पाँच वर्षदेखि विश्वकै ठूलो अनलाइन सपिङ प्लेटफर्म अमेजनमा सिनियर पोस्टमा काम गर्दै आइरहेकी आँचल कुँवरले अमेजनको लोभलाग्दो जागिर छाडेर डेढ महिनादेखि दराज नेपालको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आइरहेकी छिन् । नेपालमा आइएस्सी पढेर अमेरिका छिरेकी आँचलसँग अमेजन, कार्लसन वागेनलिट ट्राभललगायतका कम्पनीमा १३ वर्ष काम गरेको अनुभव छ । करिब एक वर्ष अमेजनको ग्लोबल एक्स्पान्सनमा सिनियर प्रोग्राम म्यानेजर भएर काम गरेकी उनको काँधमा अहिले नेपालमा भर्खर हुर्किंदै गरेको इ–कमर्सलाई उचाइमा पुर्याउन गरिरहेको कामको विषयमा नयाँ पत्रिकाकर्मी नवीन अर्यालले गरेको कुराकानी :
अनलाइन सपिङ प्लेटफर्म दराज नेपालको प्रबन्ध निर्देशकका रूपमा जिम्मेरी सम्हालेको डेढ महिनामा नेपालमा इ–कमर्सको अवस्था कस्तो पाउनुभयो ?
नेपालमा इ–कमर्स भर्खर सुरुवाती फेजमै छ । कोभिडले धेरैलाई अनलाइनबाट सपिङ गर्न त सिकायो, तर अझै धेरैलाई अनलाइन सपिङको ज्ञान कम छ । अनलाइनबाट कसरी अर्डर गर्ने ? कसरी पैसा तिर्ने ? सामान कसरी आउँछ ? कति दिनमा आइपुग्छ ? सामान चित्त बुझेन भने फिर्ता गर्न मिल्छ कि मिल्दैन ? भन्ने विषयमा ग्राहकहरू अझै अलमलमै छन् । उपभोक्ता मात्र होइन कि विक्रेता पनि अझै अभ्यस्त भइसकेका छैनन् ।
दराजको जिम्मेवारी सम्हालेपछि क्रेता र विक्रेतालाई नजिकबाट बुझ्न कोसिस गरिरहेकी छु । नेपाली उपभोक्ताहरू जे कुरा पनि चाँडै ग्रहण गर्न सक्ने धेरै स्मार्ट पाएँ । पहिला ग्राहकले अनलाइन अर्डर र पेमेन्ट गर्न जान्दैनथे । अहिले हरेक पसलमा बार कोड देखिन्छ । ग्राहकले खल्तीबाट पैसा झिकेर होइन कि मोबाइलबाट स्क्यान गरेर पैसा तिर्न थालेका छन् । मान्छेले क्यास नै बोक्न कम गरिसके । दराजकै कुरा गर्दा, एक वर्षअघि १० प्रतिशत मात्र इ–पेमेन्ट हुन्थ्यो भने अहिले ५० प्रतिशत पुगेको छ ।
कोभिडको समय इ–कमर्सका लागि कोसेढुंगा नै बनिदिएको हो ?
मानव जीवन र अर्थतन्त्रका लागि कोभिड अभिशाप नै बन्यो । तर, इ–कमर्सका लागि भने कोसेढुंगा बनिदियो । नेपालमा मात्र होइन, विश्वभरि नै इ–कमर्स फस्टायो । यही वेला विश्वका ठूला इ–कमर्सले राम्रो गरे । कोभिडमा मान्छेलाई ज्यान जोगाउनु थियो । सामाजिक दूरी कायम गर्न घरभित्रै थुनिएर बस्नुपर्ने हुन्थ्यो । सोही कारण पनि घरबाटै सामान अर्डर र पेमेन्ट गर्ने बानी बस्न थाल्यो । दराजले दुई वर्षअघिको व्यापारको भोल्युमको अनुपातमा कोभिडकै बीचमा धेरै ठूलो फड्को मार्यो । यो वेला दराजको शतप्रतिशत मार्केट ग्रोथ भयो । अर्डर उच्च भएपछि हामीले पनि त्यहीअनुसार सिस्टम अपडेट बनाउनुपर्यो । कर्मचारीको संख्या बढाउनुपर्यो । हामी काठमाडौं उपत्यकामा मात्र केन्द्रित छैनौँ । देशका ४७ सहरमा डेलिभरी गर्छौँ । दराजको उपत्यका र बाहिर बजार हिस्सा ५०–५० प्रतिशत छ । यस वर्ष ९० भन्दा बढी सहरमा सेवा विस्तार गर्ने योजना छ ।
विश्वकै सबैभन्दा ठूलो इ–कमर्स अमेजनमा काम गर्दै हुनुहुन्थ्यो । किन नेपाल आएर दराजमै काम गर्ने निर्णय गर्नुभयो ?
