१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १९ शनिबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १९ शनिबार o९:२९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नियमित विद्युत् दिन नसके लोडसेडिङ तालिका सार्वजनिक गर्न निजी क्षेत्रको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १९ शनिबार o९:२९:oo

औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न नसके लोडसेडिङ तालिका सार्वजनिक गर्न निजी क्षेत्रले नेपाल विद्युत् प्राधिकरणसँग माग गरेको छ । तीन व्यावसायिक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति अनियमित हुँदा उद्योगीहरूमा अन्योल बढेको भन्दै लोडसेडिङ तालिका सार्वजनिक गर्न संयुक्त प्रेस विज्ञप्तिमार्फत माग गरेका हुन् । 

विद्युत् आपूर्ति अनियमित हुँदा बुटवल–भैरहवा, बारा–पर्सा, सुनसरी–मोरङलगायतका औद्योगिक करिडोरका उद्योगहरू बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको निजी क्षेत्रको गुनासो छ । ‘विद्यमान समस्याको तत्काल समाधानका लागि नियमित रूपमा भारतीय बजारबाट विद्युत् खरिद गरी उद्योगहरूलाई निर्बाध उपलब्ध गराउन वा त्यो सम्भव नभए उद्योगहरूमा विद्युत् कटौती हुने तालिका सार्वजनिक गर्न प्राधिकरणसमक्ष अनुरोध गर्छौं,’ विज्ञप्तिमा भनिएको छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूसँग थप ऊर्जा उत्पादन गर्न सक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्न र आयातीत विद्युत्को गुणस्तरमा ध्यान दिन पनि निजी क्षेत्रले माग गरेको छ । 

नियमित विद्युत् आपूर्ति सुरु भएसँगै उत्साहित भएका उद्योगीहरू पछिल्लो समयको अनियमित विद्युत् आपूर्तिले चिन्तित हुन थालेका छन् । औद्योगिक क्षेत्रमा भइरहेको विद्युत्को अनियमित आपूर्तिले नेपालको औद्योगिकीकरणको यात्रामा गम्भीर धक्का दिएको तीन व्यावसायिक संगठनको ठहर छ ।

‘एकातर्फ प्राधिकरणले नै विद्युत् खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ विनासूचना घण्टौँ विद्युत् आपूर्ति अवरुद्ध गर्दा थप चिन्ता बढाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको पूर्ण स्वामित्वको सरकारी संस्थानले नाफा–घाटा नहेरी औद्योगिकीकरणको वातावरण निर्माणमा ध्यान दि“दा समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने हाम्रो बुझाइ छ ।’

नेपालको विशिष्टीकृत उत्पादन व्यवस्थापनमा यो अवस्था सिर्जना हुनु आफैँमा सोचनीय भएको बताइएको छ । विद्युत्मा देखिएको ट्रिपिङ, लो भोल्टेज, अपर्झट विद्युत् आपूर्ति बन्द हु“दा करोडौँ पर्ने मेसिनहरूमा क्षति पुुग्ने, उद्योग नचल्दा कर्मचारीको तलब–ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, बैंकको चर्को ब्याज र साँवा भुक्तानीमा समस्या परिरहेको पनि निजी क्षेत्रले ध्यानाकर्षण गराएको छ ।