![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/chunab.2022-03-19-06-31-21.jpeg)
निर्वाचन आयोगले एकै चरणमा हुन लागेको स्थानीय चुनावका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम शुक्रबार स्वीकृत भएको आयोगले जनाएको छ । चुनावसँग सम्बन्धित सम्पूर्ण काम निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।
आयोगको निर्वाचन कार्यतालिकामा ११ र १२ वैशाखमा उम्मेदवारको मनोनयनपत्र दर्ता, १२ वैशाखमै मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने तय भएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय छ ।
यसैगरी, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १५ वैशाखमा मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम स्वीकृत भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
यसैगरी, १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । चुनावसँग सम्बन्धित सम्पूर्ण काम निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।
आयोगले जिल्ला तथा वडाबाट त्रुटि सच्याएर आयोगमा आएको अन्तिम मतदाता नामावलीलाई जाँच गरी संशोधनसहितको अन्तिम मतदाता नामावली र मुख्य निर्वाचन अधिकृतको अन्तिम नामावली १३ चैतमा सार्वजनिक गर्ने गरी तयारी गरेको छ । त्यसैगरी, आयोगले कर्मचारी सरुवा तथा पदस्थापन १५ चैतअगावै गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।
बिहीबार मात्र आयोगले तयार पारेको निर्वाचन आचारसंहिता, २०७८ राजपत्रमा प्रकाशित भएको थियो । आयोगले १५ चैतदेखि निर्वाचन आचारसंहिता लागू गर्ने गरी तयार गरिरहेको छ । आचारसंहितामा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले पेस्की र बेरुजु फस्र्योट गर्नुपर्ने र मनोनयनअगाडि राजीनामा दिनुपर्नेलगायत विषय छन् ।
स्थानीय चुनावका लागि जिल्ला–जिल्लामा शक्तिसन्तुलन बुझ्दै कांग्रेस
१५ चैतसम्म जिल्लाको वस्तुस्थिति बुझ्ने, सँगसँगै उम्मेदवारका आकांक्षी पहिचान गर्ने
कांग्रेसले जिल्लाबाट मगाएको रिपोर्ट
आसन्न स्थानीय तहको निर्वाचनका लागि रणनीति बनाउन कांग्रेसले हरेक जिल्लाको शक्तिसन्तुलन बुझ्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले ७७ वटै जिल्लालाई शुक्रबार परिपत्र गरेर जिल्लाको राजनीतिक वस्तुस्थिति र पार्टीको शक्ति १५ चैतभित्र पठाउन भनेको छ ।
राप्रपाले बनायो चुनावी कार्ययोजना
२८ चैतदेखि घरदैलो अभियान, उम्मेदवार बन्न लोकप्रिय र उच्च नैतिक चरित्र भएको हुनुपर्ने
राप्रपामा वडा तहको उम्मेदवार छनोट सम्बन्धित जिल्ला अध्यक्षको नेतृत्वमा गठित उम्मेदवार छनोट समितिले गर्नेछ । नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी सम्बन्धित प्रदेश अध्यक्षको नेतृत्वमा गठित उम्मेदवार छनोट समितिले निर्णय गर्नेछ । उपमहानगरपालिका, महानगरपालिकाका प्रमुख, उपप्रमुख केन्द्रले छनोट गर्ने राप्रपाको निर्णय छ ।
निर्वाचनलाई उपयोग गरेर जाने विप्लवको प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले स्थानीय तहको निर्वाचनमा भाग लिने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन पार्टी केन्द्रीय कमिटीमा पेस गरेका छन् । शुक्रबारबाट कपिलवस्तुमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रस्तावमा विप्लवले निर्वाचनलाई उपयोग गरेर जानुपर्ने मत राखेका छन् । तर, स्थानीय तह निर्वाचनमा सहभागी हुने वा बहिष्कार गर्ने भन्नेबारे बैठकले निर्णय गर्नेछ ।