परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसँगको नाका खुलाउने विषयमा छलफल भएको बताएका छन्। परराष्ट्रमन्त्री खड्काले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै नाका छिट्टै खुल्ने विश्वाससमेत व्यक्त गरे।
चीनका विदेशमन्त्री वाङसँग सो नाका खुलाउनका लागि करिब १ घण्टा टेलिफोन संवाद आफूले गरेको उल्लेख गर्दै उनले दुवै देशको हितका लागि पनि सो नाका खुलाउन ढिलाइ गर्न नहुने बताए।
‘उत्तरी नाका खोल्न पहल गरिराखेका छौँ। चीनका विदेशमन्त्री वाङसँग सोही माग राखेर एक घण्टा टेलिफोन वार्ता गरिएको छ। चिनियाँ राजदूतसँग पनि सो नाका खोल्ने विषयमा कुराकानी भएका छन्। दुवै देशको हितमा भएकाले सो नाका छिट्टै खुल्ने विश्वास लिएका छौँ,’ खड्काले भने।
उनले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुनेसमेत बताए। विदेशबाट छिट्टै राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण हुने खड्काले जानकारी दिए।
तर भ्रमण कसको हुने भन्ने कुरा चाहिँ समय आएपछि मात्रै जानकारी गराउने उनको भनाइ थियो। मन्त्री खड्काले खास समय आएपछि सो उच्चस्तरीय भ्रमणबारे पत्रकारहरूलाई आफूले जानकारी गराउने पनि स्पष्ट पारे।
मन्त्री खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्व शान्ति खल्बल्याउने बताए। उनले ठूला र साना देशको सम्बन्ध पनि खल्बलिने भएकाले नेपालले असंलग्न परराष्ट्र नीतिमै अडिएर त्यस सम्बन्धमा वक्तव्य निकालेको दाबीसमेत गरे। युक्रेनको पक्षमा नेपाल सरकारले वक्तव्य निकालेको भन्ने प्रचार भइरहेका वेला मन्त्री खड्काले मुलुकको परराष्ट्र नीति, सबै राष्ट्रहरूको सार्वभौमिकता र संयुक्त राष्ट्रसंघको बडापत्रको समेत सम्मान गर्दै नेपाल सरकारले सो सम्बन्धमा वक्तव्य जारी गरेको स्पष्ट पारे।
सार्वभौमिकताको सम्मान हुनुपर्छ भन्ने मान्यता, संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनलाई समेत सम्मान गर्दै वक्तव्य निकालिएको उनले बताए।
परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रिक्त रहेका राजदूतहरूको नियुक्तिमा ढिलाइ नहुने बताएको छ। मन्त्री खड्काले विभिन्न देशमा रिक्त रहेका राजदूतहरूको नियुक्ति छिटोभन्दा छिटो हुने बताए। उनले एमसिसी वा सत्तागठबन्धनका कारण राजदूत नियुक्तिहरूमा ढिलाइ भएको स्वीकार गर्दै अब त्यसो नहुने प्रतिबद्धता जनाए।
मन्त्री खड्काले संयुक्त राष्ट्रसंघसँगको सम्बन्धलाई अझ सुदृढ बनाएको, ५३३ जना नेपालीलाई युक्रेनबाट अन्य मुलुकमा पठाएको, नेपालले पनि विपत्तिमा परेका वेला अन्य राष्ट्रहरूलाई सहयोग गर्न सक्छ भन्ने उदाहरण अफगानिस्तानमा राहत सामग्री पठाएर पुष्टि गरेकोलगायतका कार्यहरू आफ्नो कार्यकालमा भएको पनि बताए।