मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत १६ बुधबार ०७:३१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

परराष्ट्रमन्त्री खड्का–जयशंकर भेटवार्ता, प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

Read Time : > 2 मिनेट
२०७८ चैत १६ बुधबार ०७:३१:००

देउवाले भारतीय विपक्षी नेतालाई नभेट्ने

परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी डा. सुब्रमण्यम जयशंकरबीच प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणबारे छलफल भएको छ । बिमस्टेकको पाँचौँ शिखर सम्मेलनका क्रममा श्रीलंकाको कोलम्बो पुगेका परराष्ट्रमन्त्री खड्का र जयशंकरबीच कोलम्बोमा मंगलबार भएको साइडलाइन वार्तामा कनेक्टिभिटी, ऊर्जा, मल, स्वास्थ्यलगायतमा सहकार्यका विषयमा पनि छलफल भएको छ । 

‘बिमस्टेक मन्त्रीस्तरीय १८औँ बैठकमा सहभागी हुने क्रममा भएको साइडलाइन वार्तामा प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा जारी तयारीलगायत विषयमा छलफल भयो,’ परराष्ट्र मन्त्रालयले ट्विटरमार्फत सार्वजनिक गरेको छ । भारतीय विदेशमन्त्री जयशंकरले भेटमा दुई देशबीच रामायण सर्किटलाई अघि बढाउने विषयमा केन्द्रित रहेर अघि बढ्ने सहमति भएको ट्विटरमा जनाएका छन् । उनले भनेका छन्, ‘कनेक्टिभिटी, ऊर्जा तथा जलस्रोत, रासायनिक मल, स्वास्थ्यलगायत क्षेत्रमा सहकार्यका विषयमा छलफल भयो ।’

प्रधानमन्त्री देउवा शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणमा जाँदै छन् भने उनले शनिबार समकक्षी नरेन्द्र मोदीसँग बेग्लै र प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले दिल्लीमा समकक्षी मोदी, भारतीय उपराष्ट्रपति बैंकाय नायडुसहित विदेशमन्त्री जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्नेछन् भने वाराणसीमा उत्तर प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेर स्वदेश फर्किनेछन् । राष्ट्रपति रामनाथ कोविन्द नेदल्यान्ड्स र तुर्कमेनिस्तान भ्रमणमा शुक्रबारै जाने भएका कारण उनीसँग प्रधानमन्त्रीको भेट नहुने भएको हो । 

रक्षामन्त्री राजनाथ सिंह, रेलमन्त्री तथा सूचना प्रविधिमन्त्री आश्विनी वैष्णव भने प्रधानमन्त्री मोदीको प्रतिनिधिमण्डलमा सहभागी हुने भारतीय कूटनीतिक स्रोतले जनाएको छ । नेपालबाट प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महेन्द्र यादवलगायत सहभागी हुने गरी कार्यक्रम तयार भइरहेको छ । ‘प्रधानमन्त्रीको टिममा जाने प्रतिनिधिमण्डलको सूचीलाई अन्तिम रूप दिन बाँकी छ,’ परराष्ट्र प्रवक्ता सेवा लम्सालले भनिन् । 

भारतीय विपक्षी दलसँग भेटवार्ता नहुने
प्रधानमन्त्री देउवाले यसपटक भारतीय कंग्रेसका अध्यक्ष सोनिया गान्धीसहित प्रतिपक्षी दलका नेताहरूसँग भेट नगर्ने भएका छन् । विगतमा नेपालका प्रधानमन्त्रीलाई सत्तारुढ र प्रतिपक्षी दलका अध्यक्ष तथा नेपालप्रति शुभेच्छा राख्ने पार्टीहरूका अध्यक्ष र पदाधिकारीले शिष्टाचार भेट गर्ने चलन थियो । 

‘यसपटक नेपाली राजदूतावासले नेपालका मित्रका रूपमा चिनिएका नेताहरूलाई शुक्रबार साँझ दूतावासमा सामूहिक रूपमा निमन्त्रणा गरेको छ, त्यसबाहेक यहाँका सरकारी पदाधिकारीबाहेकले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ताको कार्यक्रम छैन,’ परराष्ट्र स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘विगतमा राजकीय भ्रमण भएका वेला यस्ता शिष्टाचार भेटवार्ता हुने गरेका थिए । अहिले समयको सीमितता र औपचारिक भ्रमण मात्रै भएका कारण प्रतिपक्षी दलका नेता गान्धीसँग मात्र नभएर भाजपा अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ताको कार्यक्रम छैन ।’ 

सीमाबारे कुरा हुन्छ : परराष्ट्र प्रवक्ता
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको भ्रमणमा सीमा समस्याका विषयमा छलफल हुने जानकारी दिइन् । ‘दुई देशबीचको महत्वपूर्ण विषय सीमा पनि हो । कुनै न कुनै रूपमा भ्रमणमा यसबारेमा कुरा उठ्नेछ,’ उनले भनिन् । तर, छलफलका एजेन्डाबारे प्राविधिक तहमा छलफल भइरहेकाले तय भइनसकेको उनको भनाइ थियो । 

दुई प्रधानमन्त्रीबीच यसअघि भएका सबैजसो भेटवार्तामा सीमा समस्याबारे प्राविधिकहरूको राय लिएर छलफल गर्न परराष्ट्रसचिवहरूले जिम्मेवारी पाएका थिए । तर, परराष्ट्रसचिवहरूको तहमा यसबारे छलफल भएको छैन ।

चीनको प्रसंगमा परराष्ट्र प्रवक्ता लम्सालले नेपाल चीनको बिआरआईको सदस्य भएको भन्दै नेपाल बिआरआईमार्फत सहकार्य गर्न प्रतिबद्ध रहेको पनि बताइन् । ‘हामी बिआरआई प्रक्रियाको एउटा सदस्य भएको हुनाले त्यसमा हामी प्रतिबद्ध छौँ । केही आन्तरिक तयारी अपुग भएका कारण बिआरआई कार्यान्वयनका विषयमा ठोस समझदारीपत्रमा हस्ताक्षर नभएको हो, हाम्रो तयारी नपुगेको भन्दा बाहेक यसमा अरू कुनै कारण छैन,’ प्रवक्ता लम्सालले भनिन् ।

बिमस्टेकको पाँचौँ सम्मेलन, प्रधानमन्त्रीले आज सम्बोधन गर्ने 

श्रीलंकाले आयोजना गरेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को पाँचौँ शिखर सम्मेलन बुधबार हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोलम्बोमा सम्बोधन गरेका छन् । परराष्ट्रमन्त्री खड्काले बिमस्टेक स्थापनादेखि हालसम्म भएका उपलब्धिको चर्चा गर्दै बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले यो क्षेत्रमा जनताको जीवनस्तर माथि उकास्न सबैलाई समान अवसर प्रदान गर्नुपर्ने र यो क्षेत्रलाई शान्तिपूर्ण तथा सम्पन्न बनाउन सहकार्य गर्नुपर्ने पनि उल्लेख गरे । नेपालले यसअघि गरेको सम्मेलनको समेत खड्काले चर्चा गरेका थिए ।