ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलस्राेतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यकता भएको बताएकी छिन् । बुधबार ललितपुरमा आयोजित ‘पानी, ऊर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरूको प्राप्ति’ विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।
जलस्राेतको व्यवस्थापन गर्नु नै आजको आवश्यकता भएको उनको धारणा छ । ‘जलस्राेतको उचित व्यवस्थापन गर्नु हाम्रो आवश्यकता हो,’ मन्त्री भुसालले भनिन्, ‘जलस्राेतको सही उपयोग गरेर हाम्रो आर्थिक तथा सामाजिक विकासलाई उठाउनु हाम्रो तत्कालको आवश्यकता हो ।’
मन्त्री भुसालले जलवायु परिवर्तनका कारण नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधतालगायतका विभिन्न क्षेत्रमा समस्या परिरहेको बताइन् । उनले जलवायु परिवर्तनको असरले हिमनदी, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टिजस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारिरहेको पनि बताइन् । नेपालमा जलविद्युतको प्रचुर सम्भावना भए पनि सकेजति विद्युत् उत्पादन गर्न नसकिएको उनको भनाइ छ । मन्त्री भुसालले प्रविधिलाई कृषि, बजारीकरण, सीप र संस्थागत पक्षहरूसँग एकीकृत गर्न जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक खाका तयार पार्नुपर्ने आवश्यकता रहेको बताइन् ।
भूमिगत जलस्राेतलाई दिगो रूपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान गर्ने विश्वाससमेत व्यक्त गरिन् ।