वीरगन्जमा पहिलोपटक पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ। चैत २५ शुक्रबारदेखि वीरगन्जको नगर सभागृहमा पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप– २०७८ हुने भएको हो।
सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले करिब ३० लाखको लगानीमा च्याम्पियनसिप गर्न लागेको कार्यक्रम संयोजक वीरेन्द्रबहादुर कुर्मी क्षेत्रीले जानकारी दिए। उनका अनुसार दुई दिनसम्म चल्ने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशका गरी १७ टिमका करिब तीन सय खेलाडी सहभागी हुनेछन्।
पर्सा जिल्ला तेक्वान्दो संघले ०५९ बाट नै स्वीकृति लिएर नियमित रूपमा तेक्वान्दो प्रतियोगिता गराउँदै आएको छ। संघका पदाधिकारी र सदस्यहरूको आर्थिक सहयोगमा पहिलोपटक यति ठूलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुन लागेको आयोजकले जनाएको छ। च्याम्पियनसिपमा प्रथम, द्वितीय र तृतीय हुने टिमले विभिन्न पुरस्कार पाउनेछन्।