अर्थमन्त्री जनार्दन शर्माले प्रणालीअनुरूपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताएका छन् । राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरू र समाजवादउन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले सामाजिक न्याय र कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने बारेमा सबै राजनीतिक दलहरूमा आधारभूत एकरूपता हुनुपर्ने बताए । अर्थमन्त्री शर्माले अहिले शोधनान्तर घाटाको अवस्था ठूलो रहेको पनि बताए ।
अर्थमन्त्री शर्माले भने, ‘आज गणतन्त्रपछि पनि विकासले नयाँ गति लिन नसक्नुको कारण हाम्रो यो प्रणाली राज्य प्रणालीको कुरा गरेका छौँ । त्यो प्रणालीअनुरूपको के को कुरा के हो भन्ने एउटाले, अर्कोले अर्को कुरा भनिरहेको छ । कसरी हुन सक्छ सामाजिक न्याय, कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने प्रश्नमा राजनीतिक दलहरूका आधारभूत एकरूपता चाहिन्छ । सबै सैद्धान्तिक कुरा मात्रै होइन ।’
मन्त्री शर्माले कोरोना महामारीका बीच पनि आर्थिक क्रियाकलापहरूमा वृद्धि भइरहेको बताए । उनले पछिल्लो समय आयात बढेको र उपभोग्य वस्तुको आयात, कृषिजन्य वस्तुको आयात अर्बौंमा रहेको बताए ।