मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २२ आइतबार
  • Thursday, 19 December, 2024
प्रतिरोधमा सहभागी हुन चाहने नागरिकलाई हतियार वितरण गर्दै युक्रेनी सुरक्षा बल । तस्बिर : द न्युयोर्क टाइम्स
नारायण शिवाकोटी नयाँ पत्रिका
श्रवण उप्रेती नयाँ पत्रिका
२o७८ फाल्गुण २२ आइतबार o८:११:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार

युक्रेनमा आमप्रतिरोधको संकेत

Read Time : > 4 मिनेट
नारायण शिवाकोटी, नयाँ पत्रिका
श्रवण उप्रेती, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७८ फाल्गुण २२ आइतबार o८:११:oo
  • रुसी आक्रमणकारीविरुद्ध लड्न विदेशबाट ६६ हजार आफ्ना नागरिक आइसकेको युक्रेनी रक्षामन्त्रीको दाबी
  • नरसंहार रोक्न नाटोलाई नो–फ्लाई–जोन लागू गर्न युक्रेनको आग्रह, तर युद्ध भड्किन सक्ने नाटोको चिन्ता

युक्रेनी सुरक्षा बलबाट कडा प्रतिरोधको सामना गरिरहेको रुसी आक्रमणकारी सेनाले नागरिक स्तरबाट समेत बढ्दो रूपमा प्रतिरोधको सामना गर्न थालेको छ । युक्रेनी नागरिकहरूले विभिन्न स्थानमा रुसी सेनालाई अवरोध गर्न थालेका छन् । उनीहरूले केही स्थान रुसी सेना एवं तिनका ट्यांकसामु उभिएर पनि विरोध गरेका छन् । 

शुक्रबार युरोपकै सबभन्दा ठूलो भनिएको जापोरिजाजियास्थित आणविक केन्द्रलाई रुसी सेनाले कब्जा गरे । तर, शनिबार रुसी सेनाको कब्जाबाट जापोरिजाजिया र युक्रेनलाई जोगाउन भनेर त्यहाँका हजारौँ नागरिक युक्रेनको टेरिटोरियल डिफेन्स फोर्समा आबद्ध हुन भन्दै सडकमा निस्किए । यो केन्द्रलाई रुसी सेनाले कब्जा लिनुअघि पनि त्यहाँका हजारौँ नागरिक सडकमा रुसी सेनाका सामु खडा हुन आएका थिए । उनीहरूले रुसी सेना र उसका ट्यांकहरूलाई रोक्ने प्रयास गरेका थिए । अहिले उनीहरू अमेरिका र युरोपसमक्ष आफूहरूलाई लडाकु विमान र एयर डिफेन्स प्रणाली देऊ बाँकी काम हामी आफैँ गर्छाै भन्न थालेका छन् । यसले रुसी सेनाले नागरिक स्तरबाट समेत कडा प्रतिरोधको सामना गर्नुपर्ने देखिएको छ । रुस राजधानी किभलाई घेर्दै जाने र जहाँजहाँ प्रतिरोध हुँदा दबाउँदै जाने रणनीतिमा देखिएको छ । मारिपोल, भोल्नोभाखा, खार्किभ, चेर्निभ, मेकोलाइभ र खार्सनमा अहिले स्थिति निकै जटिल छ ।

युक्रेन नाटोसँग असन्तुष्ट 
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले स्वदेशमै रहेर दैनिकजसो विश्वसमक्ष रुसविरुद्ध सहयोगको याचना गरिरहेका छन् । उनी युक्रेनको नरसंहार रोक्न नाटोलाई नो–फ्लाइ–जोन लागू गर्न पनि आग्रह गरिरहेका छन् । तर, नाटो भने नो–फ्लाई–जोन कार्यान्वयन गर्दा आणविक हतियारले लैस रुससँग युरोपको पूर्णयुद्ध भड्किन सक्ने भन्दै तर्किरहेको छ । ‘यसलाई कार्यान्वयन गर्ने एउटै तरिका भनेको युक्रेनी हवाई क्षेत्रमा नाटोका लडाकु विमान पठाउने र रुसी विमानहरूमाथि प्रहार गर्ने हो,’ नाटोका प्रमुख जेन्स स्टोल्टेनवर्ग भन्छन्,’ नाटोका विदेशमन्त्रीहरूले यसबारे छलफल गरे पनि उनीहरू नाटोका विमान युक्रेनी हवाई क्षेत्रमा सञ्चालित गर्न नहुनेमा सहमत छन् ।’

