१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ७ सोमबार
  • Saturday, 28 September, 2024
२o७८ चैत ७ सोमबार १७:१५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनावी गठबन्धनबारे लचिलो बन्दै कांग्रेसको इतर समूह, तल्लो तहबाटै निर्णयको पक्षमा 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ७ सोमबार १७:१५:oo


नेपाली कांग्रेसको संस्थापन इतरसमूह स्थानीय तहमा आवश्यकताअनुसार गठबन्धन गर्न सकिने पक्षमा देखिएको छ। गठबन्धनको विपक्षमा रहेको इतरसमूह लचिलो बन्दै स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्नु उपयुक्त हुने पक्षमा देखिएको हो। 

यसअघि कुनै पनि निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा रहेको इतरसमूहले सार्वजनिक अभिव्यक्तिमार्फत नै आवश्यकताअनुसार गठबन्धनको पक्षमा देखिएको हो। आइतबार इतरसमूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा स्थानीय समितिले नै आवश्यकताअनुसार गठबन्धनको निर्णय गर्न पाउनुपर्ने अभिव्यक्ति दिए। 

मोरङको सुन्दर हरैँचामा आयोजित कार्यक्रममा कोइरालाले गठबन्धनबारे पार्टीभित्र फरक मत रहेको र कम्युनिस्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लड्नुभन्दा कांग्रेसभित्रै बलियो एकता गरेर जाँदा फाइदा हुने बताएका थिए। ‘केन्द्रले निर्णय गरेर लाद्नुभन्दा कहाँ गठबन्धन गर्ने कुरा पार्टीको स्थानीय तहकै जिम्मामा छाड्नुपर्छ,’उनको भनाइ थियो,‘कांग्रेस र कम्युनिस्टमा धेरै फरक छ। गठबन्धन गरे पनि कम्युनिस्टले कांग्रेसलाई भोट दिँदैनन्। कम्युनिस्टसँग मिलेर चुनाव लड्नुभन्दा कांग्रेस–कांग्रेस मिलेर चुनाव लड्यो भने बरु जितिन्छ।’

इतरसमूहका नेताहरू पछिल्लो समय शंकासहित गठबन्धनको पक्षमा देखिएका छन्। उनीहरू केन्द्रबाट एकमुष्ठ तालमेलको निर्णय गर्दा कांग्रेसलाई मत नआउने अवस्था रहने भएकाले स्थानीय आवश्यकतालाई हेरेर निर्णय लिनुपर्ने पक्षमा देखिन्छन्। 

कोइरालाले सत्ता साझेदार दलका नेताहरूलाई भेटेर कांग्रेस कुनै पनि तहको निर्वाचनमा गठबन्धनको पक्षमा नरहेको बताएका थिए। ‘गठबन्धन गर्दा कांग्रेसलाई कुनै फाइदा छैन। कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैनन्। निर्वाचनबाहेक सरकार सञ्चालनमा गठबन्धनलाई निरन्तरता दिन सकिन्छ,’ शेखरले गत २७ माघमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भनेका थिए। 

तर, पछिल्लो समय कोइराला पनि स्थानीय तहको निर्वाचनमा गठबन्धनको अधिकार स्थानीय तहलाई नै दिनुपर्ने भन्दै गठबन्धनको पक्षमा लचिलो बन्दै गएको इतरसमूहका नेताहरू नै बताउँछन्। ‘स्थानीय तहमा गठबन्धन गर्नु नै सबै हिसाबले बुद्धिमतापूर्ण हुन्छ भन्ने नेताहरूको सुझाबपछि उहाँ सकारात्मक हुनुभएको हो,’ एक नेताले नयाँ पत्रिकासँग भने।

इतरसमूहका नेता डा.मीनेन्द्र रिजाल विगतलाई पनि हेरेर स्थानीय आवश्यकता र कांग्रेसलाई हुने फाइदाका आधारमा यसबारे निर्णय लिनुपर्ने बताउँछन्। ‘विगतमा पनि चितवन (गत निर्वाचनमा भरतपुर नगरपालिकामा) भएको गठबन्धनको निर्णय गर्दा सभापतिज्यूले अझै गाली खाइरहनुपरेको अवस्था छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘निर्वाचनमा भोट नहाल्ने अवस्था पनि आउन सक्छ, त्यसकारण सम्बन्धित तहलाई नै यसबारेको जानकारी हुने भएकाले स्थानीय आवश्यकताअनुसार निर्णयको अधिकार तल्लो तहलाई नै दिनुपर्छ।’ 

