१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ९ बुधबार
  • Wednesday, 26 June, 2024
फाइल तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत ९ बुधबार o६:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अग्रमोर्चामा खटिने सुरक्षाकर्मीलाई आधारभूत भत्तासमेत दिइएन, म्यादी प्रहरीको रासन भत्ता पनि कटौती 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत ९ बुधबार o६:२२:oo

निर्वाचन आयोगका कर्मचारीलाई शतप्रतिशत भत्ता, तर अग्रमोर्चामा खटिने सुरक्षाकर्मीलाई आधारभूत भत्तासमेत दिइएन, म्यादी प्रहरीको रासन भत्ता पनि कटौती 

निर्वाचन आयोगका कर्मचारीले शतप्रतिशत भत्ता र अन्य थरीथरी सुविधा पाउँदा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई भने खाजा खर्च पनि छुट्याइएको छैन । अझै म्यादी प्रहरीलाई त खाना खर्चसमेत नधान्ने रासन भत्ता छुट्याइएको छ । 

४० दिन खटिने म्यादी प्रहरीले एकमुस्ट सात हजार दुई सय रासन खर्च पाउनेछन् । जब कि दुर्गमका जिल्लाहरूमा त्यो रकमले २० दिन मात्र रासन खर्च धान्ने प्रहरी अधिकारी बताउँछन् । स्रोतको अभाव देखाउँदै अर्थ मन्त्रालयले म्यादी प्रहरीको रासन भत्तासमेत कटौती गरेको हो । विगतमा म्यादीलाई नेपाल प्रहरीबराबर नै रासन खर्च दिइन्थ्यो । हरेक जिल्लामा त्यहाँको खाद्यान्नको महँगीअनुसार रासन भत्ता दिने गरिएको छ । तर, सरकारले यो वर्ष रासन खर्चमा प्रहरी र म्यादीलाई फरक–फरक नियम लागू गरेको छ । ७७ जिल्लामै एउटै दरको रासन भत्ता दिने सरकारको निर्णय अव्यावहारिक र अनौठो भएको प्रहरी अधिकारी बताउँछन् । खासगरी हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई त्यसबाट ठूलो अन्याय हुने देखिन्छ । त्यहाँ चामललगायत खाद्यान्न महँगो हुन्छ । 

अहिले प्रहरीले न्यूनतम एक सय ८१ रुपैयाँदेखि आठ सय ६४ रुपैयाँसम्म दैनिक रासनभत्ता पाउँछन् । उपत्यकामा कार्यरत प्रहरीले दैनिक दुई सय १ रुपैयाँ अर्थात् ४० दिनको ८ हजार ४० रुपैयाँ पाउँदा म्यादीले भने सात हजार दुई सय मात्र पाउनेछन् । 

म्यादी प्रहरीलाई घरपायक ठाउँमा नखटाउने सुरक्षा नीति छ । जसअनुसार उनीहरूले घरमा खाना खान पाउने अवस्था हुँदैन । अहिलेको महंगीमा उनीहरूलाई खाना खर्च समेत नपुग्ने रासनभत्ता सरकारले छुट्याएको र यसबाट काम लगाउन गाह्रो हुन सक्ने एक प्रहरी अधिकारी बताउँछन् । ४० दिन खटिने म्यादीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, सात हजार दुई सय रासन खर्च, ६ हजार पोसाक र एक हजार यातायात खर्च  पाउनेछन् ।  

यो वर्षको स्थानीय  निर्वाचनमा सुरक्षाकर्मीले पनि पानी समेत आफ्नै तलबबाट किनेर खानुपर्ने अवस्था छ । जनशक्ति अपुग भएकाले यो निर्वाचनमा प्रहरीलाई १५ घन्टा भन्दा धेरै डिउटीमा खटाउनुपर्ने अवस्था भएको तर कुनै अतिरिक्त सुविधा नदिएकाले समस्या हुन सक्ने प्रहरी अधिकारीको चिन्ता छ । यसअघिको निर्वाचनमा १५ दिनका लागि दैनिक दुई सय ५० का दरले खाजा खर्च दिइएको थियो । त्यस्तै, विभिन्न किसिमका भत्ता पनि दिइएको थियो । तर, यो वर्ष सुरक्षाकर्मीलाई यस्तो सुविधा अहिलेसम्म दिइएको छैन । निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई थप सुविधा दिन पहल भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेल बताउँछन् । 

