Skip This
तुलसीपुरको ‘स्मार्ट’ बसपार्क : न विद्युत् छ न पानी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ९ बुधबार
  • Friday, 20 September, 2024
०७७ देखि सञ्चालनमा आएको दाङको तुलसीपुरस्थित आधुनिक बसपार्क ।
२o७८ चैत ९ बुधबार o९:३५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तुलसीपुरको ‘स्मार्ट’ बसपार्क : न विद्युत् छ न पानी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ९ बुधबार o९:३५:oo

आधुनिक भनिएको तुलसीपुर बसपार्क अस्तव्यस्त छ । बसपार्कमा एक साताअघि विद्युत् र दुई साताअघि खानेपानीको लाइन काटिए पनि अहिलेसम्म जोडिएको छैन । बसपार्कले आठ लाख रुपैयाँ महसुल नतिरेपछि २ चैतमा विद्युत् काटिएको हो । विद्युत् जडानबारे सरोकारवाला निकायले कुनै पहल गरेको छैन । 

आधुनिक बसपार्क बनाएपछि ५२ वटा सटर भाडामा लगाइएको छ । तर, विद्युत् र पानी  नहुँदा होटेल व्यवसाय ठप्प बनेको छ । गर्मी मौसम सुरु भएसँगै फ्रिज चलाउनुपर्ने हुन्छ । मोबाइल पसलमा अनिवार्य विद्युत् चाहिन्छ । विद्युत् नभएकाले टिकट काउन्टरहरूमा समस्या उत्पन्न भएको छ । पानी नहुँदा शौचालय दिसा–पिसाबले भरिएको छ । यस्तो अस्तव्यस्त हुँदा समस्या समाधान गर्न कतैबाट पहल नभएको स्थानीय व्यवसायी बताउँछन् । ‘विद्युत् नहुँदा हाम्रो व्यवसाय नै चौपट भएको छ,’ व्यवसायी प्रमिला कठायतले भनिन्, ‘विद्युत् नहुँदा फ्रिज पनि चल्दैन,  अहिले २५ रुपैयाँको व्यापार गर्न पनि फ्रिज चाहिन्छ ।’

०७७ देखि बसपार्कमा व्यवसायीलाई सटर भाडामा दिइएको हो । त्यतिवेला भाडा मात्रै तिर्ने, तर पानी, विद्युत्को नतिर्ने सहमति भएको अर्का व्यवसायी जिए नेपालीले बताए । त्यसैले अहिलेसम्म कसैले विद्युत् महसुल बुझाएका छैनन् । ‘यहाँको पूर्वतर्फका सटरको भाडा १० हजार र पश्चिमतर्फका सटरको आठ हजार भाडा तिर्ने सहमति भएको हो,’ उनले भने, ‘तर, अहिले पानी, विद्युत्को महसुल पनि हामीले तिनुपर्ने भन्ने कुरा आएको छ ।’

बसपार्कका ५२ वटा सटर भाडामा लगाइएको छ । तर, पानी नहुँदा शौचालय दिसा–पिसाबले भरिएको छ । बिजुली र पानी नहुँदा व्यवसायीका व्यवसाय ठप्प छन् । ठेकेदार कम्पनीले भने प्रतिसटर ६ हजार रुपैयाँ बढाउने तयारी गरेको छ ।

ठेकेदार कम्पनीले भने त्यस्तो कुनै लिखित सहमति नभएको बताएको छ । ‘पहिले पनि मैले नै ठेक्का पाएको थिएँ,’ बुढाथोकी ट्रेड एन्ड सप्लायर्सका सञ्चालक भीमबहादुर बुढाथोकीले भने, ‘त्यतिवेला पनि सटर लिनेलाई पानी विद्युत्को मात्रै पैसा तिर्ने भन्ने कुनै लिखित सहमति भएको थिएन ।’ २० फागुनदेखि बसपार्कका लागि बुढाथोकी ट्रेड एन्ड सप्लायर्सले काम गर्ने गरी कार्यादेश दिइएको छ । सोही कम्पनीले यसअघि बसपार्क पूर्वाधार शुल्क उठाउने जिम्मा लिएको थियो । तर, केही समयमै त्यो सम्झौता  तोडिएको  थियो । 

०७८ वैशाखदेखि फागुनसम्म तुलसीपुर उपमहानगरपालिकाले नै भाडा उठाउँदै आएको थियो । पुसमा पुनः टेन्डर खुल्ला गर्दा बुढाथोकी ट्रेड एन्ड सप्लायर्सले नै ठेक्का पाएको थियो । अहिले सटर भाडा बढाउने तयारी भएको छ । २० प्रतिशत भाडा बढाउन लागेको बुढाथोकीले बताए । अहिले  पूर्वतर्फका सटरहरूलाई १४ हजार र पश्चिमतर्फका सटरलाई १२ हजार बनाउने गरी तयारी गरेको उनको भनाइ छ ।

ठेकेदार कम्पनीले भाडा बढाउन लागेपछि व्यवसायीहरूले आपत्ति जनाएका छन् ।  व्यवसायी रूपलाल केसीले आफूहरूले बढाइएको भाडा बुझाउन नसक्ने बताए  । ‘नाला, फुटपाथ पनि हटाउन सकेको छैन, गेट पनि बनाउन सकेको छैन,’ उनले भने, ‘अहिले भाडा बढाउने भन्ने कुरा आएको छ, धेरै बढाए भाडा तिर्न सकिँदैन ।’ 

बसपार्कमा विभिन्न १३ वटा बस यातायातका काउन्टर छन् । काउन्टरमा विद्युत्  नहुँदा समस्या हुने गरेको त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालि रुकुम–सल्यानका सदस्य दीपककुमार बुढाथोकीले बताए ।

उपमहानगरपालिकाले पनि सम्बन्धित सटर भाडा लिएकाहरूले नै विद्युत् महसुल तिर्नुपर्ने बताएको छ । उपमहागरपालिकाका राजस्व शाखा प्रमुख भेषराज चन्दले कोभिडपछिकोे छुटसहित त्यसपछि दामासाहीका हिसाबले विद्युत् महसुल बुझाउनुपर्ने बताए । उपमहानगरपालिकाले सार्वजनिक शौचालय, छोटो र लामो समयको पार्किङ, प्रवेश तथा निकासी शुल्क, होर्डिङ बोर्डसहित सार्वजनिक सूचना, टर्मिनल भवन, ५२ सटरको शुल्क उठाउने जिम्मा बुढाथोकी ट्रेड एन्ड सप्लायर्सलाई दिएको छ । वार्षिक भ्याटबाहेक दुई करोड २३ लाख बुझाउने गरी ठेक्का सम्झौता भएको हो ।