१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:१२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जनतासँग मेयर–उपमेयरका नाममा डेढ करोड बाँडेपछि कांग्रेसले लगायो  नगरपालिकामा ताला 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:१२:oo

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा दोलखाको भीमेश्वर नगरपालिकाले जनतासँग मेयर र उपमेयरका नाममा आफूनिकट कार्यकर्तालाई डेढ करोड बजेट वितरण गरेपछि तालाबन्दीसहितको आन्दोलन सुरु भएको छ ।  भीमेश्वरका मेयर भरत केसी र उपमेयर कमला बस्नेतको ठाडो तोकआदेशमा धमाधम रकम वितरण हुन थालेपछि प्रतिपक्ष दल कांग्रेसले आन्दोलन सुरु गरेको हो ।

नगरपालिकामा जनतासँग मेयर र उपमेयरजस्ता कार्यक्रम शीर्षक राखेर मेयर र उपमेयरको ठाडो तोकआदेशका भरमा धमाधम रकम वितरण भइरहेको छ । कागजमा उपभोक्ता समितिको लागत सहभागितासमेत देखाएर रकम वितरण भइरहेको जनतासँग मेयर कार्यक्रममा १० हजारदेखि चार लाख रुपैयाँसम्म बजेट आफूनिकट कार्यकर्तालाई बाँडिएको छ । नगरका विभिन्न वडामा आफूनिकट कार्यकर्तालाई योजनाका नाममा बजेट बाँडेको सूचना पाएपछि कांग्रेसको भीमेश्वर नगर समितिले मंगलबार नगरपालिकाको कार्यालय प्रमुखको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेको छ । 

नगर प्रमुख भरत केसीले वडा नं. २ मा बंगुर खोर निर्माणका लागि १५ हजार र वडा नं. ९ मा खानेपानी आयोजना निर्माणका लागि १५ हजारजस्ता सानादेखि लाखौँ रुपैयाँसम्मका योजनाका निवेदनमा ठाडो तोकआदेशमा सम्झौता गराई भुक्तानी दिलाएका छन् । त्यस्ता साना योजनाको भुक्तानी सम्झौता गरेको एक हप्ता नबित्दै निकासा लगेको देखिन्छ । खानेपानी आयोजना भनेर १५ हजार रुपैयाँ दिनु भन्ने तोकआदेशपछि प्रक्रिया अगाडि बढाएर फागुन १४ गते सम्झौता भएको योजनाको फागुन १९ गते रकम निकासा लगेको कागजात नगरको लेखा शाखामा प्राप्त भएको छ । नगर प्रमुख केसीले भीमेश्वर– ९ कै टाहार खानेपानी आयोजना भनेर २० हजार रुपैयाँ दिलाएका छन् । उल्लेखित योजनाहरू प्रतिनिधि योजना मात्रै हुन् । नगरपालिकाले त्यस्ता सयौँ योजनाका नाममा आफ्ना कार्यकर्तालाई मोटो रकम भुक्तानी गरिसकेको छ । 

नगरले प्राथमिकताका साथ नगर सभाबाट निर्धारण गरिएका योजनामा समेत दोहोरिने गरी बजेट वितरण गरेको छ । नगरपालिका कार्यालयबाट प्राप्त विवरणअनुसार त्यस्ता योजना पाउनेमा प्रायः एमाले कार्यकर्ता छन् । जनतासँग मेयर कार्यक्रममा पूर्वाधारका योजना मात्र समेटिएको छ । उक्त कार्यक्रमबाट हालसम्म  ६९ लाख रुपैयाँ वितरण भइसकेको नगरको लेखा शाखाले जनाएको छ । विनियोजन ऐन बनाउने वेलामा बजेट शीर्षक नै तोक्नुपर्ने सैद्धान्तिक मान्यता रहे पनि जनतासँग मेयर र उपमेयर कार्यक्रम राखेर नगर प्रमुख र उपप्रमुखले आफूनिकट कार्यकर्तालाई चुनावलक्षित गरी रकम बाँडेपछि कांग्रेसलगायतका दल आक्रोशित बनेका छन् ।   

गोठ बनाउन पनि बजेट 
महिलासँग उपमेयर कार्यक्रममा पनि उपमेयर कमला बस्नेतले मेयरले जस्तै गरी ठाडो तोकआदेशमा रकम बाँडिरहेकी छिन् । उपमेयर बस्नेतले गोठ बनाउन, बाख्रा खरिद गर्न नेतृत्व विकासजस्ता विषयमा १३ हजारदेखि दुई लाख ५० हजारसम्म रकम बाँडेकी छिन् । उनले बाख्रा खरिद गर्न भन्दै एमालेका कार्यालय सहयोगीलाई समेत रकम दिएको विवरण छ । 

काम गरेरै भुक्तानी दिएका हौँ : नगर प्रमुख केसी  
भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले नगर सभामा साना योजना बनाउन कठिन भएको बताउँदै आर्थिक स्तर कमजोर रहेका नगरवासीका सामान्य समस्या समाधान गर्न उक्त कार्यक्रम लागू गरेको बताए । उनले त्यस्ता योजनामा काम गरेरै रकम भुक्तानी दिइएको सुनाए । उनले तोकआदेशपछि स्टिमेट गरेर प्राविधिकमार्फत फिल्ड हेरेर मात्र रकम भुक्तानी दिने गरेको दाबी गरेका छन् ।  दुवै कार्यक्रमका लागि करिब डेढ करोड रुपैयाँ बजेट नगरमा रहेको छ । 

आन्दोलन तीव्र पार्छौँ : कांग्रेस 
मंगलबार ज्ञापनपत्र बुझाउन र तालाबन्दी गर्न  नगरको कार्यालय पुगेका कांग्रेस कार्यकर्ताले राज्यको सम्पत्ति मनपरी ढंगले भ्रष्टाचार गरेको भन्दै आन्दोलन अझ तीव्र बनाउने बताएका छन् । नेपाली कांग्रेस भीमेश्वर नगरका सभापति शंकर कार्कीले नगरमा अनियमितता र भ्रष्टाचारले जरो गाडेको भन्दै न्यायिक निकायको ध्यानाकर्षणसमेत गराएका छन् । उनले कानुनी उपचारसँगै मेयर–उपमेयरको बदमासी बोकेर प्रत्येक नगरवासीको घरघरमा पुग्ने र आन्दोलन पनि जारी रहने बताए । सभापति कार्कीले नगरका सवारीसाधन चढेर राजनीतिक कार्यक्रममा सहभागी हुने जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने बताएका छन् । उनले तत्काल नगरका सवारीसाधन फिर्ता गर्न चेतावनीसमेत दिएका छन् । 

ad
ad