सहरी इलाकामा रहेका अधिकांश प्रहरी कार्यालय व्यवस्थित छन्। सहरी क्षेत्रका प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई आवश्यक स्रोत–साधनको कमी पनि छैन। तर, जेनजेन ग्रामीण भेगका जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन खोलिएका प्रहरी चौकी भने दयनीय अवस्थामा छन्।
ललितपुरको आश्राङ, गिम्दी, गोटीखेल, कालेश्वर, कोन्ज्योसोम र ठूलादुर्लुङमा रहेका प्रहरी कार्यालयको १० जना प्रहरी अट्ने चौकीसमेत प्रहरीको अधिकारभित्र छैनन्। यी क्षेत्रमा ०७१/७२ सालमा चौकी स्थापना भएका थिए। तर, हालसम्म पनि ती चौकी तथा इलाका प्रहरी कार्यालयको बसोवास व्यवस्थित बन्न सकेको छैन।
स्थानीय व्यक्तिको जग्गा भाडामा लिएर निर्माण गरिएका टहराबाट प्रहरीले ग्रामीण क्षेत्रमा शान्तिसुरक्षा दिँदै आइरहेको छ। ग्रामीण क्षेत्रमा खोलिएका प्रहरी कार्यालय व्यवस्थित नरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए। उनले ती क्षेत्रमा शान्तिसुरक्षा दिन खटिएका प्रहरीको बसोवाससमेत दयनीय अवस्थामा रहेकाले त्यसलाई व्यवस्थित बनाइने बताए।
‘हामीले केही दिनअघि मात्रै ग्रामीण क्षेत्रका प्रहरी चौकीको अवलोकन गरेका छौँ,’ उनले भने, ‘विकट ठाउँमा प्रहरी दुःख पाएर पनि शान्तिसुरक्षामा खटिएको छ, त्यहाँका चौकी कार्यालयहरू थप व्यवस्थित बनाउन आवश्यक छ।’ उनले ग्रामीण भेगमा रहेको प्रहरीचौकीलाई निजी भवन निर्माण गरी व्यवस्थित गरिने जानकारी दिए।
दक्षिण ललितपुरमा प्रहरीको स्थायी वास नहुँदा प्रहरीले शान्तिसुरक्षाका लागि चाहिने सामग्रीसमेत सुरक्षित राख्न सकेको छैन। लठ्ठीको भरमा त्यहाँका प्रहरी शान्तिसुरक्षामा खटिने गरेका छन्। छरिएको बस्तीमा हुने आपराधिक गतिविधि रोक्न प्रहरीले मुख्य भूमिका निर्वाह गर्दै आए पनि प्रहरी भने कमजोर अवस्थामा बसोवास गरिरहेकोले सुरक्षामै चुनौती हुने देखिएको छ। सीमित स्रोत–साधनको भरमा ग्रामीण क्षेत्रमा खटिनुपरेको प्रहरीचौकी भट्टेडाँडाका इन्चार्ज राजु नेपालीले बताए।
उनका अनुसार ठूलादुर्लुङ क्षेत्रमा टेलिफोन र वाकीटकी सेटले समेत काम गर्दैन। प्रविधिको समेत सहज सुविधा नपुगेका कारण ग्रामीण भेगमा सुरक्षा प्रवाह गर्न कठिन भइरहेको उनले बताए। ‘सीमित स्रोत–साधनको भरमा ग्रामीण क्षेत्रमा सक्दो सुरक्षा दिएका छौँ,’ उनले भने।
दक्षिण ललितपुर क्षेत्रमा तीनवटा गाउँपालिका छन् । ती गाउँपालिकाभरको जनसंख्या ४२ हजार हाराहारी रहेको छ। तर, भौगोलिक रूपमा पनि ठूलो क्षेत्र र जनसंख्या रहेको ठाउँमा जम्मा ६५ जना प्रहरी मात्रै सुरक्षामा खटिएका छन्। हाल चारवटा चौकीमा ४० जना र दुईवटा इलाका प्रहरी कार्यालयमा २५ जना गरी ६५ जना प्रहरी रहेका छन्। तर, सुरक्षामा खटिने प्रहरी त्यसभन्दा पनि कम संख्यामा रहेका छन्। भूभाग र जनसंख्याको हिसाबले यो संख्या निकै कमी हो।
