नेपालमै पहिलोपटक पर्वतमा सिसैसिसाको आकाशे पुल (स्काई ब्रिज) सञ्चालनमा आएको छ । पर्वतको कुश्माबजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काई ब्रिज सोमबारदेखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे ।
उद्घाटनका क्रममा अध्यक्ष तिमिल्सिनाले कालीगण्डकी नदी कुनै वेला बलेवा र कुश्मावासीहरूका लागि अभिशाप बनेको भए पनि अहिले बरदान साबित भएको बताए । उनले कालीगण्डकी खोजमा बनेका र बन्दै गरेका साहसिक पर्यटकीय खेलहरूले अहिले पर्वत जिल्लाको मात्रै नभई समग्र नेपाल साहसिक खेलको गन्तव्यका रूपमा विकास हुँदै गएको बताए ।
हार्नेस जिपलाइन प्रालि कुस्माले टिकटक पारखीहरूका लागि लक्षित गरेर मुलुकमै पहिलोपटक स्काई ब्रिज निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए । कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई सय ५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भिरको दृश्य छर्लंग देखिन्छ । तल हेरेर डर र आनन्द दुवै लिन सक्ने गरि पुल बनेको छ ।
एकैपटकमा सयजनासम्मले स्काई ब्रिजको मज्जा लिन सक्ने बस्नेतले जानकारी दिए । पुल ३५ फिट लामो र ११ फिट चौडा छ । हार्नेस प्रालिले कुश्माबजारमा नै पहिलोपटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन पनि सञ्चालनमा ल्याएको छ ।