रिजाल महानगरपालिकाबाहेक स्थानीय तहमा टिकटको निर्णय स्थानीय तहमै हुने विधानको व्यवस्थाका कारणले केन्द्रबाट गठबन्धनबारे निर्णय हुन नसक्ने बताँउछन्। ‘महानगरबाहेक स्थानीय तहको टिकटको निर्णय स्थानीय तहमै हुने विधानको व्यवस्थाका कारणले पनि, केन्द्रीय तहमै गठबन्धन बनाउने निर्णय गर्न सम्भव छैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘त्यसैले यसबारे केन्द्रले निर्णय गरेर दुर्घटना निम्त्याउनुहुँदैन। भइरहेको गठबन्धन पनि बिग्रने अवस्था आउन दिनुहुँदैन। जिम्मेवारीपूर्वक निर्णय लिनुपर्छ।’

‘तल्लो तहको तालमेल प्रदेश र संघीय निर्वाचनको लागि गठबन्धनको आधार’
इतरसमूहका नेता चन्द्र भण्डारी स्थानीय तहको विषयमा आवश्यकता हेरेर निर्णय लिने अधिकार स्थानीय तहलाई नै दिनुपर्ने बताउँछन्। केन्द्रबाटै गठबन्धनको निर्णय गरे प्रत्युत्पादक हुने उनको भनाइ छ।

‘विधानले पनि स्थानीय तहको उम्मेदवार छनोटको जिम्मेवारी केन्द्रलाई दिएको छैन। जसकारण यस विषयमा केन्द्रले निर्णय गरेर हुँदैन। त्यो प्रत्युत्पादक हुन्छ,’ उनी भन्छन्। 

उनी विगतमा गठबन्धन गरेर जाँदा कांग्रेसलाई अरू पार्टीले भोट हाल्दैनन् कि भन्ने शंका पनि देखिएकाले यसबारे नेतृत्वले सोच्नुपर्ने बताउँछन्। ‘पार्टीको निर्णयामा अहिले केही व्यक्तिको हालिमुहाली मात्र देखिएको छ। पार्टींमा सबै विषयमा छलफल हुनुपर्छ र नेतृत्वले समेटेर लैजानुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘चितवनमा भरतपुर महानगरपालिकाको उदाहरण पनि छ। अन्तका उदाहरण पनि छन्। त्यस हिसाबले हुनै सक्दैन भन्ने होइन। भोलि त्यो अवस्था आउन दिनुहुँदैन भन्न खोजिएको हो।‘  

उनी स्थानीय तहबाहेक प्रदेश र राष्ट्रिय निर्वाचनको विषय पनि तल्लो तहमा के हुन्छ भन्ने विषयले अर्थ राख्ने बताउँछन्। ‘तल्लो तहबाटै मिलाउँदै जानु आवश्यक छ। तल्लो तहबाट मिलाउँदै लगेपछि अरू विषय पनि मिल्छ। त्यो समय आएपछि भन्न सकिन्छ। एकैचोटी ठूलो भारी बोक्नु आवश्यक छैन।’

देउवाको निर्देशनः गठबन्धन मुलुक र पार्टी हितमा छ, नचिढ्याउनू
फागुन २९ बाट जारी कांग्रेसको एकमहिने चुनावी अभियानका क्रममा सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धनलाई असर पर्ने गरी कुनै अभिव्यक्ति नदिन निर्देशन दिएका थिए। देउवाको निर्देशनपछि गठबन्धनका विषयमा इतरसमूह मौन रहँदै आएको थियो। 

सभापति देउवाले पार्टीका औपचारिक–अनौपचारिक बैठक एवं छलफलमा गठबन्धनमा आबद्ध दलहरूप्रति नकारात्मक टिप्पणी नगर्न नेताहरूलाई सचेत गराउँदै आएका छन्। ‘हामीले गठबन्धनलाई असर पर्ने कुनै पनि गतिविधि गर्नुहुँदैन। गठबन्धन मुलुकको हित र हाम्रो पार्टी स्वयंका लागि पनि आवश्यक छ। त्यसैले हाम्रो बोलीले गठबन्धनका साथीहरूलाई अनावश्यक चिढ्याउने काम गर्नु हुँदैन। पार्टी एक राख्नु पनि गठबन्धन कायम राख्नुपर्छ,’ सभापति देउवाले भन्दै आएका छन्। 

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत गठबन्धनबारे निर्णय भइनसकेको बताउँछन्। ‘सत्तागठबन्धन दलहरूबीच निर्वाचनमा तालमेल हुने निश्चित छैन। गठबन्धनका अरू दलले पनि यसबारे निर्णय गर्लान्। कांग्रेसलाई के गर्दा फाइदा हुन्छ, त्याे हेरेर समय आएपछि निर्णय गर्नेछौँ,’ प्रवक्ता महत भन्छन्।