मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ८ मंगलबार
  • Tuesday, 11 February, 2025
रामरतन सिंह
२o७८ चैत ८ मंगलबार o७:२५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राजनीतिमा किन अघि बढ्न सकेनन् युवा ?

हजुरबा उमेरका नेताले हुर्किंदै गरेको युवापुस्तालाई आफ्नो नेताका रूपमा स्विकार्न नसक्नु नै देश पछाडि पर्नुको मुख्य कारण हो

Read Time : > 2 मिनेट
रामरतन सिंह
नयाँ पत्रिका
२o७८ चैत ८ मंगलबार o७:२५:oo

राजनीतिक विचारक माओले युवालाई लक्षित गर्दै भनेका थिए– ‘यो संसार तिमीहरूको पनि हो र हाम्रो पनि हो, तर अन्त्यमा तिमीहरूकै हो ।’ आज हामी यहीको सेरोफेरोमा रही कुरा गर्नेछौँ । स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने भनी मिति तोकिएसँगै काठमाडौँ महानगरपालिकाको मेयरमा चर्चित युवा ¥यापर बालेन शाहले पनि स्वन्तन्त्र उम्मेदवारी घोषणा गरे । यससँगै विभिन्न स्थानबाट विभिन्न युवाले विभिन्न पदमा स्वन्तन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर, समग्रमा हेर्दा भने राजनीतिमा युवा उपस्थिति एकदमै कम देखिएको छ ।

युवा भनेको समग्र जीवनको एउटा यस्तो उमेर हो, जहाँ व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता, विद्रोही चेतना एवम् उच्च आत्मविश्वास हुन्छ । युवाको उमेर समूह राष्ट्रपिच्छे फरक–फरक हुन्छ । नेपालको हकमा भने राष्ट्रिय युवा नीति २०६६ मा १६–४० वर्षको उमेर समूहलाई युवा भनिएको छ ।

इतिहासलाई फर्केर हेर्दा बुद्ध, जनक, महात्मा गान्धी, नेल्सन मन्डेला, बाराक ओबामा आदिले युवावस्थामै आफ्नो कर्मले संसारलाई उज्यालो बनाए । वि.सं. १९९६ को राणाविरोधी आन्दोलनमा गंगालाल, २००७ सालको क्रान्ति सम्पन्न गर्दा बिपी, कम्युनिस्ट घोषणापत्र लेख्दा कार्ल माक्र्स, विश्व विजय यात्रा सुरु गर्दा सिकन्दर, आधुनिक नेपाल एकीकरण वा तत्कालीन गोर्खा राज्य विस्तार अभियान सुरु गर्दा पृथ्वीनारायण शाह सबै युवा नै थिए । १० वर्षे जनयुद्धदेखि पहिलो र दोस्रो जनआन्दोलन, विभिन्न मधेस, थरुहट आन्दोलनजस्ता सबैखाले आन्दोलनमा युवा नै अग्रपंक्तिमा थिए र छन् ।

‘युवा नेतृत्व’ सम्भावनाको मिठो कल्पना बोकेर आउँछ । आज नेतृत्वमा युवाको पहुँच नहुनु नै समस्या हो भने युवाको नेतृत्व नै समाधान हो । नेपालमा भएका कुनै पनि ठूला परिवर्तन युवाविना सम्भव नै थिएन । तर, हरेक परिवर्तनपछि खोला तर्ने लठ्ठीझैँ प्रयोग भए र फालिए । उनीहरू के चाहन्छन् ? के सोच्छन् ? उनीहरूका मुद्दा के–के हुन् ? कसैले सोधेनन् । सोध्न आवश्यकसम्म ठानेनन् । राजनीतिमा युवा किन लाग्न चाहँदैनन् वा पछाडि पर्छन् भनेर प्रश्न गर्दा प्रायः निम्न उत्तर भेटिन्छन् :

कुलतमा फस्नु : हाम्रो देशमा अधिकांश युवा धूम्रपान, मद्यपान र लागुपदार्थ सेवनका कुलतमा फसेका देखिन्छन् । देशमा लागुऔषध नियन्त्रण ऐन २०३३ जस्ता कानुन अस्तित्वमा भए पनि सीमानाका खुला र राजनीतिक बचाउका कारण दिनदिनै दुव्र्यसनीहरू बढिरहेका छन् । 