यी चौकी तथा इलाका प्रहरी कार्यालयहरू महानगरीय प्रहरी वृत्त चापागाउँमातहत रहेका छन्। ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरे यही वृत्तबाट ग्रामीण क्षेत्रमा प्रहरी खटाइन्छ। तर, विकट क्षेत्र भएकोले चापागाउँदेखि प्युटार, आश्राङ, कालेश्वर, गिम्दी र ठूलादुलुङ पुग्न करिब दुईदेखि पाँच घन्टासम्म लाग्छ। अझ वर्षातको वेला ग्रामीण सडक अवरुद्ध हुने भएकोले ओहोरदोहोरमा समस्या हुने गर्छ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गत बिहीबार ललितपुरका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली ग्रामीण क्षेत्रमा पुगेको थियो। प्रमुख जिल्ला अधिकारीसहितको उक्त टोलीले ग्रामीण क्षेत्रका चौकीको अवलोकन गरेको थियो। स्थानीयवासीको शान्तिसुरक्षा प्रहरीसँग जोडिएको प्रहरी चौकीलाई मजबुत बनाउन आवश्यक रहेको ललितपुरका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए।
उनले टहरो र भाडाको जग्गामा बसेका प्रहरी कार्यालयलाई जग्गा माग गरिने र व्यवस्थित कार्यालय भवन निर्माण गरिने बताए। ‘दुर्गम क्षेत्रको शान्तिसुरक्षा सोचेजस्तो सजिलो छैन, प्रहरी पनि निकै अभावले त्यहाँ बसेको छ,’ उनले भने, ‘त्यहाँका प्रहरी कार्यालयलाई व्यवस्थित बनाउने र दरबन्दी थप्ने विषयमा हामीले चासो दिएका छौँ।’
यस्तो छ मतदानस्थल संख्या र सुरक्षा प्रबन्ध
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा ग्रामीण क्षेत्रको सुरक्षा अवस्थामा पनि थप चुस्त पार्ने तयारी प्रहरी परिसर ललितपुरले गरेको छ। परिसरका अनुसार कोन्ज्योसोम गाउँपालिकामा सातवटा मतदानस्थल रहेका छन्। यो क्षेत्रको सुरक्षा जिम्मेवारी इलाका प्रहरी कार्यालय कोन्ज्योसोमलाई दिइएको छ।
करिब १३ हजार जनसंख्या रहेको महाँकाल गाउँपालिकामा १० वटा मतदानस्थल कायम गरिएको छ। उक्त मतदानस्थलहरूमध्ये वटावटा मतदानस्थल प्रहरी चौकी गिम्दी र अन्य आठवटा मतदानस्थलको जिम्मेवारी इलाका प्रहरी कार्यालय गोटीखेल र प्रहरी चौकी कालेश्वरलाई जिम्मा दिइएको छ। नाैवटा मतदानस्थल रहेको बागमती गाउँपालिकामा प्रहरीचौकी टीकाभैरव, भट्टेडाँडा, आश्राङ र गिम्दीले सुरक्षा दिनेछन्।
ग्रामीण भेगका लागि दुई सय म्यादी प्रहरी
महानगरीय प्रहरी परिसर ललितपुरले स्थानीय तहको निर्वाचनमा प्रहरी सँगसँगै म्यादी प्रहरीलाई पनि खटाइने जनाएको छ। ग्रामीण क्षेत्रमा रहेको एउटा मतदानस्थलमा तीनजना म्यादी प्रहरी र दुईजनाका दरले नेपाल प्रहरी खटाउने तयारी गरेको छ। दक्षिण ललितपुरका तीनवटा गाउँपालिकामा करिब दुई सय हाराहारी म्यादी प्रहरी खटाउने तयारी गरिएको छ।