मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
२o८१ चैत १ शुक्रबार १o:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

फोहोर पुनः प्रयोग गर्दै चन्दननाथ नगरपालिका

प्लास्टिक र सिसाजन्य वस्तु पुनः प्रयोग गरी बिम निर्माण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १o:४२:oo

चन्दननाथ नगरपालिकाले फोहोरजन्य वस्तुलाई पुनः प्रयोगमा ल्याएर मोहोरमा बदल्ने काम सञ्चालन गरेको छ । नगरभित्र संकलित प्लास्टिक र सिसाजन्य फोहोर व्यवस्थापन गर्न पुनः प्रयोग केन्द्र स्थापना गरी मोहोरमा बदल्ने काम गरेको हो । नगरपालिकाले सिसा र प्लास्टिकजन्य फोहोरको वास्तविक अवस्था अध्ययन गर्न ०८१ पुस १४–१८ गतेसम्म सर्वेक्षण सञ्चालन गरेको थियो ।

प्रारम्भिक प्रतिवेदनका आधारमा नगरका होटेल, कार्यालय, स्वास्थ्य संस्था, व्यावसायिक स्थल, धार्मिक स्थल, विद्यालय र घरधुरी गरी १६० वटा स्थानबाट फोहोर संकलन गरिएको थियो । तथ्यांकअनुसार नगरका कुल फोहोरमध्ये ७९ प्रतिशत घरधुरीबाट, नाै प्रतिशत स्वास्थ्य संस्थाबाट, सात प्रतिशत धार्मिक स्थलबाट र पाँच प्रतिशत व्यापारिक क्षेत्रबाट फोहोर निस्कने गरेको देखिएको छ । 

नगरपालिकाको सहरी क्षेत्रमा रहेका घरधुरीबाट दैनिक औसत एक केजी फोहोर उत्पादन हुने तथ्य फेला परेको छ । दैनिक ६ देखि आठ टन फोहोर उत्पादन हुने नगरपालिकामा १६ प्रतिशत फोहोर प्लास्टिकजन्य रहेको छ । नगरपालिकाले वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र प्लास्टिक र सिसाजन्य वस्तु पुनः प्रयोग गर्नका लागि आठ लाख ९८ हजार ३५० रुपैयाँ लागतमा उपकरण खरिद गरेको हो । गएको पुस पहिलो साता अपरेटर तालिम प्रदान गरिएको थियो । तालिमपश्चात् दुईजना अपरेटरले नियमित रूपमा उपकरण सञ्चालन ल्याएका छन् ।

नगरभित्रको फोहोर व्यवस्थापन गर्न निकै कठिनाइ भोग्नुपरेको थियो ।  नगरमा बढ्दै गएको फोहोरको उचित व्यवस्थापन गर्न विभिन्न ठाउँमा धाउनुपरेको अवस्थामा महावीर पुनसँगको परामर्शपछि प्लास्टिक टुक्य्राउने मेसिन जुम्लामा ल्याउन सफल भएको नगर प्रमुख राजुसिंह कठायतले बताए । उनले भने, ‘नगरवासीलाई फोहोरलाई वर्गीकरण गरी व्यवस्थापन गर्न आग्रह गर्दै घरभित्रका फोहोरलाई बाहिर निकाल्न र नगरपालिकाले त्यसलाई उपयोग गर्ने योजना बनाएको छ ।’

प्लास्टिकजन्य फोहोरलाई कम्प्याक्ट बिम बनाएर थोरै ठाउँमा राख्न सकिनेछ भने फर्निचर तथा अन्य पुनः प्रयोगयोग्य सामग्री बनाउन सकिनेछ । प्लास्टिकजन्य फोहोरबाट हुने वातावरणीय प्रदूषणका विषयमा नगरवासीलाई सचेत बनाउने लक्ष्य रहेको नगर उपप्रमुख रामदेवी खड्काले बताइन् ।उपकरण सञ्चालनमा केही चुनौती पनि देखिएका छन् । उपकरण सञ्चालन तथा मर्मत खर्चिलो छ । मर्मतका आवश्यक सामग्री जिल्लाबाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । उनले भने, ‘जनशक्ति र आधारभूत पूर्वाधारको अभाव रहेको छ ।’ 

फोहोरमैला व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले नगरपालिकाले फोहोर व्यवस्थापनमा ठुलो लगानी गरे पनि राजस्व संकलनमा चुनौती रहेको बताए । उनले भने, ‘नगरपालिकाले लगानी र सेवा प्रभावकारी बनाइरहे पनि उठ्नुपर्ने राजस्व संकलन गर्न कठिनाइ भइरहेको छ ।’ प्लास्टिक र सिसाजन्य फोहोरको संकलन र व्यवस्थापनलाई व्यवस्थित गर्न विशेष कार्यविधि आवश्यक रहेको उनकाे भनाइ छ । फोहोर व्यवस्थापनमा हालसम्म चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्ष ०८१/८२  को फागुन २७ गतेसम्म दुई लाख ५१ हजार ६ सय राजस्व संकलन गरेको छ ।

नगरपालिकाले प्लास्टिकजन्य फोहोर न्यूनीकरण गर्न विभिन्न उपाय अवलम्बन गर्ने योजना बनाएको छ । प्लास्टिक प्रयोग नगर्ने, गरे पनि कम गर्ने परिवारको तथ्यांक संकलन गरी तिनलाई प्रोत्साहन गर्ने, विद्यार्थीलाई प्लास्टिक संकलन गर्न प्रेरित गर्दै प्रतिपाँच केजी प्लास्टिकको विनिमयमा कापी तथा कलम उपलब्ध गराउने, अन्य नागरिकलाई प्रतिकेजी १० रुपैयाँ नगद वा नगरपालिका चिह्नयुक्त उपहार दिने योजना रहेको शाखा प्रमुख न्यौपानेले बताए । 

फोहोर पुनः प्रयोग गरेर प्लास्टिकबाट बेन्च र डेक्स निर्माण गरी सार्वजनिक स्थानमा राख्ने, प्लास्टिक न्यूनीकरण गर्न सचेतना अभियान सञ्चालन गर्ने, प्लास्टिक संकलन कार्यक्रम सञ्चालन गर्ने, ४० माइक्रोनभन्दा कम प्लास्टिकको बिक्री–वितरण र प्रयोगमा पूर्ण रोक लगाउने योजना रहेको छ ।