अर्थमन्त्री जनार्दन शर्माले महिलाहरूले नेतृत्व गरेको ठाउँमा पारदर्शिता र सुशासन भेटिने गरेको बताएका छन् । बजेटमा महिलाहरूको सुझाव संकलन गर्ने उद्देश्यले अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री शर्माले महिलाहरूलाई आत्मनिर्भर बनाउन बजेटले सम्बोधन गर्ने प्रयास गरेको बताए ।
‘आत्मसम्मानसहितको आर्थिक निर्भरता प्रमुख कुरो हो । यसका लागि शिक्षा र स्वास्थ्य अनिवार्य सर्त हो,’ उनले भने, ‘महिलाहरूलाई शिक्षा, स्वास्थ्यको पहुँच वृद्धि गर्यो भने समाजलाई शिक्षित बनाउने अभियान छिटै हासिल हुने मेलै देखेको छु ।’
त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाका क्षेत्रमा कम बजेट विनियोजन भएको गुनासो गरिन् । उनले प्रत्येक प्रदेशमा प्रसूति अस्पताल, कैलालीका महिलाले न्याय पाउन सिंहदरबार धाउनुपर्ने व्यवस्थाको अन्त्य, महिला उद्यमशीलताको विकास, ग्रामीण क्षेत्र र सहरी क्षेत्रका महिलालाई अलग–अलग नीति हुनुपर्नेलगायतका सुझाव दिइन् । छलफलमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने दुई दर्जन महिला नेतृ, अभियन्ता, सञ्चारकर्मी, उद्यमीलगायतको उपस्थिति थियो ।