माओवादी अध्यक्ष प्रचण्डले आफू र आफ्नो नेतृत्वको पार्टीलाई बदनाम गराउन बारम्बार प्रयास भइरहेको बताएका छन् । बिहीबार लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले अहिले पनि माओवादीलाई बदनाम गर्ने र नेतृत्वमाथि आक्रमण गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।
उनले माओवादी पार्टीलाई पटक–पटक जिरो हुने गरी बदनाम गरिएको जिकिर गरे । साथै, आफूलाई बदनाम गर्नुका साथै भौतिक रूपमा आक्रमण गर्ने प्रयास अहिले पनि जारी रहेकोसमेत दाबी गरे ।
‘नेतृत्वको बदनाम गर्ने, आवश्यक पर्यो भने भौतिक रूपमा आक्रमण गर्ने रणनीति अहिले पनि कायम छ,’ प्रचण्डले भने, ‘पहिलो संविधानसभाको निर्वाचनमा मलाई सिराहामा भौतिक आक्रमण गर्न खोजिएको थियो । त्यसवेला जनमुक्ति सेनाका कमान्डरले बचाए । नत्रभने सिराहामै म मारिने थिएँ । नेतृत्वको बदनाम गर्ने, आवश्यक पर्यो भने भौतिक रूपमा आक्रमण गर्ने रणनीति अहिले पनि कायम छ ।’ उनले युद्धमा जस्तै अहिले पनि घेरा तोडेर अगाडि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिए ।