मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ चैत १३ आइतबार १६:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कहिलेदेखि खटाइँदै छ म्यादी प्रहरी ? यस्तो छ निर्वाचनको सुरक्षा प्रबन्ध 

Read Time : > 1 मिनेट
२०७८ चैत १३ आइतबार १६:४४:००

सरकारले निर्वाचनको समयमा हरेकपटक म्यादी प्रहरीका लागि आवेदन खोल्छ। नियमित सुरक्षाकर्मीले मात्र नपुग्ने हुँदा निश्चित समयका लागि म्यादी प्रहरीले लिने गरिन्छ। स्थानीय तह निर्वाचनका लागि खोलिएको भर्नामा झन्डै तीन लाखले आवेदन दिएका छन्। अबको साता त्यसमध्येबाट एक लाख म्यादी प्रहरी छनाेट हुनेछन्। 

प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबारदेखि म्यादी प्रहरी छनोट प्रक्रिया सुरु हुनेछ। करिब चार दिनमा छनोट प्रक्रिया सकिनेछ। छनोटमा परेकाहरू स्वतः म्यादी प्रहरी हुनेछन्। उनीहरूलाई चैत २८ गतेदेखि तालिम दिइनेछ भने सोही दिनदेखि नियुक्ति प्रदान गरिनेछ। उक्त तालिम १० दिनको हुनेछ। सामान्य तथा आधारभूत सुरक्षा तालिम म्यादी प्रहरीलाई दिइनेछ। तालिम नजिकको प्रहरी कार्यालयबाट दिइनेछ।

म्यादी प्रहरीको कार्यअवधि तालिम सुरु भएको दिनदेखि ४० दिनसम्मको हुनेछ। त्यही दिनदेखि नै उनीहरूलाई तलब–सुविधा दिइनेछ। तालिम सकिएलगत्तै वैशाख ९ गते बिहानदेखि म्यादी प्रहरीलाई फिल्डमा खटाइनेछ। 

छनोट गरेकै प्रहरी कार्यालयले म्यादी प्रहरीको कार्यक्षेत्र तोक्ने नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए। उनका अनुसार  कुन ठाउँमा कति म्यादी प्रहरी राख्ने भन्ने निर्णय निर्वाचन आयोगले मतदान केन्द्रको निधो गरेपछि मात्रै निर्क्योल हुनेछ। 

महानगरीय प्रहरी परिसर टेकुमा म्यादी प्रहरीमा आवेदन दिन लागेको भिड। तस्बिर : दीपेन्द्र ढुंगाना

निर्वाचनमा अधिकांश सुरक्षाको जिम्मा नेपाल प्रहरीकै रहनेछ। त्यस्तै नेपाली सेना र सशस्त्र प्रहरी पनि निर्वाचनको सुरक्षामा खटिनेछ। करिब ७० हजार हाराहारी नेपाली सेना, ६२ हजार नेपाल प्रहरी, २१ हजार सशस्त्र प्रहरी र एक लाख म्यादी प्रहरी गरी करिब साढे दुई लाख सुरक्षाकर्मी निर्वाचनको सुरक्षामा खटिनेछन्। 

प्रहरीले एक मतदान केन्द्रबराबर तीनजना प्रहरी र आठजनासम्म म्यादी प्रहरी खटाउनेछ। तर, सुरक्षा चुनौती र अति संवेदनशील क्षेत्रमा सुरक्षा प्रबन्ध थप चुस्त पारिनेछ। ‘नेपाल प्रहरी मात्रै निर्वाचनमा खटिँदा सुरक्षा अवस्था अपुग हुन्छ, त्यसकारण म्यादी र नेपाल प्रहरी मिलाएर परिचालन गरिन्छ,’ प्रहरी प्रवक्ता केसीले भने, ‘कतिपय ठाउँमा हामीले सोचेभन्दा पनि बढी सुरक्षा चाहिन सक्छ, त्यस्तो अवस्थामा हामीले सुरक्षा तयारी पनि गरिराखेका हुन्छौँ।’ उनका अनुसार भारतीय सीमा क्षेत्रका मतदान केन्द्रहरूमा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ। 

आवश्यकताका आधारमा निर्वाचन सुरक्षा
निर्वाचनमा मतदानस्थलको पूर्ण सुरक्षाको जिम्मा नेपाल प्रहरीको काँधमा छ। यसबाहेक नेपाली सेना, सशस्त्र र म्यादी प्रहरीले नेपाल प्रहरीलाई सुरक्षामा सहयोग गर्नेछ। सेना र सशस्त्र प्रहरीले सुरक्षा गस्तीमा चासो दिनेछ भने मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरीकै जिम्मेवारीमा रहनेछ। 

नेपाल प्रहरीले निर्वाचन सुरक्षाअन्तर्गत अति संवेदनशील केन्द्रमा म्यादी आठजना र तीनजना नेपाल प्रहरी खटाउने तयारी गरेको छ। त्यस्तै संवेदनशील क्षेत्रमा म्यादी ६ जना र तीनजना नेपाल प्रहरी खटाइनेछ भने सुरक्षा अवस्थामा सामान्य रहेको ठाउँमा पाँचजना म्यादी प्रहरी र तीनजना नेपाल प्रहरी खटाइनेछ। 

नौ महिनाको काखे सन्तान बोकेर म्यादी प्रहरीका लागि आवेदन दिन शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेको प्रांगणमा लाइनमा बसेकी खजुरा गाउँपालिका– ४ खजुराबजारकी १९ वर्षीया मनीषा सुनार । तस्बिर : विश्वराज पछल्डङ्ग्या

यसको साथै नेपाली सेना र ससस्त्र प्रहरीले पनि निर्वाचनको सुरक्षा दिनेछन्। एउटा निर्वाचन क्षेत्रमा आवश्यकताका आधारमा सेना र सशस्त्र प्रहरी परिचालन गरिनेछ। 

म्यादी प्रहरीलाई पायक पर्ने ठाउँमा खटाइने 
गृह मन्त्रालयका अनुसार म्यादी प्रहरीलाई घर पायक हुनेगरी खटाइनेछ। त्यसो गर्दा उनीहरू बिहानैदेखि सुरक्षामा खटिन सक्ने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए। 

उनका अनुसार म्यादी प्रहरी सबैको एउटै जिम्मेवारी रहने भएकाले घरपायक हुने गरी खटाउने तयारी गरिएको हो। ‘उनीहरूको अस्थायी कार्य हो, त्यसकारण म्यादी प्रहरीलाई पनि सहज हुने गरी खटाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छौँ,’ उनले भने।