मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Thursday, 19 December, 2024
जोसेफ स्टिग्लिज
२o७८ चैत २४ बिहीबार o७:५९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भूमण्डलीकरण र यसका नियममा पुनर्विचार गराैँ

Read Time : > 2 मिनेट
जोसेफ स्टिग्लिज
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार o७:५९:oo

युक्रेनमा रुसको आक्रमणले हामीलाई विश्व अर्थतन्त्रले निरन्तर सामना गरिरहेको अप्रत्यासित अवरोधको सम्झना गराइदिएको छ । कसैले पनि ११ सेप्टेम्बर २००१ र अन्य आतंकवादी हमला अनुमान गरेका थिएनन् । थोरैले मात्र सन् २००८ को वित्तीय संकट, कोभिड–१९ महामारी, वा डोनाल्ड ट्रम्पको उदयको आकलन गरेका थिए । यी घटनाक्रमले अमेरिकालाई संरक्षणवाद र राष्ट्रवादतर्फ डोर्‍याएको छ ।

उल्लिखित घटनाक्रमले बृहत् आर्थिक परिणाम निम्त्याएको छ । महामारीले हाम्रो बलियो भनिएको अर्थतन्त्रमा लचिलोपनको अभाव देखाएको छ । परीक्षण र भेन्टिलेटरजस्ता परिष्कृत वस्तु त परको विषय भयो, अमेरिकाजस्तो महाशक्तिले मास्क र अन्य सुरक्षात्मक पोसाकजस्ता साधारण वस्तुसमेत उत्पादन गर्न सकेन । संकटले आर्थिक नाजुकपनको हाम्रो बुझाइ थप बलियो बनाइदियो । अर्थात् हाल सन् २००८ को वित्तीय संकटको पाठ पुनरावृत्ति भएको छ । 

त्यसैगरी युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धले पहिल्यैदेखि चिन्ताजनक रहेको खाद्यान्न र ऊर्जाको मूल्यमा थप वृद्धि ल्याएको छ, जसले धेरै विकासोन्मुख मुलुक र उदीयमान बजार विशेषतः महामारीको समयमा ऋणको भार बोक्न पुगेका मुलुक र अर्थतन्त्रका लागि सम्भावित गम्भीर असर निम्त्याएको छ । रुसी ग्यासमा निर्भरताका कारण युरोप पनि अत्यन्त कमजोर भएको छ । जर्मनीजस्तो ठूलो अर्थतन्त्रले समेत छिटै र सस्तोमै रुसबाट आफूलाई अलग्याउन सक्दैन । धेरैले चासो गरेझैँ यस्तो निर्भरताले रुसका कठोर कदमविरुद्ध गरिने प्रतिक्रियालाई कमजोर तुल्याइदिएको छ ।

ग्यास निर्भरताले विकास गरेको घटनाक्रम पहिल्यै अनुमानित थियो । १५ वर्षपहिले ‘मेकिङ ग्लोबलाइजेसन वर्क’मा मैले ‘के प्रत्येक मुलुक अत्यधिक प्रभावकारी वैश्विक अर्थतन्त्रका लागि सुरक्षा जोखिमको मूल्य स्वीकार गर्छन् ? के युरोपले रुस सबैभन्दा सस्तो ग्यास प्रदायक हो भने हामीले रुसबाट ग्यास खरिद गर्नुपर्छ, चाहे यसले सुरक्षामा जेसुकै प्रभाव पारोस् भनेकै हो ?’ भनेर प्रश्न गरेको थिएँ । दुर्भाग्य, युरोपको जवाफ छोटो अवधिको नाफाका लागि स्पष्ट खतरालाई बेवास्ता गर्नु थियो ।

हालको लचिलोपनको कमी नवउदारवाद र यसमा निहित नीतिको आधारभूत असफलता हो । बजार आफैँमा अदूरदर्शी छ र अर्थतन्त्रको वित्तीयकरणले अदूरदर्शीपनलाई थप बढाएको छ । बजारले ठूला एवं दीर्घकालका जोखिमको पूर्ण रूपमा हिसाब गर्दैन, चाहे जोखिमका परिणाम जतिसुकै ठूला नै किन नहून् । यसबाहेक उल्लिखित सबै संकटमा झैँ जोखिम प्रणालीगत हुन्छ भन्ने बजार सहभागीलाई थाहा भए नीति–निर्माता चुपचाप उभिएर तमासे बन्दैनन् । र, यिनै कारणले बजार यस्ता जोखिमका लागि पूर्ण रूपमा जिम्मेवार हुँदैनन्, नतिजा लचिलोपनमा थोरै लगानी हुन्छ र समाजलाई चाहिने लागत बढ्न पुग्छ । सामान्यतया प्रस्तावित समाधान भनेको ‘मूल्य’ जोखिम हो, जहाँ व्यापारिक संस्थालाई उनीहरूको कामको थप परिणाम भोग्न बाध्य बनाइन्छ । यही तर्कका अनुसार हरितगृह ग्यास उत्सर्जनजस्ता नकारात्मक बाह्यताको मूल्य निर्धारण गराउँछ भन्ने देखाउँछ । अर्थात्, कार्बनमा मूल्य वा हर्जाना तोकिँदैन भने प्रदूषण एवं जीवाश्म–इन्धन खपत बढ्नेछ र हरित लगानी एवं नवप्रवर्तनमा थोरै लगानी हुनेछ ।

