प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आचारसंहिता पालना प्रतिबद्धतामा हस्ताक्षर गरेको छैन। निर्वाचन आयोगले दर्ता भएका ७९ वटा राजनीतिक दललाई प्रतिबद्धतापत्रमा हस्ताक्षरका लागि मंगलबार बोलाएको भए पनि एमालेका नेताहरू हस्ताक्षर नगरी आयोगबाट बाहिरिएका हुन्।
बैठकमा एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्य र कानुन विभाग प्रमुख रमेश बडाल सहभागी भएका थिए। बैठकमा साना दलका प्रतिनिधि र आयोगका पदाधिकारीबीच अनपेक्षित वातावरण बनेका कारण आफूहरू बाहिरिएको आचार्यले बताए। उनले नेकपा एमाले निर्वाचन आचारसंहिता पालन गर्न प्रतिबद्ध रहेको बताए।
‘निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्छ। सरकार, दल र स्वयं निर्वाचन आयोगले पनि आचारसंहिताको पूर्ण रूपमा पालन गर्नुपर्छ,’ उनले भने, ‘आज हामी पनि केही विषयहरू बैठकमा राख्न चाहन्थ्यौँ। साना दलका प्रतिनिधि र आयोगबीच जुन अनपेक्षित गतिविधि भयो, त्यसो नभएको भए हुन्थ्यो।’ आचारसंहितको प्रतिबद्धतामा हस्ताक्षर गर्न बाँकी रहेको र पछि त्यसमा हस्ताक्षर गर्ने आचार्यले बताए।
बैठकको प्रारम्भमा नै आचारसंहिता पालना गर्नका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेसँगै केही राजनीतिक दलहरूले छलफलविनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए। बैठकमा साना दलहरूले नाराबाजीसमेत गरेका थिए।
आचारसंहिताबारे छलफल नगरी हस्ताक्षर गर्न आयोगले दबाब दिएको नेपाली जनता दलका अध्यक्ष हरिचरण शाहले बताए। ‘ल्याप्चे मात्र लगाउने भए पत्र घरघरमा पठाएको भए हुन्थ्यो,’ उनले भने, ‘दलका अध्यक्षलाई बोल्न नदिने भए छलफलमा किन बोलाउने ?’
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले हेलिकोप्टर प्रयोगबारे प्रश्न उठाएका थिए। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विवाद नगर्न आग्रह गरे पनि साना दलका नेताहरूले आयोगले सिन्डिकेट लगाएको भन्दै विरोध गरेका थिए।