नो–फ्लाई–जोन घोषणा नगरेर नाटोले युक्रेनमा बमबारीका लागि हरियो बत्ती देखाएको भन्दै जेलेन्स्कीले नाटोको तीव्र आलोचना गरेका छन् ।’ अब यहाँ जति पनि मानिस मर्छन् त्यो तिमीहरूको कारण, तिमीहरूको कमजोरीको कारण, र तिमीहरूमा एकताको अभावका कारण भएको हुनेछ,’ उनले युरोपको आलोचना गर्दै भनेका छन् । 

युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्नीकोभले रुसी आक्रमणकारीविरुद्ध लड्न अहिलेसम्म विदेशबाट ६६ हजारभन्दा धेरै युक्रेनी फर्किएको दाबी गरेका छन् । केही स्थानमा रुसी सेनाले आंशिक सफलता पाएको भए पनि युक्रेनी सेनाले कडा प्रतिरोध गरेर आक्रमणकारीहरूलाई धपाइरहेको छ भन्छन् ओलेक्सी । उनले रुसी सेनाले डराएको फ्याउरोको रणनीति अख्तियार गरिरहेको र  शत्रुले प्रत्येक जीवन र प्रत्येक आँसुको मूल्य तिर्नुपर्ने चेतावनी दिएका छन् । 

रुसले सेना अघि बढाउन मानवीय करिडोरको दुरुपयोग गरेको किभको आरोप 
निरन्तरको बमबारीले मानवीय संकट गहिरिन थालेपछि रुस मानवीय करिडोर खोल्न सहमत भएको छ । रुसले मानवीय करिडोरका लागि भनेर शनिबार युक्रेनका दुई सहर मारिपोल र भोल्नोभाखामा बिहान ९ देखि अपराह्न ४ बजेसम्म युद्धविरामको घोषणा गरेको थियो । गैरसैनिक नागरिकहरूलाई सुरक्षित तवरले बाहिरिन दिन केही भागमा शनिबार केही समयका लागि बमबारी स्थगित गरेको रुसी रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख थियो । तर, रुसी पक्षले सहमतिअनुसार युद्धविरामको पालना नगरेको भन्दै युक्रेनी अधिकारीहरूले मरिपोल क्षेत्रबाट नागरिक बाहिर लैजाने योजना स्थगित गरे । ‘मरिपोलबाट मानिसहरूको बहिर्गमन स्थगित गरिएको छ,’ पूर्वी दोनेत्स्क क्षेत्रका गभर्नर पाभ्लो क्रिलेन्कोले ट्विट गरेका थिए । रुसले मौनताको परिपालना नगरी मरिपोल र वरपरको क्षेत्रमा निरन्तर बम प्रहार गरिरहेकोले सुरक्षाका कारण मानिसहरूलाई यस क्षेत्रबाट निकाल्ने कार्य स्थगित गरिएको उनको ट्विटमा भनिएको थियो । यद्यपि भोल्नोभाखाबाट भने केही नागरिकलाई बाहिर निकालियो ।  

यसको केही पहिले युक्रेनी मन्त्री इर्ना भेरेस्चुकले गैरसैनिक नागरिकहरूलाई सुरक्षित बाहिर निकाल्न गरिएको युद्धविरामलाई रुसले आफ्नो सेना अगाडि बढाउन उपयोग गरेको आरोप लगाएकी थिइन् । २०–२५ हजारको आवादी रहेको सानो सहर भोल्नोभाखामा समेत रुसी सेनाले कडा प्रतिरोधको सामना गरिरहेको छ । रुसी सेनाले यहाँ केही दिनअघिदेखि नै बमबारी गरिरहेको छ । रुसी मिसाइल र बमबाट यहाँका ९० प्रतिशत संरचना ध्वस्त भएको अधिकारीहरूले दाबी गरेका छन् । अहिले युक्रेनका यी सहरमा क्षतविक्षत शव, ध्वस्त सैन्य बाहन, सवारी र भग्नावशेषको सहर भएका छन् भनेर उनले वर्णन गरेकी छन् । रुसले युक्रेनमाथि २४ फेब्रुअरीबाट पूर्णस्तरको आक्रमण सुरु गरेयता साढे १३ लाखले छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । मुलुकबाट बाहिरिनेमध्ये आधा संख्या बालबालिकाको रहेको छ । अहिलेसम्म पोल्यान्डमा साढे सात लाख, हंगेरीमा डेढ लाख, रोमानिया ६३ हजार मोल्डोभामा एक लाख तीन हजार, रसियामा डेढ लाख, जर्मनीमा २७ हजार र स्लोभाकियामा ९० हजारले शरण लिन पुगेका छन् । यसले युरोपको संकट बढाउँदै लगेको छ ।  