युवापुस्ता बिदेसिनु : युवाशक्ति देशको अनमोल, अनन्त शक्ति र सबैभन्दा ठूलो पुँजी हो, यसलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता भए पनि आफ्नो माटोको प्रेमलाई बन्धकी राखी ८० लाख युवायुवती आफ्नो श्रम विदेशीको पाउमा बेच्न बाध्य भएका छन् । उनीहरूका लागि राजनीतिक नेतृत्वमा पुग्ने अवसर त बन्द छ नै, साथमा पूरै संसार ‘डिजिटलाइज्ड’ भइसकेको आजको दिनमा समेत विदेशमा भएका युवाका लागि इ–भोटिङको व्यवस्थासम्म छैन ।

क्षणिक फाइदा खोज्नु : जब–जब निर्वाचन आउँछ एकथरी युवा मासुभात, रक्सी र डिजेल–पेट्रोलसमेतमा खुसी हुन्छन् । कोही–कोही त बार्गेनिङ गरी निश्चित मूल्यमा भोट बिक्री गर्नेसमेत भेटिन्छन् । परिणामतः गलत व्यक्ति नेतृत्वमा पुग्दा युवाको हालत चौपट भएको छ ।

राजनीतिक चेतको कमी : असल नेता सबैलाई चाहिएको छ, तर राजनीति गर्न कोही चाहँदैन, न त आफ्ना छोराछोरीलाई नै राजनीति गर्न सल्लाह दिइन्छ । विद्यालयदेखिको पढाइमा राजनीतिलाई नकारात्मक रूपमा चित्रण गरिन्छ । ‘राजनीति भनेको फोहोरी खेल’ हो भनेर सिकाइन्छ ।

तेस्रो दर्जाको कार्यकर्ता : सरकार पक्षको पार्टीका भ्रातृ संगठनका युवा र विद्यार्थीले ‘वाच डग’का रूपमा सरकारलाई खबरदारी गर्नुपर्ने हो, तर विडम्बना, उनीहरू तेस्रो दर्जाका (झोले) कार्यकर्ताभन्दा माथि उठ्न नसक्नु दुःखद छ ।

राजनीतिमा युवालाई पछाडि धकेल्नु : ५०–६० वर्षका हजुरबुबा उमेरका नेताले अहिले हुर्किंदै गरेको युवापुस्तालाई आफ्नो नेताका रूपमा स्विकार्न नसक्नु नै देश पछाडि पर्नुको मुख्य कारण हो । प्रायः राष्ट्रिय कहलिएका पार्टीको विधान हेर्ने हो भने पार्टीमा लागेको ७–१० वर्षपछि चुनावमा भाग लिन पाउने व्यवस्था छ । यसलाई पनि राजनीतिमा युवालाई पछाडि पार्ने चक्रव्यूहका रूपमा लिन सकिन्छ ।

समग्रमा हेर्दा यी र यस्ता समस्याको समाधान गर्न सकियो भने राजनीतिमा युवाको ध्यान खिच्न सकिन्छ । राजनीतिक चेतना अभिवृद्धि गर्नका लागि निर्वाचन, राजनीति, देशको राजनीतिक व्यवस्था, संसद् आदि सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । भारतका एक चर्चित युवानेता कन्हैया कुमारको एउटा चर्चित भनाइ छ– ‘ए बाबु, अहिले यदि मासुभात खाने चक्करमा रह्यौ भने यिनले पाँच वर्षसम्म फेरि बेबकुफ बनाउनेछन् ।’ लागुऔषध नियन्त्रणसम्बन्धी कार्यलाई सम्बन्धित निकायले अझ कडाइसाथ कारबाही गर्नुपर्छ ।

युवालाई पछाडि पार्ने नीतिविरुद्ध आवाज बुलन्द गर्नुपर्छ । युवालाई लक्षित गरी स्वरोजगारीको तालिम दिनुपर्छ, ताकि युवा देशबाहिर श्रम बेच्न बाध्य नहून् । विदेश गएकाहरूका लागि इ–भोटिङको व्यवस्था मिलाउनुपर्छ । लोकतन्त्रमा निर्वाचनको अनिवार्य विशेषता उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’ (नराम्रो व्यक्ति उम्मेदवार बनेमा), ‘राइट टु रिकल’ (जितेर जनताका हितमा काम नगरेमा) र ‘राइट टु नो भोट’ (भोट दिनलायक एउटा पनि उम्मेदवार नभएमा) को व्यवस्था निर्वाचन आयोगले गर्नुपर्छ । आउनुस्, अब युवा मिली देश बनाऔँ । (सिंह कानुन अध्ययनरत छन्)
००००