१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ११ शुक्रबार
  • Saturday, 21 September, 2024
२o७८ चैत ११ शुक्रबार o८:३४:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिमा कम्पनीहरूको चुक्ता पुँजी साढे दुई गुणाले बढ्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ११ शुक्रबार o८:३४:oo

जीवन बिमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बिमाको दुई अर्ब ५० करोड पुर्‍याउनुपर्ने

बिमा कम्पनीहरूको चुक्ता पुँजी साढे दुई गुणा वृद्धि हुने भएको छ । बिमा समितिको बिहीबार बसेको सञ्चालक समितिको बैठकले जीवन बिमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरूको पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ । कम्पनीहरूले चैत ०७९ सम्म समितिले तोकेको चुक्ता पुँजी पुर्‍याउनुपर्ने भएको हो । हाल जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ रहेको छ । सबै बिमा कम्पनीहरूले समितिले व्यवस्था गरेअनुसारको चुक्ता पुँजी कायम गरिसकेका छन् ।

समितिले कम्पनीहरूलाई पुँजीगत आधार बलियो बनाउन चुक्ता पुँजी वृद्धिको निर्णय गरिएको बताएको छ । त्यस्तै, कम्पनीहरूको जोखिम वहन क्षमता बढाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बिमाको पहुँच विस्तार गर्न, कम्पनीहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीगत सामञ्जस्य कायम गर्न पुँजी वृद्धि गरिएको समितिले जनाएको छ । 

विदेशी बिमकका रूपमा दर्ता भई सञ्चालनमा रहेको बिमकले बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ बमोजिम तोकिएको चुक्ता पुँजीबराबरको निर्धारित पुँजी कायम गर्नुपर्ने समितिले व्यवस्था गरेको छ । यो व्यवस्थासँगै मेट लाइफ इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स तथा नेसनल इन्स्योरेन्स कम्पनीले निर्धारित पुँजी पुर्‍याउनुपर्ने भएको छ । संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाअनुसार तोकिएको चुक्ता पुँजी कायम गर्ने व्यवस्था गरिएको समितिले बताएको छ । कम्पनीहरूले आगामी ३० दिनभित्र आफ्नो पुँजी सम्बन्धित बोर्डबाट निर्णय गराई समितिसमक्ष पेस गर्नुपर्नेछ । 

तोकिएको समयमा पुँजी बढाउन बिमा कम्पनीहरूलाई सकस
बिमा समितिले तोकेअनुसार निर्धारित समयमा नै पुँजी वृद्धि गर्न नसकिने बिमकहरूले बताएका छन् । एक वर्षभित्र नै समितिले तोकेअनुसार साढे दुई गुणा बढी पुँजी वृद्धि गर्न नसकिने बिमकहरूको भनाइ छ । 

समितिले बिमा कम्पनीहरूको पुँजी कुन उद्देश्यका लागि बढाउन खोजेको हो, सो विषयमा स्पष्ट नभएसम्म कुनै धारणा बनाउन नसकिने नेपाल बिमक संघका महासचिव एवं नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए । उनका अनुसार अहिले समितिले हकप्रद सेयर वितरण गर्न रोक लगाएको छ । त्यसैले कम्पनीहरूले पुँजी बढाउने आधारका विषयमा पनि समितिले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । ‘यदि समितिले कम्पनीहरूबीच मर्जरका लागि पुँजी बढाएको हो भने पनि तोकिएको समयमा यो सम्भव छैन,’ उनले भने । 

त्यस्तै, नेपाल जीवन बिमा संघका उपाध्यक्ष एवं सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी निर्देशक पोषक पौडेलले भने कम्पनीहरूको व्यवसाय बढेसँगै पुँजी बढाउनुपर्ने आवश्यकता रहेको बताए । ‘अहिले कम्पनीहरूको व्यवसाय पनि बढेको छ भने बिमा पहुँच पनि बढेको छ । दुई–चार वर्षमा नै बिमा पहुँच २६ प्रतिशत पुगिसक्यो । व्यवसाय पनि चार गुणाले बढ्न थालेको छ । यस्तो अवस्थामा पुँजी बढाइनु स्वाभाविक नै हो,’ उनले भने, ‘तर, पुँजी वृद्धिको गाइडलाइन हेरेर मात्रै कुनै ठोस निष्कर्ष निकाल्न सकिनेछ ।’

तर, बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरूको चाहनाअनुसार नै पुँजी बढाइएको बताए । उनका अनुसार कम्पनीहरू एक–आपसमा गाभिन पनि चाहन्छन् । यसका लागि वातावरण बनाउन पनि पुँजी वृद्धि गरिएको उनको भनाइ छ । कम्पनीले पुँजी वृद्धि योजना पेस गरेपछि पुँजी वृद्धिको गाइडलाइन बनाइने उनले जानकारी दिए । केही बिमकहरूले भने समितिले व्यक्तिगत स्वार्थका लागि पुँजी वृद्धि गरेको आरोप लगाएका छन् ।  

विधेयकमा नै पुँजी वृद्धिको व्यवस्था
बिमा समितिले अर्थ मन्त्रालयमा प्रस्ताव गरेको बिमा विधेयकमा नै बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरिने व्यवस्था गरेको छ । जसअनुसार जीवन बिमा कम्पनीहरूको पाँच अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरूले चार अर्ब रुपैयाँ तोकेको थियो । यद्यपि, बिमा विधेयक भने अझै पनि संसद्को अर्थ समितिमा नै अड्किएको छ । समितिले ०७० सालमा बिमा समितिले बिमा कम्पनीहरूको चुक्ता पुँजी बढाएको थियो । तत्कालीन समयमा समितिले जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५० करोड र निर्जीवन बिमा कम्पनीका लागि २५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । ०७४ सालमा फेरि समितिले कम्पनीको पुँजी वृद्धि गरेको थियो । तत्कालीन समयमा समितिले जीवन बिमा कम्पनीको न्यूनतम दुई अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरूको पुँजी एक अर्ब रुपैयाँ बढाएको थियो । चुक्ता पुँजी वृद्धिका लागि समितिले एक वर्षको अवधि दिएको थियो । तर, अधिकांश कम्पनीहरूले तोकेको समयमा भने वृद्धि गर्न सकेनन् । 

नेपालमा हाल ४१ वटा बिमा कम्पनीहरू सञ्चालित छन् । जसमध्ये १९ वटा जीवन बिमा कम्पनी छन् । जसमध्ये लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै समितिले तोकेको चुक्ता पुँजी कायम गरेको छ । कम्पनीको चुक्ता पुँजी सात अर्ब ५० करोड छ । त्यस्तै, नेपालमा हाल २० वटा निर्जीवन बिमा कम्पनी सञ्चालित छन् । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले मात्रै चुक्ता पुँजी कायम गरेको छ । कम्पनीको पुँजी तीन अर्ब रुपैयाँ पुगेको छ । नेपालमा हाल दुईवटा पुनर्बिमा कम्पनी रहेका छन् । सरकारद्वारा सञ्चालित तीनवटा बिमा कम्पनीहरू छन् । जीवन, निर्जीवन र पुनर्बिमा कम्पनी एक–एकवटा छन् । निजी क्षेत्रबाट सञ्चालित ३१ छन् । १५ जीवन, १५ निर्जीवन र एउटा पुनर्बिमा कम्पनी छ ।