नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकपटक देशको नेतृत्व गर्दै सेवा गर्न चाहेको बताएका छन् । नेकपाले शनिबार प्रज्ञा भवनमा आयोजना गरेको ‘ध्रुवीकरण कार्यक्रम’मा उनले क्रान्तिकारीहरूको ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहेको बताए । ‘हामी क्रान्तिकारीहरू पनि देशको नेतृत्व गर्न चाहन्छौँ । एकचोटि यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्ने कुरा हामीले राखेका छौँ ।’
पुस पहिलो साता कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकले ध्रुवीकरण र एकताको निर्णय गरेको र सो अभियान सुरु भएको उनले दाबी गरे । विप्लवले आगामी दिनमा एकताका अभियान बढ्दै जाने पनि बताए ।
‘यो एकता कुनै दरबार खानका लागि होइन, कुनै टी–स्टेट खानका लागि होइन, कुनै जग्गा हिनामिना गर्नका लागि होइन, कुनै मन्त्री भएर यो देशको पैसा विदेशमा पठाउन होइन,’ उनले भने । उनले क्रान्तिकारीहरू एकजुट भएर अगाडि बढनुपर्नेमा जोड दिए । ‘माओवादी सहयात्रीहरू सबै तयार बनौँ । हामी धेरै छौँ, एकजना कमरेडले डायरीमा टिप्नुभएको रहेछ, माओवादी मात्रै १९ वटा भंगालामा छन् भन्ने कुरा उहाँले सुनाउँदै हुनुहुन्थ्यो । हामी एक हुनुपर्छ । नेपाललाई समाजवादतिर लैजाने सपना मर्न दिनुहुँदैन,’ उनले भने ।
नेपाली नेताले विदेशमा टनाटन पैसा पठाएको आरोप पनि विप्लवले लगाए । विदेशीसँग भिख मागेर बाँच्नुपर्ने व्यवस्था फाल्नुपर्नेमा उनले जोड दिए । हालको व्यवस्था अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्दै भिख माग्ने प्रथा अन्त्य गर्नुपर्ने उनले बताए ।
‘नेपाल गरिब छ भनेर विभिन्न अन्तर्राष्ट्रिय फोरममा भाषण गर्ने, युवालाई विदेश लखेट्ने र विदेशीसामु नेपालीलाई केही पनि नभएका नागरिक भनेर चिनाउने गरिएको छ । त्यस्तो केही होइन । नेपालीसँग आफ्नै घर छ, आफ्नै खेतबारी छ । अरू युरोपियन, अमेरिकन, पूर्वी एसियाका मान्छेसँग यति पनि छैन । नेपालले गर्न सके भिख माग्नुपर्ने अवस्था अन्त्य हुन्छ,’ उनले भने ।