मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
प्लवासा हसन/सफिका खपालवाक
२o८१ चैत १ शुक्रबार १o:२o:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विश्वले बिर्सिनुहुँदैन अफगान महिलालाई

Read Time : > 2 मिनेट
प्लवासा हसन/सफिका खपालवाक
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १o:२o:oo

अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि औपचारिक रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो । यसपटकको महिला दिवसमा चरम निराशाको भावना र महिला आकांक्षको बाढी प्रतिबिम्बित भयो । महिला अधिकार र प्रतिनिधित्वमा प्रगति रोकिएको छ, संसद्मा महिलाहरूको प्रतिनिधित्व गत वर्ष सबैभन्दा न्यून दरमा बढेको छ भने लैंगिक पहलका लागि प्रदान गरिँदै आएको विश्वव्यापी अनुदानको खाडल झन् फराकिलो बनेको छ । 

धेरै देशहरू प्रगतिको उल्टो बाटोतर्फ बढिरहेका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लैंगिक पहलसहित विदेशी सहायता रोक्का गरिरहँदा सुधारको सम्भावनामा अँध्यारो छाएको छ । यस्ता अवरोध र धक्काको परिणाम अफगानिस्तानका महिला र युवतिहरूले जति सायदै अन्य देशका महिलाले राम्रोसँग बुझ्छन् होला । अफगानिस्तानमा अहिले विश्वमा सबैभन्दा बढी गम्भीर लैंगिक अधिकार उल्लंघन भइरहेका छन् । तैपनि, अफगान महिलाले आशा र आफ्ना उद्देश्य पूरा गर्दै संघर्ष जारी राख्न शक्तिशाली प्रेरणा पनि दिएका छन् । 

उनीहरू विशेषगरी अधिकार, स्वतन्त्रता र अवसरहरूको लाभ लिइरहेका हामीहरूका लागि समेत उत्प्रेरणाका महत्वपूर्ण स्रोत बनेका छन् । अफगान महिलाले लामो समयदेखि कठोर दमनको प्रतिरोध गर्न र यसलाई रोक्न सिर्जनशील उपाय खोज्नुपरेको छ । सन् १९९० को दशकको अन्त्यतिर तालिबानले देशमा पकड बनाए । तालिबानले प्रतिगामी नीति लागू भएपछि पनि महिलाहरूले भूमिगत नै सही विद्यालय, सामुदायिक केन्द्र र स्वास्थ्य क्लिनिक चलाए । 

सन् २०२१ मा तालिबान सत्तामा फर्किएदेखि अफगान महिलाहरूले यस्ता पहललाई पुनः जागृत गरेका छन् । उदाहरणका लागि उनीहरूले देशका विभिन्न स्थानमा महिलालक्षित गोप्य विद्यालय स्थापना गरेका छन् । त्यहाँ केटीहरू (जसलाई अहिले छैटौँ कक्षाभन्दा माथिको शिक्षाबाट वञ्चित गरिएको छ) व्यक्तिगत रूपमा वा अनलाइन उपस्थित हुन सक्छन् । त्यस्ता कक्षाहरूको पहुँच नभएको स्थानमा आमाहरूले प्रायः आफ्ना छोरीलाई घरमै शिक्षा प्रदान गराईरहेका छन् । उनीहरूलाई आवश्यक सामग्रीमा पहुँच पु¥याउन आमाहरूले फोन वा ट्याब्लेट उपलब्ध गराउँछन् । 

घरबाहिर बोल्न निषेध गरिएका कारण महिलाहरूले आफ्ना अनुभव र भावना आदानप्रदान गर्न सामाजिक सञ्जाल र सञ्चार माध्यम प्रयोग गरेका छन् । हिंसाको सामना नगरी शान्तिपूर्ण रूपमा विरोधको समभावना नरहेकाले महिलाहरूले आफ्ना अनुभव चित्रण गर्दै कविता, चित्र र फिल्ममा परिवर्तनको माग गर्दै प्रतिरोधका रचनात्मक स्वरूप अँगालेका छन् । तालिबान दमनको प्रतिरोध गर्न अफगान महिलाहरूको प्रयासको झलक प्रदान गर्ने सहरा मनीको हृदयस्पर्शी वृत्तचित्र ब्रेड एन्ड रोजेजले अन्तर्राष्ट्रिय ख्याति कमाएको छ ।

