१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १८ शुक्रबार
  • Tuesday, 18 June, 2024
२o७८ चैत १८ शुक्रबार १२:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

चौथो गुल्मी महोत्सव २५ चैतदेखि, पाकिस्तानको लेदरदेखि श्रीलंकाको अचारसम्म प्रदर्शनी हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १८ शुक्रबार १२:o७:oo

आगामी २५ चैतबाट सुरु हुने चौथो गुल्मी महोत्सवको रौनक सुरु भएको छ। गुल्मी उद्योग वाणिज्य संघले आयोजना गरेको चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला आगामी वैशाख ४ सम्म सञ्चालन हुने संघका अध्यक्ष ईश्वरी पौडेलले जानकारी दिए।

‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल नारासहित महोत्सवको आयोजना गरिएको छ। महोत्सवको व्यवस्थापनका लागि ३४ वटा उपसमिति गठन गरिएको छ। महोत्सवको मिति नजिकिएसँगै सबै समितिहरूले आ–आफ्नो कामलाई तीव्रता दिएका छन्।

महोत्सवमा आमनागरिकका लागि ६० र विद्यार्थीका लागि ४० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। वाणिज्य संघले महोत्सवबाट हुने मुनाफाको ४० प्रतिशत गुल्मीको पर्यटन क्षेत्रमा खर्च गर्ने पौडेलले बताएका छन्।

नेपालसहित पाँच देशका मुख्य उत्पादनको प्रदर्शनी
महोत्सवमा केन्द्रीय उद्योग वाणिज्य संघको समन्वयमा पाकिस्तानको लेदर प्रोडक्ट, माल्दिभ्सको जुस, श्रीलंकाको अचार र भारतका विभिन्न सहरका मुख्य उत्पादनहरू प्रदर्शनीमा राखिनेछ। चंगा सेल्फी स्पोर्ट र ७५ फुटको त्रिशूलसहित जिल्लाको घरेलु उत्पादन तथा पालिकास्तरीय कलासंस्कृतिको प्रदर्शनी हुने गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक ताराप्रसाद भुसालले जानकारी दिए।

महोत्सव दैनिक नौ हजार पर्यटकले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ। गत वर्ष कोरोनाका कारण महोत्सव स्थगित भएको थियो। वाणिज्य संघको टोलीले प्रयोजकहरूका लागि बुटवल, काठमाडौंलगायतका व्यापारी तथा व्यवसायीसँग भेटघाट तथा छलफल गरिसकेको छ। जिल्लाका पालिका, दल, संघसंस्था र सरोकारवालासँग अन्तर्क्रिया र भेटघाट गरिरहेको भुसालले बताए। उनले अहिले मुख्य बजार क्षेत्रमा ध्वजा, ब्यानर, माइकिङसहित सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत प्रचारप्रसार गरिएको बताए।

महोत्सवमा दुई सय स्टल
महोत्सवमा कृषि, व्यापारिक र होटेललगायतका गरी विभिन्न प्रकारका दुई सय स्टल रहनेछन्। कृषि र घरेलु उत्पादनको प्रदर्शनीका लागि १५ वटा निःशुल्क स्टल रहनेछन्। अहिलेसम्म सबै स्टल बुकिङ भइसकेको गुल्मी उद्योग वाणिज्य संघका सचिव तथा स्टल संयोजक चेतनारायण पाण्डेयले जानकारी दिए। आठवटा होटेल, १५ कृषि र घरेलुसहित बाँकी विभिन्न व्यापारिक स्टल रहेका छन्। अहिले तम्घासको चिदिचौरमा स्टल निर्माणको काम भइरहेको छ।

महोत्सवमा झन्डै ६ दर्जनभन्दा बढी राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहनेछ। मेलामा राष्ट्रियस्तरमा चर्चित गुल्मेली लोकदोहरी गायक एवं सर्जक बोमबहादुर कार्की, राजु परियार, बद्री पंगेनी, पशुपति शर्मालगायतका लोकदोहरी गायकले प्रस्तुति दिने महोत्सव सांस्कृतिक कार्यक्रम संयोजक ईश्वरी कँडेलले जानकारी दिए।

त्यस्तै, सुगम संगीततर्फ शिव परियार, रचना रिमाल र कमल खत्रीलगायतका कलाकारहरूको प्रस्तुति रहनेछ। यससँगै १२ वटै स्थानीय तहमा रहेका भैलो, सोरठी, कृष्ण चरित्र, मारुनीलगायतका सांस्कृतिक झाँकी एवं नृत्यहरू प्रस्तुत हुने कँडेलले बताए।

ad
ad
ad
ad