म नेपालमा आइएस्सी सकेर अमेरिका गएकी हुँ । अमेजनमा काम गरेको पनि साढे पाँच वर्ष भएको थियो । मैले आफ्नो करिअरमा पनि ‘ह्वाट नेक्स्ट’ भनेर सोचिरहेकी थिएँ । अमेजनमा काम राम्रो भइरहेको थियो । तैपनि, मलाई के नपुगेको, केही गर्न नपाएको अनुभव भइरहेको थियो । यही सिलसिलामा दराजको हेड अफिस सिंगापुरबाट सिइओले दराजमा काम गर्न अफर गर्नुभयो । मलाई पनि कम्पनीको भिजन र मिसन मन पर्यो । आफ्नो देशमा विदेशमा सिकेको कुरा लागू गर्न पाउनु राम्रो हो भन्ने लाग्यो । अनि नेपाल फर्किने निर्णय गरेँ । म खुसी छु । हाम्रो टिम पनि स्मार्ट छ ।
तपाईंसँग अमेजन, कार्लसन वागेनलिट ट्राभलजस्ता कम्पनीको सिनियर लेभलमा काम गरेको अनुभव छ । स्विडेन, पोल्यान्ड, साउदी अरब र इजिप्टजस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गर्न भूमिका खेल्नुभयो । अब नेपालको इ–कमर्सको विकासमा कसरी योगदान गर्न सक्छु भन्ने लाग्यो ?
हरेक देशको काम गर्ने शैली फरक हुन्छ । ग्राहकको रुचि फरक हुन्छ । अमेरिकामा काम गरिरहेको मान्छे ग्लोबल एक्स्पान्सनमा जाँदा अलिक फरकपन र चुनौती पक्कै थियो । स्विडेन र पोल्यान्डबीच पनि धेरै फरक छ । तिनको आफ्नै कानुन हुन्छ, आफ्नै संस्कृति हुन्छ । हाम्रो बिजनेस ग्रहण गर्न समय लाग्छ ।
मैले अमेजनको ग्लोबल एक्स्पान्सनमा सिकेको ‘मोर द टेक्निक, मोर द प्रोसेस’ हो । इ–कमर्स बिजनेसमा ग्राहक केन्द्रित हुनैपर्छ । अमेजन एकदमै कस्टोमर सेन्ट्रिक कम्पनी हो । मैले अमेजनमा सिकेको ज्ञान–सीप नेपालको इ–कमर्स विकास र विस्तारमा लगाउँदै छु । अमेजनले कुनै ठाउँमा सेवा विस्तार गर्दा डेढ वर्षअघि नै निर्णय गरेर तयारी थाल्थ्यो । त्यहाँको बजारदेखि कानुनी प्रक्रियासम्म अध्ययन हुन्थ्यो । त्यो मुलुकमा प्रतिस्पर्धी को हुन्छ, सेलेक्सन के हुन्छ ? ग्लोबल ब्रान्डका कुन–कुन सामग्री बिक्री गर्न सकिन्छ ? लोकल ब्रान्ड कुन–कुन छन् ? लोकल भेन्डरसँग कसरी डिल गर्ने ? अर्डर र डेलिभरी कसरी गर्ने ? नयाँ वेयरहाउस खोल्नुपर्ने हो कि ? नयाँ टेक्नोलोजी प्रयोग गर्नुपर्ने हो कि ? पेमेन्टमा कानुनी अड्चन छ कि ? त्यो सबै अध्ययन गथ्र्यौँ । त्यही कुरा दराजको सेवा चुस्त बनाउन र देशभरि सेवा विस्तारमा लागू गर्नेछु ।
तपाईंको प्रवेशसँगै दराजले आफूलाई रिब्रान्डिङ पनि गरेको छ । ब्रान्ड परिवर्तन किन आवश्यक थियो ?
