मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ फाल्गुण १२ बिहीबार ०८:४६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चक्रवर्ती कलेजको ठगीधन्दा परीक्षा दिन तयार छात्राको कोटा अर्कैलाई ‘बिक्री’

Read Time : > 3 मिनेट
२०७८ फाल्गुण १२ बिहीबार ०८:४६:००

रजिस्ट्रेसन नम्बर नआएपछि जानकारी गराउन गएकी छात्रा सुष्मा पण्डितलाई कलेजले उल्टै हप्काएर पठायो

काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती हवी एजुकेसन एकेडेमी कलेज अफ लले एलएलएम पहिलो वर्षमा पढ्ने एक छात्राको कोटा बिक्री गरेको पाइएको छ । भर्ना भएर नियमित रूपमा कलेजका गतिविधिमा सहभागी हुँदै आएकी तनहुँकी सुष्मा पण्डितले भर्ना गर्दा माइग्रेसन सर्टिफिकेट नबुझाएको बहाना बनाएर कलेजले उनको कोटा अर्कैलाई बिक्री गरेको हो । 

एलएलएम पहिलो वर्षको परीक्षा आउनै लाग्दा विश्वविद्यालयले उनको रजिस्ट्रेसन नम्बर नै नदिएपछि उक्त तथ्य खुलेको हो । आगामी २० फागुनदेखि एलएलएम तह पहिलो वर्षको बोर्ड परीक्षा सञ्चालन हुँदै छ । तर, कलेज प्रशासनले पण्डितलाई परीक्षाबाट वञ्चित गराउने भएको छ । कलेजले उनको कोटा कोही ठूलाबडा व्यक्तिलाई सुटुक्क बिक्री गरेको स्रोतको दाबी छ । ‘उक्त कलेजमा उच्चपदस्थ कर्मचारी, प्रहरी, न्यायाधीश र वकिलहरूले पनि एमएलएम पढ्छन्,’ स्रोतले भन्यो, ‘त्यही उच्चपदस्थ व्यक्तिका लागि जेहेनदार छात्राको कोटा बिक्री गरेको हुनुपर्छ ।’ 

सुष्मा पण्डित, छात्रा
मैले विद्यार्थी भएर निभाउनुपर्ने सबै भूमिका निभाएकी छुु, कतै गल्ती गरेकी छैन । समयमै भर्ना गरेकी छु, नियमित कलेज आएकी छु, चाहिनेजति डकुमेन्ट बुझाएर भर्ना गरेकी छु, फारम शुल्क पनि समयमै तिरेकी छु, तर ममाथि किन यस्तो भयो ? अचम्म लागिराछ ।

६ पुस ०७७ मा भएको प्रवेश परीक्षामा पण्डितले ६७औँ नम्बरमा नाम निकालेकी थिइन् । त्यसपछि ९५ हजार एक सय रुपैयाँ तिरेर उनले भर्ना गरिन् । मास्टर्स तहको पढाइमा उनी थप गम्भीर हुँदै नियमित कलेज आउँथिन् । सबै आन्तरिक परीक्षामा सहभागी हुने र परीक्षा शुल्क पनि बुझाउँदै आइरहेकी छन् । तर, बोर्ड परीक्षा आउनै लाग्दा सबै साथीभाइको रजिस्ट्रेसन नम्बर आए पनि उनको भने आएन । त्यसपछि पण्डितले कारण खोतल्न थालिन् । परीक्षाका लागि उनले परीक्षा शुल्क तिरेर फारम पनि भरेकी थिइन् । तर, उनको रजिस्ट्रेसन नम्बर नै आएन ।

पण्डितले त्रिभुवन विश्वविद्यालयबाट एलएलबी सकेर पूर्वाञ्चल विश्वविद्यालयमा एलएलएम अध्ययन गर्न भर्ना गरेकी थिइन् । तर, उनले भर्ना गरेको पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कलेजले उनको कोटा नै बेचिदिएपछि पढाइमा असर पर्ने उनको गुनासो छ । ‘मैले विद्यार्थी भएर निभाउनुपर्ने सबै भूमिका निभाएकी छुु, कतै गल्ती गरेकी छैन,’ उनले भनिन्, ‘समयमै भर्ना गरेकी छु, नियमित कलेज आएकी छु, चाहिनेजति डकुमेन्ट बुझाएर भर्ना गरेकी छु, फारम शुल्क पनि समयमै तिरेकी छु, तर ममाथि किन यस्तो भयो ? अचम्म लागिराछ ।’ उनले आफ्नो रजिस्ट्रेसन नम्बर नआएपछि कलेजकी प्रशासन प्रमुख विमला हुमागाईंलाई जानकारी गराएकी थिइन् । तर, उनले उल्टै हप्काएर पठाएको पीडित छात्राको भनाइ छ । 

गत २९ पुसमा कलेज प्रशासनले विश्वविद्यालयलाई पत्र लेख्दै माइग्रेसनको सक्कल पत्र नबुझाएको र उनले त्रिविअन्तर्गतको कलेजमा अन्य विषय पढ्दै गरेको झुटो व्यहोरा प्रस्तुत गरेको थियो । त्यसपछि सो सम्बन्धमा जानकारी पाएपछि छात्रा पण्डितले विश्वविद्यालय रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै यथार्थ व्यहोरा जानकारी गराएकी थिइन् । उनले आफूले कलेजमा सबै डकुमेन्ट बुझाए पनि कलेजले पढ्नबाट वञ्चित गराउन खोजेको उल्लेख गरेकी छन् । 

