
आगामी ७ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मधेश प्रदेश सरकारले कडा निगरानी गर्ने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विगतमा चिट चोरी गर्ने विद्यार्थीलाई कारबाही हुँदै आएकोमा यसपटकदेखि कक्षाकोठामा चिट, फ्लेप्स, मोबाइललगायत सामग्री फेला परे ड्युटीमा खटिने शिक्षक र निरीक्षकमाथि नै कारबाही हुने जानकारी दिए ।
परीक्षालाई अमर्यादित बनाउनेहरू दण्डित हुने उनले बताए । उनले परीक्षामा गलत गर्नेले कारबाही भोग्नुपर्ने भए पनि राम्रो गर्नेलाई प्रोत्साहित गर्नसमेत सरकार पछि नहट्ने बताए । उत्कृष्ट परीक्षा सञ्चालन गर्ने तीन परीक्षा केन्द्रलाई पुरस्कृत गर्नेसमेत उनले घोषणा गरे । ‘राम्रो गर्नेलाई हौस्याउनुपर्छ भने गलत गर्नेलाई दण्डित गर्नुपर्छ,’ मुख्यमन्त्री सिंहले भने । सोमबार बसेको प्रदेशस्तरीय परीक्षासम्बन्धी कार्यक्रममा आफूले विगतमा परीक्षा केन्द्रमा समातिने मोबाइल फिर्ता दिने गरिएकोमा यसपटकदेखि बरामद हुने मोबाइल फिर्ता नहुने बताएको जानकारी दिए ।
मधेश प्रदेशमा एक हजार २३१ वटा विद्यालयबाट ८८ हजार ८५८ जना विद्यार्थी एसइईमा सामेल हँुदै छन् । उनीहरूका लागि प्रदेशभरि ३१२ परीक्षा केन्द्र तोकिएको छ । ३१२ परीक्षा केन्द्रका लागि ३१२ जना केन्द्राध्यक्ष, ४५९ जना सहायक केन्द्राध्यक्ष, चार हजार ३७० निरीक्षक, ७५५ परीक्षा सहायक र एक हजार ६६६ जना कार्यालय सहयोगी खटाइने मधेश प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ ।
परीक्षालाई मर्यादित र सुरक्षित बनाउन चार हजार ६८० सुरक्षाकर्मी र १२ हजार २४२ जना कर्मचारी खटाइने भएको छ । निर्देशनालयका अनुसार सिराहामा ४९, धनुषामा ४५, बारामा ४२, रौतहटमा ४०, सर्लाहीमा ३८, सप्तरीमा ३७, महोत्तरीमा ३२ र पर्सामा २९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।