कम्पनीको वृत्ति विकास हुँदै गएपछि रिब्रान्डिङ पनि गर्दै जानुपर्छ । दराज पनि पहिला सानो कम्पनी थियो, यसले अहिले एकदमै वृद्धि गरेको छ । दराजले क्षेत्रीयस्तरमै रिब्रान्डिङ गरेको हो, नेपालमा मात्र होइन । कम्पनीलाई जतिसक्दो ग्राहकमैत्री बनाउन रिब्रान्डिङ गरिएको हो ।
नेपालमा अहिले ग्रामीण भेगसम्म पनि प्रविधिको पहुँच पुगिसकेको छ । तर, इ–कमर्समा ज्यादै पछाडि छ । मुलुकभर इ–कमर्सको विस्तारमा के गर्न सकिन्छजस्तो लाग्छ ?
नेपालमा अनलाइन सपिङ विस्तार गर्न पूर्वाधार करिब तयार छ । सहरदेखि गाउँसम्म स्मार्ट फोन र डेटा चलाउने बढ्दै छन् । अनलाइन पेमेन्ट गेटवे पनि सहज बन्दै छ । सूचना प्रविधिदेखि बाटोसम्मको सुविधा बढ्दै छ । इन्टरनेट सर्भिस पनि बढ्दै छ । अझै गाउँ–गाउँमा पुग्नुपर्ने आवश्यकता त छँदै छ । स्मार्ट फोनबाट साइट खोलेर सामान रोजेर अर्डर गर्नुपर्ने हुन्छ । डेटा पनि सस्तो हुनुपर्छ, हुँदै छ पनि । हामीलाई आफ्नो सेवा विस्तार गर्न गाउँ–गाउँसम्म पुग्न प्रविधिले साथ दिएको छ । त्यसैले ४७ सहरबाट यो वर्षभित्रै ९० सहरमा सेवा विस्तार गर्ने आँट गरेको हो । इसेवा, फोनपेलगायतसँग बार कोडबाट पैसा तिर्न सकिन्छ । हामीले पार्टनरसँग मिलेर पेमेन्टको सुविधा उपलब्ध गराएका छौँ ।
दराजलाई नेक्स्ट लेबलमा पुर्याउन के गर्दै हुनुहुन्छ ?
‘म दराजबाटै सामान किन्छु, किनकि दराजको सेवालाई म ट्रस्ट गर्छु’ भन्ने स्थानमा दराजलाई पुर्याउनु छ । विक्रेतालाई पनि दराजसँग काम गर्न चाहना हुने वातावरण बनाउनु छ । मैले दराजसँग सहकार्य गरेँ भने मेरो बिजनेस पनि बढ्छ, देशभरका ग्राहकसँग पुग्न पनि सकिन्छ भन्ने विक्रेतालाई कन्फिडेन्स हुनुपर्छ । क्रेता र विक्रेतालाई दराजप्रति विश्वस्त बनाउनु छ । दराजमा काम गर्ने कर्मचारीहरूले पनि यहाँको वर्किङ कल्चर, टिम, भिजन, मिसन र लिडरसिपप्रति गर्व गर्न लायक बनाउने मेरो लक्ष्य हो । कुनै पनि कम्पनीको उचाइमा ग्राहक, विक्रेता र कर्मचारी महत्वपूर्ण हुन्छन् ।