कलेजले रजिस्ट्रेसन नम्बरका लागि छुट्टै शुल्क लिन्छ । त्यसका लागि पण्डितले १५ सय रुपैयाँ पनि तिरेकी थिइन् । तर, युनिभर्सिटीले उनको रजिस्ट्रेसन नम्बर नै नपठाएको आश्वासन दिलायो । आफ्नो रजिस्ट्रेसन नम्बर नआएपछि उनले त्यसबारेमा थप सोधखोज गरिन् । तर, कलेजले तीन महिनाअघि नै सेटिङ मिलाएर उनको कोटा अर्कैलाई दिइसकेको थियो ।

परीक्षा फारम लिनसमेत आनाकानी
पण्डित आफ्नो रजिस्ट्रेसन नम्बर नआएपछि तीन महिनादेखि कलेज प्रशासन धाउन थालेकी थिइन् । तर, कलेजले उनको बोर्ड परीक्षाका लागि फारम लिन पनि सुरुमा इन्कार गरेको थियो । तर, धेरै कर गरेपछि फारम लिन प्रशासनले मान्यो । ‘मेरो कोटा अरूलाई दिएको भएर होला, मेरो फारम लिन पनि आनाकानी गरिरहेका थिए, मैले जिद्दी गरेपछि फारम लिएका हुन्,’ पण्डितले भनिन् । 

त्यति मात्रै होइन, कलेजले पण्डितको माइगे्रसन सर्टिफिकेट नआएको दोष देखाएको छ । यदि छात्राको माइग्रेसन सर्टिफिकेट कलेजमा प्राप्त नभएको भए पनि छात्रासँग माग गर्न सकिने अवस्थामा उनको डकुमेन्ट नपुगेको भन्दै उनको ठाउँमा अर्कैको नाम रजिस्टे«सन गर्न भनी पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयलाई डकुमेन्ट पठाएको थियो । चक्रवर्ती हवी एजुकेसन एकेडेमी कलेज अफ लका प्रिन्सिपल देवेन्द्र भण्डारीले भने कलेज प्रशासनलाई ढाकछोप गर्दै विद्यार्थीकै कमजोरी देखाए । ‘यो ठूलो समस्या होइन, विद्यार्थीले गरेको गल्ती हो, यसको भागीदार आफैँ हुनुपर्छ,’ उनले भने । 

तर, पूर्वाञ्चल विश्वविद्यालयलाई कलेजले एउटा चिठी नै लेखेर ती छात्राको ठाउँमा अर्कै व्यक्तिको नाम पठाएको जानकारी गराएको थियो । विश्वविद्यालयका उपकुलपति यादव कोइरालाले कलेजले नै ती छात्राको अपुग डकुमेन्ट पठाएको बताए । ‘कलेजले नै ती छात्राको डकुमेन्ट अपुग पठायो, उनको कोटामा अर्कैलाई रजिस्टे«सन गर्न भनेर ती व्यक्तिको विवरण पनि पठायो,’ उनले भने, ‘सोहीअनुसार हामीले ती छात्राको कोटामा अर्कैलाई रजिस्टे«सन नम्बर दियौँ ।’ उनले उक्त गल्ती कलेजकै रहेको दाबी गरे । कलेजले पठाएको डकुमेन्ट नै अपुग भएकाले अर्कै व्यक्तिलाई कोटा दिनुपरेको कोइरालाको भनाइ छ । 

यस सम्बन्धमा केही दिनअघि शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि उपकुलपति कोइरालालाई फोन गरेका थिए । उनले छात्राको समस्या समाधान गर्न निर्देशन दिएका थिए । तर, कलेजले छात्राको दोष देखाउँदै विश्वविद्यालयलाई पत्र पठाएपछि विश्वविद्यालयले अर्कै व्यक्तिलाई उनको कोटा हस्तान्तरण गरेको छ । 

कारबाहीबाट बच्न अर्कै कलेजमा भर्ना गरिदिने तयारी 
भर्ना गरेर नियमित रूपमा पढ्दै आएकी छात्राबाट उजुरी हुन सक्ने भन्दै उक्त कारबाहीबाट बच्न विश्वविद्यालय र कलेज प्रशासनले पण्डितलाई अर्कै कलेजमा भर्ना गरिदिने बताएको छ । उनलाई विराटनगरको केस ब्राइट भिजन कलेजमा भर्ना गर्न भनेको हो । ‘हामीले ती छात्राको भविष्य नबिग्रियोस् भनेर अर्कै कलेजमा ट्रान्सफर गर्न कलेजलाई निर्देशन दिएका छौँ,’ उपकुलपति कोइरालाले भने, ‘त्यहाँ कोटा पनि खाली रहेछ ।’

यो कलेज पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत सञ्चालन भइरहेको छ । हाल यहाँ विभिन्न संकायका १६ वटा कार्यक्रम पठनपाठन हुँदै आएका छन् । २१ वर्षदेखि एलएलएम पढाइ हुँदै आएको यो कलेजमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत वर्ष भर्ना भएकी थिइन् ।