प्रि–रजिस्ट्रेसनका नाममा जेम्स र रातो बंगला स्कुलले कक्षा १ मा विद्यार्थी भर्ना प्रक्रिया सुरु गरे
शिक्षा मन्त्रालयले आगामी वैशाखमा परीक्षा, नतिजा सार्वजनिक र भर्ना गरी जेठबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । तर, केही निजी विद्यालयले भने चैतमै भर्ना प्रक्रिया सुरु गरेका छन् ।
दीपक शर्मा प्रवक्ता, शिक्षा मन्त्रालय
चैत मसान्तसम्म कुनै कक्षामा पनि भर्ना नगरी पठनपाठन गर्ने र वैशाखमा परीक्षा र भर्ना प्रक्रिया सुरु गर्ने निर्णय भएको हो
जेम्स, रातो बंगलालगायतका निजी विद्यालयले सरकारको निर्णय बेवास्ता गर्दै भर्ना प्रक्रिया सञ्चालन गरेका हुन् । जेम्स स्कुलले प्रि–रजिस्ट्रेसनका नाममा शैक्षिक सत्र २०७९ का लागि कक्षा १ मा भर्ना प्रक्रिया सुरु गरेको छ । ‘इन्टरनेसनल प्राइमरी करिकुलम’लाई समेत जोडेर भर्ना प्रक्रियाको प्रचार गरेको छ । जेम्सले प्रवेश परीक्षासमेत लिइसकेको छ ।
रातो बंगला स्कुलले अनलाइनबाटै फारम भराएको छ । रातो बंगलाले कक्षा १ र अरू कक्षाका लागि वेबसाइटमा फारम राखेर डाउनलोड गरी फारम भरेर इमेल पठाउन सूचना जारी गरेको छ ।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले निजी विद्यालयमा सरकारको उपस्थिति नदेखिएको बताए । ‘कि त सबै विद्यालयलाई भर्नाका लागि खुला गरिदिनुप¥यो, कि सबैलाई रोक्न सक्नुपर्ने हो, सरकारको उपस्थिति देखिएन,’ उनले भने । सक्नेले जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति देखिएको उनले बताए ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले अहिले कक्षा १ वा कुनै पनि कक्षाको भर्ना प्रक्रिया सुरु गर्न नमिल्ने बताए । ‘चैत मसान्तसम्म कुनै कक्षामा पनि भर्ना नगरी पठनपाठन गर्ने र वैशाखमा परीक्षा र भर्ना प्रक्रिया सुरु गर्ने निर्णय भएको हो,’ उनले भने ।
वैशाखको अन्तिममा स्थानीय तहको चुनाव भएको र कतिपय विद्यालय मतदान केन्द्रसमेत रहेकाले त्यसअघि परीक्षा, नतिजा र भर्ना, पुस्तक वितरण गरी चुनावपछि पठनपाठन सुरु गर्न सक्ने सरकारले निर्णय गरी निर्णय गरेको हो । कक्षा १ को भर्ना प्रक्रिया पनि वैशाखमै सुरु गर्नुपर्ने उनको भनाइ छ ।