मिस टिन युनिभर्स नेपाल श्रीयंका थापाले मार्च २–७ सम्म दुबईमा हुने मिस टिन युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्। उक्त प्रतियोगितामा विभिन्न २५ राष्ट्रका प्रतिस्पर्धीले भाग लिनेछन्।
प्रतियोगिताका लागि आफ्नोतर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको र आफ्नो लागि देश चिनाउने यो ठूलो मौका रहेकाले यसलाई सदुपयोग गर्न आफूले भरपूर मिहिनेत गरेको श्रीयंकाले बताइन्। श्रीयंकाले मिस नेपाल टिनअन्तर्गतको मिस टिन युनिभर्सको ताज सन् २०२१ मा जितेकी हुन्।
महिला सशक्तीकरण, शिक्षामा सबैको समान पहुँच, किशोरकिशोरीका समस्याको पहिचानका साथै उनीहरूको उत्थान गर्न आफ्नो प्रतिनिधित्वले धेरै सहयोग पुग्नेमा उनी विश्वस्त छिन्। मिस टिन युनिभर्समा नेपालको प्रतिनिधित्व पहिलोपटक हुन लागेकाले आफू धेरै उत्साहित रहेको इभेन्ट म्यानेजर अभिविन्द खनियाँले बताए।