![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/achut-mainlai2025-02-11-08-44-24.gif)
सांसद अच्युतप्रसाद मैनालीले वन्यजन्तुपीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ठुलो जनसंख्या वन्यजन्तुको आक्रमणबाट पीडित हुँदै आएकाले यसमा लोककल्याणकारी राज्यको अवधारणाअनुरूप कानुनमा संशोधनको समेत आवश्यक औँल्याए।
बैठकमा उनले भने, ‘दिनहुँजसो सम्मानित यस सदनमा वन्यजन्तु र मानवबिचको द्वन्द्व तथा मानव क्षतिको विषयमा आवाज उठिरहेको छ। बारा, पर्सा, चितवन, बर्दिया जिल्लालगायत देशका विभिन्न भूभागमा वन्यजन्तुको आक्रमणबाट सयौँले ज्यान गुमाउनुपरेको छ। कुल भूभागको ४६ प्रतिशत वनले ओगटेको देशका बहुसंख्यक नागरिक वनको वरिपरी बस्ने, घाँसदाउरा तथा चौपाया चरण गरी जीविकोपार्जनका लागि वनमा जानुपर्ने र आवतजावतमा समेत वनमार्गको प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था छ। हालको मौजुदा ऐनमा वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते बनाएमा राहतका लागि अनिवार्य अपांगता प्रमाणपत्र लिनुपर्ने व्यवस्था,गैँडाले घरपालुवा जनावरलाई पुर्याएको क्षतिको राहतको व्यवस्था नभएको र वन सीमामा भएको मानव क्षतिको राहतको व्यवस्था नभएकोले लोककल्याणकारी राज्यको अवधारणाअनुरूप कानुनमा आवश्यक परिमार्जन गरी पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षणसहित जोडदार माग गर्दछु।’