घरेलु कामदारका रूपमा विभिन्न मुलुकमा रहेका महिला श्रमिकहरू नेपाल फर्किएर पुनः श्रमस्वीकृति लिएर जान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुनः श्रमस्वीकृति प्रदान गर्ने व्यवस्था गरेका हुन् । सरकारले महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलुक जान प्रतिबन्ध लगाएपछि वर्षौँदेखि ती देशमा काम गरिरहेका महिला श्रमिकहरू रोजगारी गुम्ने डरले बिदामा समेत घर आउन पाएका थिएनन् ।
वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ को दफा २३ बमोजिम बाधा–अड्काउ फुकाउने अधिकार प्रयोग गरी मन्त्री श्रेष्ठले अप्ठ्यारामा परेका महिलाहरूलाई पुनः श्रमस्वीकृति प्रदान गर्ने व्यवस्था गरेका हुन् । निर्देशिकाअनुसार बनेको समन्वय समिति र मन्त्रालयले गठन गरेको अध्ययन समितिले पनि महिला श्रमिकहरूको पक्षमा निर्णय गर्न सिफारिस गरेको थियो । प्रतिबन्ध नलाग्दै खाडी पुगेका तथा पछि अवैध बाटो हुँदै गएका घरेलु कामदारहरू नेपाल फर्केपछि श्रमस्वीकृति नपाउने भएकाले फर्किन सकेका थिएनन् ।
सरकारले ८ वैशाख ०७२ मा घरेलु कामदारसम्बन्धी निर्देशिका जारी गर्दै ४२ देशमा घरेलु कामदार पठाउन पाउने व्यवस्था गरेको थियो । निर्देशिकामा गन्तव्य मुलुकसँग सम्झौता पनि गर्ने र म्यानपावरबाट पनि पठाउने व्यवस्था थियो । म्यानपावरमार्फत घरेलु कामदारका रूपमा युएई गएका एक महिलाले आत्महत्या गरिन् । तर, सोही आत्महत्यालाई कारण देखाएर यो व्यवस्था लागू भएको केही महिनामै संसद्को श्रम समितिले घरेलु कामदारका रूपमा विदेश जान पूर्ण प्रतिबन्ध लगाइदियो ।मन्त्रालयले पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी सर्त पूरा गरेर पुनः श्रमस्वीकृति दिने भनेको छ । सम्बन्धित देशको नियोग र वैदेशिक रोजगार कार्यालयले उनीहरूको छुट्टै अभिलेख राख्ने व्यवस्था
गरेको छ ।
खाडीमा कति छन् घरेलु कामदार ?
नेपाल सरकारले घरेलु कामदार पठाउन जोर्डनसँग सम्झौता गरेको छ । विगत तीन वर्षदेखि १५ वटा म्यानपावर व्यवसायीले घरेलु कामदारका रूपमा नेपाली महिलालाई जोर्डन पठाउँदै आएका छन् । त्यस्तै, सरकारले दुबई र मलेसियासँग पनि सम्झौता गरेको छ । तर, प्राविधिक सम्झौता हुन नसक्दा कार्यान्वयन भने हुन सकेको छैन । विभिन्न माध्यमबाट कुवेत, युएई, कतार, ओमान, बहराइन, लेबनान, साउदी, इराक, कुर्दिस्तान, सिरिया र माल्दिभ्समा घरेलु कामदार पठाइरहेका छन् । भिजिट भिसा, क्लिनर भिसा, वेटर भिसामा पठाएर घरेलु काममा लगाउने गरेका छन् ।
यसरी खाडी मुलुकमा कति महिला घरेलु कामदारका रूपमा छन् भन्ने तथ्यांक सरकारी निकायसँग छैन । तर, सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासको अनुमानित तथ्यांकअनुसार कुवेतमा १९ हजार सात सय ८७, कतारमा चार हजार ९९, मलेसियामा ५९, बहराइनमा एक हजार, युएईमा ५० हजार घरेलु कामदार छन् । त्यस्तै, जोर्डनमा पाँच हजार, लेबनानमा तीन हजार, साउदीमा सात हजार, कुर्दिस्तानमा तीन हजार, माल्दिभ्समा दुई हजारजति घरेलु कामदार छन् ।
तर, घरेलु कामदार सरोकार समाजका अध्यक्ष किशोर प्रधानले भने गैरकानुनी रूपमा खाडीमा रहेका महिलाहरूको संख्या करिब नौ लाख हुन सक्ने बताए । उनका अनुसार कुवेतमा दुई लाख, ओमानमा दुई लाख, साउदीमा ९० हजार, कतारमा २० हजार, बहराइनमा २५ हजार र दुबईमा चार लाख छन् ।
पाँचदेखि १० लाखसम्ममा खाडी पुग्छन् नेपाली महिला
खाडीका विभिन्न न्यूनतम पाँचदेखि १० लाख रुपैयाँमा नेपाली महिला घरेलु कामदारका रूपमा पुग्ने गरेका छन् । नेपाल सरकारले प्रतिबन्ध गरेपछि खाडी मुलुकका रोजगारदाताले ठूलो रकम कमिसन दिएर नेपाली महिला लैजाने गरेका छन् । खाडी मुलुकमा विशेष गरी फिलिपिन्स, इन्डोनेसिया, श्रीलंकाका महिलाहरू खाडी मुलुकमा घरेलु कामदारका लागि जाने गरेका छन् । तर, नेपाली महिला तुलनात्मक रूपमा बढी इमानदार, कम बोल्ने, सफा सुग्घर, मिलनसार, मिहिनेती हुने हुँदा उनीहरूको माग रहेको छ ।
यो प्रतिबन्ध फुकाउने पहिलो कदम हो
विजया राई श्रेष्ठ, कार्यकारी निर्देशक, आप्रवासी महिला कामदार समूह
श्रममन्त्रीले पुनः श्रमस्वीकृति लिएर महिला विदेश फर्कन पाउने गरेको व्यवस्थालाई हामीले एकदमै सकारात्मक रूपमा लिएका छौँ । यसलाई हामीले घरेलु श्रमिकमा महिलालाई लगाइएको प्रतिबन्ध फुकाउने पहिलो कदमका रूपमा लिएका छाैँ।
फेरि पनि दलालहरू फस्टाउनेछन्
किशोर प्रधान, अध्यक्ष, घरेलु कामदार सरोकार समाज
श्रम मन्त्रीले पुनः श्रमस्वीकृतिलाई खुलाएर दलालहरूलाई फेरि मोटाउने अवसर प्रदान गरेको छ । मन्त्रीको यो निर्णयपछि फेरि गैरकानुनी रूपमा घरेलु कामदारमा पठाउने प्रक्रिया बढ्नेछ । किनभने, उनीहरू नेपाल आएर फेरि फर्कन पाउनेछन् । तसर्थ, सरकारले सुरुको ढोका नै खोल्नुपर्छ । अर्थात्, घरेलु महिलाका लागि श्रमस्वीकृति खोल्नुपर्छ ।