मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २८ शनिबार
  • Sunday, 05 January, 2025
२o७८ फाल्गुण २८ शनिबार o६:१५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अमेरिकाबाट इमेल आएपछि  सर्वोच्चले मेरो सरकार ढाल्यो : ओली

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २८ शनिबार o६:१५:oo

परमादेशीहरूलाई निर्वाचनबाट ठेगान लगाउने ओलीको चेतावनी 

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अमेरिकाबाट इमेल आएपछि सर्वोच्चले आफ्नो सरकार ढालेको आरोप लगाएका छन् । शुक्रबार पोखरामा एमालेनिकट पत्रकारहरूको संस्था प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले अमेरिकाबाट एक न्यायाधीशलाई आफ्नो सरकार ढाल्न इमेल आएपछि सर्वोच्चबाट परमादेश जारी भएको दाबी गरेका हुन् । 

‘एकजना न्यायाधीशको अभिव्यक्ति हुन्छ, एउटा इमेल आउँछ । अमेरिकाबाटै इमेल आउँछ । केपी ओलीको सरकार ढाल्नु नै थियो । नढाली भएको थिएन, किन ? न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ?’ उनले भने । 

वर्गीय पूर्वाग्रह र विकासविरोधीको षड्यन्त्रको हिस्सेदार भएर न्यायाधीशहरूले आफू नेतृत्वको सरकार ढालेको उनको आरोप छ । परमादेशले संविधानको मजाक उडाएको, जनादेशको खिल्ली उडाएको, जनताको सार्वभौम अधिकार खोसेको र सेटिङमा सबै काम भएको देखाएको पनि उनले बताए । परमादेशीहरूलाई निर्वाचनबाट ठेगान लगाउने पनि ओलीको चेतावनी छ । 

पाँचदलीय गठबन्धन अदालतले जन्माएको गोरुको पाठा 
ओलीले पाँचदलीय सत्तागठबन्धनलाई अदालतले जन्माएको गोरुको पाठाको संज्ञा दिएका छन् । ‘नेपालमा एकपल्ट एकजनाले भनेका थिए– गोरु ब्याउँदैन । तर, नेपालको सर्वोच्च अदालतमा ब्यायो । उहिल्यै ०५२ सालमा भनेका थिए । अहिले गोरु ब्याएन मात्रै होइन, पाँचवटा पाठासमेत पायो,’ उनले भने । आफूहरूले लडेर देशमा नयाँ परिवर्तनसँगै संविधान ल्याएको भए पनि परमादेशले त्यसको खिल्ली उडाएको ओलीको आरोप छ । 

प्रचण्ड र नेपाल ढोकामा बसेर प्रसाद कुर्दै छन्
ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देउवाको ढोका कुरेर बसेको बताए । ‘उनीहरू (प्रचण्ड र नेपाल) अहिले भित्रबाट केही प्रसाद आउँछ कि भनेर ढोकाबाहिर कुरेर बसेका छन् । बुद्धि बिग्रिएर यस्तो अवस्था आएको हो,’ उनले व्यंग्य गरे, ‘कताका जंगेहरू कताका बुंग्रे भए ।’ 

प्रेस चौतारीको महाधिवेशनबाट १७ पदाधिकारीसहित ९९ जनाको केन्द्रीय कमिटी निर्वाचित हुने 
विधान संशोधन गरेर १७ पदाधिकारीसहित ९९ जनाको केन्द्रीय कमिटी चयन गर्न पोखरामा शुक्रबारदेखि सुरु प्रेस चौतारीको नवौँ महाधिवेशन सुरु भएको छ । हाल समितिमा चार सय केन्द्रीय सदस्य छन् । 

देशभरका जिल्ला, सात भूगोल र उपत्यका, एसोसिएट तथा प्रतिष्ठानका तीन गरी १० प्रदेशमा सहमतिमै नेतृत्व चयन गरेकाले महाधिवेशनबाट समेत सहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा चौतारी छ । नयाँ अध्यक्षका लागि हालका अध्यक्ष गणेश बस्नेत र उपाध्यक्ष गणेश पाण्डेसँगै अन्य चारजनाको दाबी छ । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले सञ्चार क्षेत्रलाई राष्ट्र र जनताको हितमा प्रयोग गर्न आग्रह गरेका छन् । सत्यको संवाहक बन्दै राष्ट्र र जनताको हितमा प्रयोग गर्न उनले एमालेनिकट पत्रकारहरूलाई आग्रह गरे । देशको विविधता, एकता, भूमिको रक्षा, भ्रष्टाचार अन्त्य, विकाससँगै भावी सन्तानका लागि उपयुक्त वातावरण सिर्जना गर्ने गरी भूमिका निर्वाह गर्न उनको आग्रह थियो । अहिले पीत पत्रकारिता मौलाएको उनको दाबी थियो । 

कार्यक्रममा शुभकामना दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारहरूलाई मजबुत बनाउने गरी सरकार अघि बढेको बताए । गण्डकीमा सञ्चार विधेयक ल्याउने तयारी सरकारले गरिरहेकोे र ल्याइने विधेयक पत्रकारमैत्री हुने उनको भनाइ छ । उद्घाटनपछि सुरु बन्दसत्रमा महासचिव, कोषाध्यक्षसँगै लेखा समितिको प्रतिवेदन पेस गरेर पारित गरिने तथा शनिबार विधान संशोधनपछि मतदान प्रक्रिया सुरु हुने चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार शनिबारसम्म चल्ने महाधिवेशनमा प्रतिनिधि, सल्लाहकारसहित १२ सय प्रतिनिधि सहभागी छन् । 

११ जना पुरस्कृत 
कार्यक्रममा ११ जना पत्रकारलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको छ । हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार, २०७७ बाट प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र २०७८ बाट अर्का पूर्वअध्यक्ष गगन विष्ट पुरस्कृत भएका छन् । त्यस्तै, अग्निशिखा पत्रकारिता पुरस्कार, २०७७ बाट कृष्णविनोद लम्साल र २०७८ बाट झलक सुवेदीलाई पुरस्कृत गरिएको छ । डेकेन्द्र थापा पत्रकारिता पुरस्कार २०७७ बाट सागर पण्डित र २०७८ बाट हिरा परियार तथा वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार २०७७ बाट केपी गौतम र २०७८ बाट अनुप तिवारी पुरस्कृत भएका छन् । चन्द्र न्यौपाने–शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ, पदम–लक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरस्कार, २०७७ बाट अब्दुल्ला मियाँ र २०७८ बाट शिवराज भट्टलाई पुरस्कृत गरिएको छ ।