१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १९ बिहीबार
  • Wednesday, 03 July, 2024
१३औँ शताब्दीको प्रस्तरको बुद्ध मूर्ति ।
शान्ति तामाङ काठमाडौं
२o७८ फाल्गुण १९ बिहीबार o८:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अमेरिकाले फर्कायो चोरी भएका मूर्ति

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १९ बिहीबार o८:५६:oo

फिर्ता भएका सांस्कृतिक र पुरातात्विक सम्पदा १३, १४ र १७औँ शताब्दीका 

विभिन्न समयमा चोरी र हराएर अमेरिका पुगेका मूर्ति र काष्ठकला गरी तीनवटा सांस्कृतिक र पुरातात्विक महत्वपूर्ण सम्पदा नेपाल फर्काइएको छ । मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति, काठको कलात्मक तोरण र उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला फिर्ता भएको हो । फर्काइएको मूर्ति र काष्ठकला बुधबार एक कार्यक्रमबीच नेपाललाई हस्तान्तरण भएको छ । 

हस्तान्तरण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विभिन्न समयमा चोरी भएर विभिन्न देशमा नेपालका सांस्कृतिक एवं पुरातात्विक सम्पदा पुगेको भन्दै त्यसलाई फर्काउन पहल भइरहेको बताए । ‘यस्तो महत्वपूर्ण सम्पदा फिर्ता ल्याउन अमेरिकाको रुविन म्युजियमले नै भूमिका खेल्यो । यसमा उहाँहरूको भूमिका सराहनीय नै छ । योबाहेक अन्य विभिन्न देशमा चोरी भएर पुगेका पुरातात्विक सम्पदालाई फिर्ता ल्याउन पहल गरिरहेका छौँ,’ मन्त्री आलेले भने । 

फिर्ता भएका ती मूर्ति र काष्ठकला १३, १४ र १७औँ शताब्दीका सम्पदा हुन् । जसमध्ये अमेरिकाको न्युयोर्क राज्यको रुविन म्युजियम अफ आर्टबाट दुई काष्ठकला फिर्ता भएका छन् । फिर्ता भएको १७औँ शताब्दीको तोरण ललितपुरको यम्पी महाबिहारको प्रवेशद्वारमाथि थियो । जुन मर्मत गर्ने क्रममा सन् १९८५ पछि चोरी भएको थियो । 

१४औँ शताब्दीमा उडिरहेको गन्धर्वको आकृति कुदिएको काष्ठकला भने काठमाडौं महानगरपािलका–२४ मा थियो । यो काष्ठकला इटुम्बहालबाट सन् १९९७ मा चोरी भएको थियो । परिसरमा रहेको शाक्यहरूको कुलपूजा गर्ने देवाली घरको अगाडितर्फ तलामा रहेको दायाँतर्फको बाकुझ्यालको तल्लो भागमा उक्त काष्ठकला राखिएको थियो । 

१३औँ शताब्दीको मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति काठमाडौं ओमबहालस्थित न्हुछेबहालमा थियो । त्यो मूर्ति पनि चोरी भएर अमेरिका पुगेको थियो । बुद्धको यो मूर्ति न्युयोर्ककै तिब्बत हाउस ग्यालरीमा पुगेको थियो । हराएका ती मूर्ति विभिन्न माध्यम हुँदै दातामार्फत नै उपहारका रूपमा रुविन म्युजियम पुगेको मन्त्रालयले जनाएको छ । म्युजियम पुगेका ती मूर्ति म्युजियमले नै आफ्नै अध्ययनका आधारमा स्वेच्छिक रूपमा फिर्ता दिने आशय जनाएपछि नेपाली महावाणिज्य दूतावासलाई पत्राचार भएपछि मूर्ति फिर्ता सम्भव भएको हो । 

हालसम्म फिर्ता भए ७६ मूर्ति 
मन्त्रालयको तथ्यांकअनुसार हालसम्म बेलायतबाट १९, अस्ट्रियाबाट एक, अमेरिकाबाट १४, तिब्बतबाट २८, कोलकात्ताबाट १३, जर्मनीबाट एक थान गरी ७६ थान मूर्ति तथा सम्पदा फिर्ता भएका छन् । अमेरिका, फ्रान्स, बेलायत, अस्टे«लियालगायतका देशमा पुगेका सम्पदाहरू फिर्ता ल्याउन पहल भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डेले वासिंटन डिसीबाट तीनवटा मूर्ति फिर्ता ल्याउन तयारी भइरहेको भन्दै फिर्ता भएका मूर्ति सम्बन्धित क्षेत्रका स्थानीय प्रमाण लिएर आए हस्तान्तरण गरिने बताए । ‘हामीले सम्पदा फिर्ताका लागि पहल गरिरहेका छौँ । फिर्ता ल्याइएका मूर्ति लिन सम्बन्धित ठाउँको स्थानीय प्रमाण पुर्‍याएर आएमा र मूर्तिको सुरक्षाको ग्यारेन्टी गर्ने हो भने उहाँहरूलाई नै हस्तान्तरण गर्छौँ,’ उनले भने । 

पाण्डेका अनुसार सम्पदा फिर्ता ल्याउन निकै कठिन छ । ‘चोरी भएर विभिन्न समयमा विभिन्न देश पुगेका ती सम्पदा ल्याउन प्रमाण जुटाउनुप¥यो । कहाँबाट, कहिले, कसरी हराएको लगायतका प्रश्नको जवाफ जुटाउनुप¥यो,’ उनले भने । मन्त्रालयका अनुसार चोरिएका मूर्तिहरू यथास्थानमै प्रतिस्थापन गर्नुपर्छ भन्ने पछिल्लो समयमा विश्वव्यापी रूपमा विकास भएको मान्यता र विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको विकासले नेपालभन्दा बाहिर गैरकानुनी रूपमा निकासी भएका सांस्कृतिक तथा पुरातात्विक सम्पदा फिर्ता हुन थालेका हुन् । 

ad
ad
ad
ad