हामी अफगानिस्तानबाट भागेकाहरू यस अर्थमा भाग्यमानी छौँ कि हामीले नयाँ देशमा हाम्रो जीवन पुनः सुरु गर्ने अवसर पायौँ । हामी आफ्नो व्यक्तिगत सुरक्षा खतरामा पर्ने डरबिना महिला अधिकारको  पक्षमा वकालत गर्न सक्छौँ । तर, ब्रेड एन्ड रोजेजका नायिकाहरू र अन्य अनगिन्ती अफगान महिला कार्यकर्ताले हरेक दिन घातक खतराको सामना गर्छन् । त्यसैले हामीले उनीहरूको कथाहरू सुन्न छोड्नुहुँदैन । यदि हामीले उनीहरूलाई विश्वव्यापी एजेन्डा राखेनौँ भने उनीहरूको साहसको प्रशंसा गर्नु वा उनीहरूको दुर्दशाप्रति सहानुभूति देखाउनुको कुनै अर्थ हुँदैन । त्यसैले, महिलाको स्थितिबारे संयुक्त राष्ट्र संघीय आयोग (सिएसडब्लु)मा अन्तर्राष्ट्रिय समुदायलाई अफगान महिलाहरूलाई समर्थन गर्न तीन महत्वपूर्ण कदम चाल्न आह्वान गर्नेछौँ । 

पहिलो त अफगान शरणार्थीहरूसँग सुरक्षित र स्थायी पुनर्वासका लागि विश्वसनीय र सामयिक विकल्प हुनुपर्छ । तालिबान सत्तामा फर्किएपछि युद्धको समयमा अमेरिकी वा नेटो सेनासँग काम गरेका अफगान नागरिकसहित लाखौँ शरणार्थी छिमेकी पाकिस्तान भागे । त्यहाँ उनीहरूले विगतमा वाचा गरिएको अमेरिकी भिसाका लागि आवेदन दिए । तर, अधिकाशंले पुनर्वासको अवसरका लागि वर्षौंसम्म पर्खिरहेका छन् । यसबिच उनीहरूमध्ये अधिकांशले प्रायः नजरबन्द र उत्पीडनको सामना गरिरहेका छन् । 

पुनर्वास प्रक्रियालाई उचित ढंगले तीव्र पार्नुको सट्टा ट्रम्पले अमेरिकी शरणार्थी प्रवेश कार्यक्रमलाई निलम्बन गरेका छन् । यसले अफगानीहरूलाई पाकिस्तानी सरकारले देशनिकालाको उच्च जोखिममा पारेको छ । र, यो जोखिम कैयौं अफगानीका लागि मृत्युदण्डको सजायबराबर हुनसक्छ । लामो समय अलपत्र पर्दा शरणार्थीमा चरम निराशा उत्पन्न भएको छ । स्थायी पुनर्वासका लागि सुरक्षित स्थानमा एक विश्वसनीय मार्ग सकेसम्म चाँडो स्थापित गरिनुपर्छ । 

दोस्रो, अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानभित्र परिवर्तन ल्याउन आवश्यक पर्ने स्रोत तथा साधन अफगान महिलालाई प्रदान गर्नुपर्छ । अफगान महिलाहरूसँग परिवर्तका लागि आवश्यक दृष्टिकोण, दृढता, अनुभव र प्रतिबद्धता छ । तर, तालिबान सत्तामा फर्किएदेखि दाताहरू उनीहरूलाई समर्थन गर्न डराएका छन् । अफगान महिला नेतृत्वका कार्यक्रमलाई धेरै बढी अनुदान प्रदान गरिनुपर्छ । स्वदेशमा र निर्वासनमा रहेका अफगान महिलाबिचको संवादलाई सहज बनाउने ढंगले कार्यक्रम ल्याइनुपर्छ । 

अन्तमा, महिला र नागरिक समाजलाई बृहत् रूपमा अफगानिस्तानसँग सम्बन्धित कुनै पनि राजनीतिक संवाद वा शान्ति प्रक्रियामा समावेश गरिनुपर्छ । यदि तालिबानले अहिलेजस्तै महिलालाई महत्वपूर्ण क्षेत्रमा स्थान दिन अस्वीकार खोजे भने अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेपकारी कदम चाल्न पहल गर्नुपर्छ । अफगानिस्तानको भविष्य र यस क्षेत्रको स्थिरता यसैमा निर्भर गर्छ । यस वर्षको सिएसडब्लु बैठकले बेइजिङ घोषणापत्र र ‘प्लेटफर्म फर एक्सन’को ३०औँ वार्षिकोत्सव मनाउनेछ, जुन महिला अधिकारलाई अगाडि बढाउन विश्वको सबैभन्दा प्रगतिशील खाका हो । 

तीन दशकअघि यसलाई गठन गर्दा यसमा संलग्न महिलाहरूमा ठुलो आशा थियो कि लैंगिक समानताका लागि लडाइँ एक महत्वपूर्ण मोडमा पुगेको छ । तर, महिला श्रमशक्ति सहभागिता, राजनीतिक प्रतिनिधित्व र वित्तीय समावेशीकरणसहित केही क्षेत्रमा प्रगति भए पनि घोषणाको वाचा अधुरो नै छ । अब मुख्यतया अफगानिस्तानमा नयाँ पुस्ताका महिला कार्यकर्ताको रचनात्मकता, नेतृत्व, ज्ञान र साहसलाई आकर्षित गर्ने उचित समय हो । 

प्रोजेक्ट सिन्डिकेटबाट