मागभन्दा अर्थ मन्त्रालयले न्यून मात्र बजेट दिएकाले यस्तो अवस्था आएको हो । नेपाल प्रहरीका लागि नौ अर्ब २९ करोड १७ लाख माग भएकोमा जम्मा एक अर्ब २२ करोड ४० लाख मात्र बजेट दिइएको छ । प्रहरीले तीन करोड स्थानीय भत्ता तथा चार करोड १६ लाख २३ हजार अन्य भत्ता माग गरेको थियो । त्यसमा अर्थले एक रुपैयाँ पनि दिएको छैन । पोसाक, इन्धन, सवारीसाधन मर्मत, अनुगमन, मूल्यांकन, भ्रमण खर्च, पानी तथा बिजुली खर्च मागभन्दा थोरै दिइएको छ । पोसाकमा १४ करोड ५५ लाख माग भएकोमा जम्मा ७० लाख दिइएको छ । औषधि खरिद, घरभाडा, कर्मचारी तालिम, सञ्चार महसुलजस्ता शीर्षकमा बजेट कटौती भएको छ । नेपाल प्रहरीले ६ अर्ब २१ करोड पुँजीगत खर्च माग गरेकोमा जम्मा ४३ करोड ३७ लाख मात्र दिइएको छ । त्यसमध्ये मेसिनरी तथा औजारमा ३० करोड, सुरक्षा उपकरणमा ११ करोड र अन्य सार्वजनिक निर्माणमा दुई करोड रुपैयाँ छ । 

एक लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्न गृहले सात अर्ब १९ करोड ९४ लाख पाँच हजार रुपैयाँ माग गरेकोमा चार अर्ब ४५ करोड ९४ हजार मात्र स्वीकृत भएको छ । जसअनुसार एक लाख मात्र म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको छ । 

त्यस्तै, सशस्त्र प्रहरीले तीन अर्ब ५८ करोड १३ लाख माग गरेकोमा ४४ करोड ५५ लाख बजेट मात्र स्वीकृत भएको छ । सशस्त्र प्रहरीले तीन करोड २५ लाख स्थानीय भत्ता, १६ करोड अन्य भत्ता माग गरेकोमा उसलाई भत्ता शीर्षकमा बजेट विनियोजन भएको छैन । पोसाकमा ८४ लाख, पानी र बिजुलीमा ७४ लाख, कार्यालय प्रयोजनका लागि इन्धनमा तीन करोड ६५ लाख, सवारीसाधन मर्मतमा एक करोड ६० लाख, भ्रमण खर्चमा २३ करोड ५२ लाख निकासा भएको छ । पुँजीगत खर्चतर्फ सशस्त्रलाई १० करोड ५० हजार छुट्याइएको छ । 

म्यादी प्रहरीमा तीन दिनमै एक लाख धेरै आवेदन  
स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरीका लागि आवेदन खुलाइएकोमा तीन दिनमै झन्डै सवा लाखले दरखास्त दिएका छन् । ७७ जिल्लामै म्यादी प्रहरीका लागि भर्ना खोलिएको छ । सोमबारसम्म ८३ हजार ६ सयको आवेदन परेको र मंगलबार पनि दरखास्तीका लागि देशभरीका कार्यालयमा भिड रहेकाले दरखास्त संख्या करिब सवा लाख पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ११ चैतसम्म दरखास्त दिने म्याद छ । पूर्वसुरक्षाकर्मी, यसअघि काम गरेका म्यादी तथा प्रहरी तथा सेनाको भर्ना प्रक्रियामा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा म्यादीमा भर्ना गर्ने प्रहरीको तयारी छ । छनौट भएकालाई २२ चैतदेखि तालिम दिने योजना छ । 

ad
ad
ad
ad