मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २७ आइतबार
  • Thursday, 19 December, 2024
कृष्णकुमार चौधरी, अध्यक्ष जसपा सुदूरपश्चिम प्रदेश
२o७८ चैत २७ आइतबार o८:२o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिममा गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २७ आइतबार o८:२o:oo

गठबन्धन कायम राख्न आफूलाई पनि सरकारमा सहभागी गराउनुपर्ने माग

प्रदेश सरकारमा सहभागिता नगराइएको भन्दै जसपाले सुदूरपश्चिममा सत्तागठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । जसपाको सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सरकार पुनर्गठनका क्रममा आफूलाई अपमानजनक व्यवहार गरेकाले यथास्थितिमा गठबन्धनमा रहन नसक्ने जनाएको हो । 

कृष्णकुमार चौधरी, अध्यक्ष जसपा सुदूरपश्चिम प्रदेश 
पाँचदलीय गठबन्धन प्रदेशमा पनि विस्तार गर्ने केन्द्रमा सहमति छ । यहाँ हाम्रो पनि सांसद छन् । तर, हामीलाई न सरकारमा सहभागी गराइयो, न सरकार पुनर्गठन गर्दा हामीसँग सल्लाह गरियो ।

जसपा प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीले केन्द्रमा पाँचदलीय सहमतिविपरीत सुदूरपश्चिममा जसपालाई अलग राख्न खोजिएकाले गठबन्धनमा बस्नुको औचित्य नदेखिएको बताए । ‘पाँचदलीय गठबन्धन प्रदेशमा पनि विस्तार गर्ने केन्द्रमा सहमति छ । यहाँ हाम्रो पनि सांसद छन् । तर, हामीलाई न सरकारमा सहभागी गराइयो, न सरकार पुनर्गठन गर्दा हामीसँग सल्लाह गरियो,’ अध्यक्ष चौधरीले भने, ‘अपमानजनक व्यवहार गरिएको महसुस भएको छ । यही अवस्थामा हामी गठबन्धनमा रहन सक्दैनौँ ।’

केन्द्रमा भएको सहमतिअनुसार दलहरू अगाडि नबढे आगामी ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचन एक्लै लड्ने उनले बताए । सरकार पुनर्गठनका क्रममा माओवादी केन्द्र, एकीकृत समाजवादी र कांग्रेसले आफ्नो पार्टीलाई कुनै जानकारीसमेत नदिएर बेवास्ता गरेको उनको भनाइ छ । जसपाले गठबन्धन कायम राख्न आफूलाई पनि सरकारमा सहभागी गराउनुपर्ने माग गरेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले दुई मन्त्री र एक राज्यमन्त्री दिएर शुक्रबार कांग्रेसलाई प्रदेश सरकारमा भिœयाएका थिए । कांग्रेस संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्दराज बोहरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका हुन् । ती मन्त्रालय यसअघि समाजवादीले नेतृत्व गरेको थियो ।

केन्द्रमा भएको सहमतिअनुसार कांग्रेसलाई सरकारमा भिœयाउन समाजवादीका मन्त्रीले राजीनामा दिएका थिए । समाजवादीले आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाएर उक्त मन्त्रालयमा प्रकाश रावललाई पठाएको थियो । भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीलाई फिर्ता बोलाएर उनको ठाउँमा कुलवीर चौधरी र आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहरालाई फिर्ता बोलाएर उनको ठाउँमा अमरबहादुर साउदलाई पठाएको थियो ।

सुदूरपश्चिममा गठबन्धनलाई मजबुत बनाउन कांग्रेसलाई सहभागी गराइएको हो । तर, सरकार पुनर्गठनमा आफूलाई जानकारीसमेत नगराइएको भन्दै जसपा रुष्ट बनेको हो । प्रदेश सभामा जसपाका एकजना सांसद छन् ।