मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ फाल्गुण १७ मंगलबार ०८:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस कैलालीको सभापतिमा  संस्थापन पक्षका बम र भट्टबीच प्रतिस्पर्धा

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण १७ मंगलबार ०८:३३:००

कांग्रेस कैलालीको सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुने भएको छ । पहिलो चरणमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि कुल मतदाताको बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । कांग्रेसमा सभापतिमा विजयी हुन कुल मतदाताको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ । बढी मत ल्याउने दुईजना उम्मेदवारले १८ फागुनमा तोकिएको निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । 

सभापतिका उम्मेदवार प्रकाश बमले सबैभन्दा बढी एक हजार एक सय ६७ मत पाएका छन् । सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले एक सय ९७ मत पाएको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए । 

प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका बम र भट्ट पार्टीको संस्थापन पक्षका हुन् । संस्थापनइतर पक्षबाट प्यानलसहित उम्मेदवारी दिएका कलेल दोस्रो चरणमा हुने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । दोस्रो चरणमा संस्थापन पक्षकै उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । निर्वाचनमा संस्थापन पक्षमै चर्को धु्रवीकरण देखिएको छ ।

भट्ट नेतृत्वको प्यानलको पक्षमा नृपबहादुर वड, सुशीला मिश्र, जीवन राना, ईश्वरी न्यौपानेलगायत कैलालीबाट निर्वाचित कांग्रेसका सातजना केन्द्रीय सदस्य लागेका छन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवा र नेत्री आरजु राणाको पनि समर्थन रहेको बुझिएको छ ।

संस्थापन पक्षकै बमको प्यानललाई निवर्तमान सभापति एवं कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ‘मनु’लगायत नेताहरूको समर्थन छ । शाहको कैलाली कांग्रेसमा बलियो पकड छ । निर्वाचनमा पार्टी केन्द्रले हस्तक्षेप गरेको भन्दै कैलालीमा संस्थापन पक्षबीच नै धु्रवीकरण बढेको छ । केन्द्रले नांगो हस्तक्षेप गरेको आरोप लगाउँदै बमको प्यानलका नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

सभापतिका उम्मेदवार बम आफैँले पनि कांग्रेस कैलालीमा दासप्रथा देखिएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । दोस्रो चरणको निर्वाचनमा जितहारका लागि संस्थापनइतर पक्षको भूमिका महŒवपूर्ण हुने भएको छ । संस्थापनइतर पक्षले समर्थन गरेका उम्मेदवार विजयी हुने सम्भावना बलियो देखिएको छ । जिल्ला अधिवेशनका लागि दुई हजार पाँच सय ७२ जना मतदाता प्रतिनिधि रहेकोमा दुई हजार चार सय ८६ मत खसेको थियो ।