
विभागीय टिम नेपाल पुलिसविरुद्ध कठिन जित निकाल्दै संकटा क्लब झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । संकटाले पुलिसविरुद्ध १–० गोलले जित निकालेको हो । संकटाको जितका लागि खेलको ६५औँ मिनेटमा उत्तम राईले गोल गरे । डिबक्सभित्र संकटाका विदेशी खेलाडी फोडे फोफोनाको क्रसलाई अनमार्क रहेका राईले हेडमार्फत उत्कृष्ट फिनिसिङ गरे । राईको यो गोल नै संकटाको जितका लागि पर्याप्त भयो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबारको खेल निकै प्रतिस्पर्धात्मक बन्यो । खेलको अधिकांश समय पुलिसले बल नियन्त्रणमा लिए पनि गोल भने गर्न सकेन । पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलेका थिए । दोस्रो हाफमा पुलिसले रणनीति परिवर्तन गर्दै आक्रामक खेल खेल्यो । तर, उसले डिफेन्स गुमाउँदा संकटाले गोल गर्ने अवसर पायो । संकटाको गोलपछि पुलिसले खेलमा फर्कन निकै प्रयास गर्यो । तर, सफल हुन सकेन ।
पुलिसका कप्तान जुमानु राईले लगातार गोल गर्ने तीनवटा अवसर गुमाउँदा पुलिसले संकटासँग झिनोअन्तरले हार व्यहोर्नुपर्यो । ५०औँ मिनेटमा जुमानुको ‘वान भर्सेस वान’को प्रहार संकटाका गोलरक्षक रोहित कार्कीले सहजै नियन्त्रणमा लिए । ५४औँ मिनेटमा जुमानुले डिबक्सबाट गरेको प्रहार आफ्नै खुट्टामा ठोकिएर बारनजिकैबाट बाहिरियो । लगत्तै ६१औँ मिनेटमा पुलिसका सौरभ राईको हेडरलाई जुमानुले पोस्टको दिशा दिन सकेनन् । खेलमा पुलिसले पाएको केही उत्कृष्ट अवसर चुकाउन पुग्यो । २४औँ मिनेटमा पुलिसका सन्तोष हेमरमले दिएको पासलाई रविशंकर पासवानको हेडर पोस्टनजिकैबाट बाहिरियो । २६औँ मिनेटमा सौजन राईको फ्रिकिक विपक्षी संकटाका गोलरक्षक रोहित कार्कीले विफल बनाइदिए ।
पुलिसविरुद्ध कठिन जित निकालेको संकटा दोस्रो हाफको सुरुवाती समयमा लय गुमाउन पुगेको थियो । तर, संकटा तत्कालै सम्हालिन पुग्यो । पहिलो हाफमा बराबरी खेलेको संकटाले दोस्रो हाफमा भने १–० को अन्तर बनायो । उसले खेलमा दर्जनभन्दा बढी अवसरलाई सदुपयोग गर्न सकेन । खेलको २२औँ मिनेटका संकटाका उत्तम राईले डिबक्सबाट प्रहार गरेको बल पुलिसको बारनजिकैबाट बाहिरियो । ८३औँ मिनेटमा संकटाका गणेश हमालको प्रहार पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठले सहजै नियन्त्रणमा लिए । ८५औँ मिनेटमा संकटाका विदेशी खेलाडी फोडे फोफोनाले डिबक्सबाट गरेको प्रहार विपक्षी गोल रक्षकले पन्च गरेर बाहिर पठाए ।
केही समयअघि सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा पनि संकटाले पुलिसविरुद्ध १–० को गोलअन्तरले जित निकालेको थियो । लिगपछिको पहिलो भेटमा पनि संकटाले पुलिसविरुद्ध लिगकै नतिजा दोहोर्याएको हो ।
फोडे फोफोना म्यान अफ द म्याच
संकटाको गोलका लागि उत्कृष्ट प्रदर्शन गर्ने फोडे फोफोना खेलको म्याद अफ द म्याच भए । उनले नगद नौ हजार नौ सय ९९ रुपैयाँ प्राप्त गरे । सोमबारको क्वार्टरफाइनल खेल सातदोबाटो युथ क्लब र विभागीय टिम एपिएफबीच हुनेछन् । सातदोबाटोले जावलाखेल युथ क्लबलाई हराएर क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । एपिएफ भने सोझै ‘बाई’ पाएर क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खेलाडीले उत्कृष्ट प्रदर्शन गरे
सल्यान खड्गी प्रशिक्षक संकटा क्लब
खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे । हामीले जुन रणनीति बनाएर आएका थियौँ त्यसमा सबैले मिहिनेत गर्यौँ । जितको मुख्य स्रोत नै हाम्रो मिहिनेत हो । आजको खेलमा पनि हाम्रो केही कमीकमजोरी रह्यो । यसलाई आगामी दिनमा सुधार गरेर खेल्नेछौँ । हाम्रा सबै खेलाडी उत्कृष्ट छन् ।
पाएको धेरै अवसर गुमायौँ
अनन्तराज थापा प्रशिक्षक, नेपाल पुलिस क्लब
खेल हाम्रै कन्ट्रोलमा थियो । तर, खेल जित्न गोल नै चाहिन्छ । हामीले गोल गर्न सकेनौँ । हामीले धेरै अवसर गुमायौँ । त्यो हाम्रा लागि दुर्भाग्य भयो । गोल लाइनबाट पनि हामीले गोल गर्न सकेनौँ । फिनिसिङ गर्न चुक्दा नतिजा विपक्षीलाई सुम्पनुप¥यो । खेलमा राम्रो मुभ बनाए पनि गोल गर्न सकेनौँ । एउटा खेलमा चार–पाँचवटा मौका कमै पाइन्छ । पहिलो हाफमै रविको ओपन हेड मिस भयो । दोस्रो हाफमा जुमानुले तीनवटा मौका मिस गरे ।