अहिलेको चुनौती उपयुक्त विश्वव्यापी मापदण्डको स्थापना गर्नु हो, संरक्षणवादलाई निर्भरता र सुरक्षा सरोकारका वैध प्रतिक्रियाबाट छुट्याउनु र घरेलु नीतिको विकास गर्नु हो

तर, जोखिमको मूल्य निर्धारण कार्बनको मूल्य निर्धारणभन्दा धेरै गाह्रो छ । र, औद्योगिक नीति र नियमजस्ता अन्य विकल्पले अर्थतन्त्रलाई सही दिशामा लैजान सक्छ भने नवउदारवादी ‘खेलका नियम’ले लचिलोपन बढाउन गरिने हस्तक्षेपलाई थप जटिल बनाएको छ । नवउदारवाद पूर्णतया प्रभावशाली बजारको सन्दर्भमा दीर्घकालीन नाफा बढाउन खोज्ने तर्कसंगत व्यापारिक संस्थाका काल्पनिक दृष्टिकोणमा आधारित छ ।

नवउदारवादी भूमण्डलीकरण व्यवस्थामा व्यापारिक संस्थाले सस्तो स्रोतबाट खरिद गर्नुपर्ने हुन्छ र युरोपका व्यक्तिगत व्यापारिक संस्थाले रुसी ग्यासमा निर्भर हुने जोखिमको उचित लेखाजोखा गर्न असफल भएमा सरकारले हस्तक्षेप गर्दैन । यो सत्य हो कि विश्व व्यापार संगठन (डब्ल्युटिओ) का प्रावधानमा राष्ट्रिय–सुरक्षा छुट समावेश छ । र, यो प्रावधानलाई युरोपेली अधिकारीले रुसी ग्यासमा आफ्नो निर्भरता सीमित गर्न हस्तक्षेपलाई सही ठहर्‍याउन लागू गर्न सक्छ । तर, वर्षौंदेखि जर्मन सरकार आर्थिक अन्तरनिर्भरताको सक्रिय प्रवद्र्धकजस्तो देखिन्थ्यो । व्यापारबाट रुसलाई नियमन गर्ने आशा हालको जर्मनीको स्थितिको सहज व्याख्या हो । तर, जर्मनीमा लामो समयदेखि भ्रष्टाचार विद्यमान छ, पूर्वचान्सलर गेरहार्ड स्रोडरले यसको पुष्टि गरेका छन् । रुससँग जर्मनीको गम्भीर किचलो हुँदा स्रोडर चान्सलर थिए र पछि रुसी राज्य–स्वामित्वको ग्यास विशाल ग्याजप्रोमका लागि काम गर्न गए ।

अब चुनौती भनेको उपयुक्त विश्वव्यापी मापदण्ड स्थापना गर्नु हो, जहाँ संरक्षणवादलाई निर्भरता र सुरक्षा सरोकारका वैध प्रतिक्रियाबाट छुट्याउनु र घरेलु नीतिको विकास गर्नु हो । क्यानडाको अटोमोबाइल र स्टिलमा लगाइएको कर सही ठहर्‍याउन ट्रम्पद्वारा ‘राष्ट्रिय सुरक्षा’ चिन्ताका उपयोगको खराब–विश्वासजस्ता कदमलाई रोक्नका लागि बहुपक्षीय विचार–विमर्श र सावधानीपूर्वक नीति–निर्माणको आवश्यकता हुनेछ । 

तर, मुद्दा नवउदारवादी व्यापार ढाँचामा परिवर्तन गर्नु मात्र होइन । महामारीको समयमा हजारौँको अनावश्यक मृत्यु भयो, किनभने डब्ल्युटिओका बौद्धिक सम्पत्ति नियमले विश्वका धेरै भागमा खोपको उत्पादनमा रुकावट आएको थियो । हाम्रो अर्थव्यवस्थाको सुरक्षाको तुलनामा बौद्धिक सम्पत्तिको सुरक्षामा धेरै ध्यान केन्द्रित गरिएको तथ्य स्पष्ट छ । हामीले भूमण्डलीकरण र यसका नियममा पुनर्विचार गर्न थाल्नुपर्छ । हामीले वर्तमान पुरातनपन्थका कारण ठूलो मूल्य चुकाएका छौँ । यो शताब्दीमा ठूला आर्थिक धक्कामै केही गर्ने आशा निहित छ । 
प्रोजेक्ट सिन्डिकेटबाट (अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता स्टिग्लिज कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुन्)