रुसले पनि व्यापक क्षति व्यहोरेको आशंका 
पुटिनले युक्रेनमा युद्धमा मारिएका सेनाका परिवारलाई ५० हजार डलर दिने भएका छन् । यसअघि रुसी रक्षा मन्त्रालयले युक्रेनमा करिब पाँच सय सैनिक मारिएको र १३ सयजति घाइते भएको जनाएको थियो । न्युयोर्क टाइम्सका अनुसार रुसी राष्ट्रपतिले युद्धमा रुसी सेना मारिएको स्वीकार गरेको यो नै पहिलोपटक हो । रुसले आफ्ना पाँच सयजति मात्रै सैनिक मारिएको दाबी गरे पनि युक्रेन भने अहिलेसम्म रुसका कम्तीमा पाँच हजारभन्दा बढी सैनिक मारेको दाबी गर्छ ।  न्युयोर्क टाइम्सले चाहिँ एक अमेरिकी अधिकारीलाई हवाला दिँदै युक्रेनमा दुई हजारजति रुसी सेना मारिएको हुन सक्ने भनेको छ । पेन्टागनले भने युक्रेनी सेनाको कडा प्रतिवाद र रसदपानीको समस्याले रुसी सेनाको आत्माविश्वास अत्यन्तै कमजोर रहेको र केही रुसी फौजले आफ्नो सैन्य बाहन आफैँ ध्वस्त बनाएर हतियार बिसाएको समेत दाबी गरेको छ । यसअघि बेलायती सञ्चारमाध्यम टेलिग्राफले  बेलायतको रक्षामन्त्री बेन वालसेलाई उद्धृत गर्दै रुसी सेनाले युद्धक्षेत्रमा मारिएका सेनालाई जलाउन मोबाइल क्रिमेटोरियम उपयोग गरिरहेको दाबी गरेको थियो । तथ्यहरूले रुसले युक्रेनमा ठूलो क्षति भोगेको देखाउँछ । 

प्रेसमाथि अंकुश लगाउन नयाँ कानून
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने गरी नयाँ कानुनहरू ल्याएका छन् । उनले शुक्रबार रुसी सेनाबारे गलत सूचना प्रकाशित गरे १५ वर्षको जेल सजाय हुने नयाँ कानुनमा हस्ताक्षर गरेका हुन् । उनले नयाँ कानुनमा हस्ताक्षर गरेलगत्तै बिबिसी, सिएनएन, ब्लुमवर्ग, सिबिसीलगायतका समाचार संस्थाहरूले स्वतन्त्र पत्रकारितालाई अपराधीकरण गरेको आरोप लगाउँदै रुसभित्रका आफ्ना प्रकाशन तथा प्रसारण आउटलेट बन्द गर्ने घोषणा गरेका छन् । रुसी पत्रिका नोभाया गजेटाले पनि आफ्नो वेबसाइटबाट युक्रेनसँग जोडिएका रुसी सेनाबारेका सामग्री हटाउने भनेको छ । यहीबीच, रुसको सञ्चार नियामकले ट्विटर, फेसबुकलाई प्रतिबन्धित गरेको छ । रुसविरुद्ध प्रतिबन्धको आह्वान गर्नेलाई पनि तीन वर्षसम्मको जेल सजाय हुने कानुनमा पनि पुटिनले हस्ताक्षर गरेका छन् । 

किभमै रहेको राष्ट्रपति जेलेन्स्कीको दाबी
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउन्टमा एक भिडियो पोस्ट गर्दै आफू अझै राजधानी किभमा नै रहेको र देश नछाडेको बताएका छन् । ‘हरेक दुई दिनमा मैले युक्रेन र किभ छाडेको खबर बाहिरिन्छ, तर म आफ्नै मुलुकमा छु । एन्ड्री बोरिसोभिच (यरमाक) पनि यहीँ छन् । कोही पनि कतै भागेको छैनन्,’ शुक्रबार पोस्ष्ट गरिएको भिडियोमा जेलेन्स्कीले भनेका छन् । यसअघि जेलेन्स्की युक्रेनमा नरहेको हल्ला चलेको थियो । रुसी राजनीतिज्ञ भ्याचेस्लाभ भोलोदिनले जेलेन्स्की पोल्यान्ड गइसकेको र उनी युक्रेनी सांसदको सम्पर्कबाहिर रहेको अरोप लगाएका थिए ।  

एजेन्सीको सहयोगमा