । हामीले माइक्रो फाइनान्स सुरु गर्दा बैंकले कर्जा नै दिँदैनथे, हात जोड्नुपथ्र्यो, त्यसवेला व्यक्तिगत जमानीमा ऋण लिएर काम गर्‍यौँ । वास्तवमा त्यसवेला हामी आफ्नै बलबुतामा चलेका थियौँ । त्यसवेला लघुवित्तलाई पत्याउँदैनथे । हामीले हात जोड्दासमेत माइक्रो फाइनान्समा आएनन् । पछि राष्ट्र बैंकले ‘घ’ वर्गको संस्थालाई अनुमति दियो । अनिचाहिँ यो कमाउने भाँडो रहेछ भन्ने बुझेर आए, अनि विकृत्ति पनि फैलाए । त्यसपछि ऋण पनि बढी–बढी दिन थाले,  एउटैले ऋणीलाई आठ–नौवटा संस्थाले ऋण लिने परम्परा बस्यो । ऋण पनि अपचलन भयो । लघुवित्तबाट ऋण लिएर ‘मिटर ब्याजी’ बन्ने पनि आए । यस्तो विकृति निम्तिँदा पनि नियमनकारी निकायले राम्रो नियमन गर्न सकेन । भारतमा एक व्यक्तिले दुईवटा संस्थाबाट भन्दा बढी ऋण लियो भने लाइसेन्स जफत गर्ने चलन छ । तर, हामीकहाँ २४ वटा संस्थासँग ऋण लिएको मैले भेटेको छु । त्यो ऋण लिएपछि दुरुपयोग हुन्छ । त्यसले कर्जा तिर्न सक्दैन ।

मैले लघुवित्त सात वर्ष चलाउँदा पनि ऋण नतिर्ने शून्य  (जिरो डिफल्ट) थिए । अलि पछि आएर १ प्रतिशत डिफल्ट हुन थाल्यो । अहिले आएर १७ प्रतिशतसम्म डिफल्ट भएको देखिन्छ । संसारमा यति धेरै डिफल्ट कहीँ पनि छैन । नेपालमा अहिले त्यस्तो स्थिति आयो । एउटा नियमनकारी निकायबाट राम्रो सुपरिवेक्षण गर्न सकिएन र यिनीहरू छाडातन्त्रमा गए । नाफा कमाउन आवश्यकता र क्षमताभन्दा बढी कर्जा दिँदा ऋण धेरै दुरुपयोग हुन पुग्यो । त्यसैले राष्ट्र बैंकजस्तो नियमनकारी निकायले भारतमा जस्तो नियमन लागू गर्नुपर्छ । सही ढंगले चल्न सकेनन् भने लघुवित्त भोलिका दिनमा संकटमा पर्न सक्छन् । अहिले एउटाबाट ऋण लिएर अर्कोमा तिर्ने गरिएकाले संकट छोपिएको छ । जब फन्डको समस्या आउन थाल्छ अनि समस्या देखिन्छ । अलि–अलि समस्या त देखिन थालिसकेको छ ।  अहिले हामीले सम्मेलनबाट यिनै कुराको सचेत गराउन खोजेको हो । 

तपाईंहरूले पहिलेदेखि नै लघुवित्त चलाउँदै आउनुभएको थियो, अहिले बैंकहरूले पनि सहायक कम्पनीका रूपमा लघुवित्त चलाउँदै आएका छन्, यसलाई कसरी हेर्नुहुन्छ ?
यो आवश्यकता नै थिएन । किनभने, ४५ वटा लघुवित्त भए भने यो देशको कुनाकुना धान्न पुग्छ । लघुवित्त संस्थाहरूले नाफा गरेको देखेर अरू– अरू थपिए, बैंकले चलाउन थाले । अनि पछि आएका कतिपय संस्थाहरूले चाहिँ लघुवित्तको  सिद्धान्तमा सम्झौता गरेर नाफा आर्जन गरिरहेका छन् । लघुवित्तहरूको हरेक हप्ता बैठक बस्नुपर्नेमा केहीले मासिक रूपमा राख्न थालेका छन् ।

पछिल्लो समय राष्ट्र बैंकले ‘क्रस होल्डिङ’ भएको लघुवित्तलाई मर्जर गर्ने भनेको छ । त्यसमा तपाईंको भनाइ के छ ? 
एउटै उपभोक्ताले २४ ठाउँमा कर्जा लिँदा रोक्नु छैन । एउटै संस्थाको धेरैवटा लघुवित्तमा लगानी गरेको छ भने त्यो एकै ठाउँमा ल्याऊ भन्नु बेकारको कुरा हो । त्यो व्यावहारिक कुरा पनि होइन । त्यो आवश्यक कुरा पनि होइन । चार ठाउँमा गरिएको लगानी एकै ठाउँमा ल्याउँदा लघुवित्त कम्पनी सप्रने होइन । ऋण दिने एउटै संस्थाले हजारौँलाई कर्जा दिन सक्छ भने दुई वा तीनवटामा लगानी गर्दा के बिग्रियो ? 

खासगरी मल्टिपल फाइनान्सिङको समस्या तत्कालै समाधान गर्नुपर्ने होइन र ? 
यसलाई तत्कालै समाधान गर्नुपर्छ । होइन भने लघुवित्तहरू टाट पल्टिन्छन् । कर्जा लिने मानिस अप्ठ्यारोमा पर्नुमा धेरैवटा संस्थाबाट ऋण लिने र त्यो मोजमस्तीमा लाग्नाले पनि हो । जे कामका लागि भनेर लिएको हो, त्यही काममा लगानी गर्ने हो भने धेरै राम्रो हुने थियो । अहिले कमाउधन्दा गर्नेको प्रवेश भएर पनि लघुवित्तमा समस्या आयो । कतिपय अवस्थामा कर्जा लिएकाहरूले आत्महत्या गरेको अवस्थासमेत देखिएको छ । पहिले हामी सक्कली गरिब खोजी–खोजी ऋण दिन्थ्यौँ । गरिबले कहिल्यै पनि बेइमानी गर्दैन । तर, अहिले गरिबका नाममा धेरै धनीहरूले र हुनेखानेले नै ऋण लिन थाले ।

त्यस्तै, पहिले ऋण प्रवाह गर्नका लागि ६ महिना तालिम दिने गरिन्थ्यो । अनि मात्र उसले ऋण दिन पाउँथ्यो । अहिले जागिर खाएको भोलिपल्टदेखि ऋण दिन पाउने र तीन लाखसम्म ऋण दिन पाउने व्यवस्था छ । त्यसवेला भने तीन हजार दिन पाइन्थ्यो । त्यो गरिबले साँचिकै कामका लागि ऋण लिन्थ्यो । अहिले गरिबलाई पनि बिगारेको छ । पुराना लघुवित्तले धेरै  खराब गर्दैनन्, तर पछिल्लो समयमा उदाएका र कमाउधन्दामा आएकाले सेयर मूल्य बढाएर कमाउने गरेका छन् ।