युक्रेनको राजधानीमा रुसले गरेको आक्रामक हमलाबीच भारतले युक्रेनी राजधानी किभमा रहेको राजदूतावासलाई पोल्यान्डमा सार्ने भएको छ । बिग्रँदो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै पोल्यान्डमा दूतावास सार्ने निर्णय भएको भारतीय विदेश मन्त्रालयले आइतबार जनाएको छ ।
भारतीय दूतावास स्थायी रूपमा नभएर अस्थायी रूपमा पोल्यान्ड सार्ने निर्णय भएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आइतबार रुसी मिसाइल आक्रमणबाट पोल्यान्डको सीमा नजिकैको युक्रेनी सैन्य बेसमा हमला भएको थियो । त्यसक्रममा ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको युक्रेनले जनाएको छ ।
युक्रेनबाट दूतावास सार्ने निर्णय गर्नुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षासम्बन्धी हेर्ने क्याबिनेट कमिटीको बैठक बोलाएका थिए । बैठकमा युक्रेनको सुरक्षास्थिति, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणलगायतका विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
युक्रेनमा रुसी मिसाइल आक्रमणका क्रममा मारिएका भारतीय विद्यार्थी नवीन शेखरप्पाको शव भारत लैजान सबै विकल्प अपनाउने निर्णय पनि बैठकले गरेको छ । भारतले आफ्ना अधिकांश नागरिक युक्रेनबाट बाहिर निकालिसकेको जनाएको छ ।