माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका घाइते तथा अपांगता भएका व्यक्तिको उचित स्वास्थ्योपचारको प्रबन्ध मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री देउवासँग भेट गरी प्रचण्डले घाइते तथा अपांग योद्धाका समस्या समाधान गर्न ध्यानाकर्षण गराएका हुन् । पूर्वलडाकुका समस्यामा बेवास्ता गरेको भन्दै माओवादी नेतृत्वको आलोचना हुँदै आएको छ ।
प्रचण्डले जनयुद्धमा घाइते भई अपांगता भएका व्यक्तिको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन र घाइते भई अपांगता भएका व्यक्तिको लगत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगता भएका व्यक्तिलाई सूचीकृत गर्न आग्रह गरेका छन् । उनले जनयुद्धका क्रममा घाइते भई अपांगता भएका व्यक्तिलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र दिन, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनलगायत प्रगतिशील आन्दोलनमा सहिद भएकाको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नसमेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
जनयुद्धका क्रममा जेलजीवनयापन गरी यातनापीडित व्यक्तिलाई सम्मानपत्रसहित राहत उपलब्ध गराउन पनि प्रधानमन्त्री देउवासँग प्रचण्डको आग्रह छ । प्रधानमन्त्रीले जनयुद्धका सहिद तथा बेपत्ता परिवार, घाइते तथा अपांगता भएका व्यक्तिको व्यवस्थापन शान्ति प्रक्रियाकै अभिन्न अंग हुनाका साथै राज्यको कर्तव्य भएको उल्लेख गर्दै उक्त समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीलाई भेट्नुअघि प्रचण्डले वीर अस्पतालमा पुगी काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका– ६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई भेट गरी उनका स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । मकवानपुरको झुरझुरेमा भएको दोहोरो भिडन्तमा उनी घाइते भएका थिए ।
भिडन्तका क्रममा टाउकामा लागेको चोट बल्झिएपछि उनको खुट्टामा इन्फेक्सन देखिएको र त्यसका कारण दुवै खुट्टा शल्यक्रिया गरेर फाल्नुपरेको अस्पतालले जनाएको छ । भेटका क्रममा प्रचण्डले आगामी दिनमा पार्टी र सरकारका तर्फबाट उपचारका पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने, सात वर्षको बच्चाको पढाइ र पत्नीको रोजगारीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।