मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बन्दमुक्त विश्वविद्यालयको माग राख्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ६ शुक्रबार ११:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तालाबन्दीको विरोधमा त्रिविका प्राध्यापक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ६ शुक्रबार ११:२८:००

नेविसंघ र आंशिक प्राध्यापकको तालाबन्दी जारी

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले बन्दमुक्त विश्वविद्यालयको माग राख्दै प्रदर्शन गरेका छन् । त्रिविका विभिन्न विभाग तथा संकायका प्राध्यापकले बिहीबार त्रिविपरिसरमा भेला भएर त्रिवि कार्यालयमा लगाइएको ताला हटाउन र त्रिविलाई राजनीतिक हस्तक्षेपबाट रोक्न माग गरेका हुन् । 

राजनीतिक संगठन तथा त्रिविकै शिक्षक कर्मचारीले आफ्ना स्वार्थ पूरा गर्ने नाममा त्रिविमा ताला लगाउने गरेको आरोप प्राध्यापकहरूले लगाएका छन् । प्राध्यापकहरूले बिहीबार त्रिवि कार्यालयअगाडि १५ मिनेट मौनधारणसमेत गरेका थिए । त्रिभुवन विश्वविद्यालय, नेपाल प्रगतिशील प्राध्यापक संगठनले आयोजना गरेको मौनधारण तथा ¥यालीमा त्रिविका करिब डेढ सय प्राध्यापक उपस्थित थिए । उनीहरूले त्रिवि सुधारका लागि एकजुट हुन सबै शिक्षकलाई आग्रह गरेका छन् । 

सुमन खरेल सहप्राध्यापक, त्रिवि - यो वा त्यो नाममा त्रिविलाई प्रभावित पार्ने गतिविधि भइरहेका छन्, त्यसले त्रिवि र विद्यार्थीको भविष्यमा ठूलो असर पारेको छ । यो विषयलाई हामी नीति–निर्माण तहमै पुर्‍याएर समाधान गर्न चाहन्छौँ ।

पहिलो चरणमा शान्तिपूर्ण तरिकाले माग राख्ने र माग पूरा नभए अन्य धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने त्रिवि ग्रामीण संकायका केन्द्रीय सहप्राध्यापक सुमन खरेलले बताए । यसबारे त्रिवि पदाधिकारीसँग वार्तामा बस्ने र विश्वविद्यालयमा हुने बन्दका कार्यक्रम सदाका लागि रोक्ने गरी अघि बढ्ने उनले जानकारी दिए । ‘यो वा त्यो नाममा त्रिविलाई प्रभावित पार्ने गतिविधि भइरहेका छन्, त्यसले त्रिविको र विद्यार्थीको भविष्यमा ठूलो असर पारेको छ,’ उनले भने, ‘यो विषयलाई हामी नीति–निर्माण तहमै पुर्‍याएर समाधान गर्न चाहन्छौँ ।’ 

यसअघि त्रिवि कर्मचारी संघले पनि त्रिविमा लगाएको ताला यथाशीघ्र खोल्न माग गरेको थियो । २८ माघमा विज्ञप्ति जारी गर्दै संघको केन्द्रीय समितिले त्रिविका दैनिक कार्य सञ्चालनमा भइरहेको अवरोध र ताला हटाउन माग राखेको थियो । हाल कर्मचारी, शिक्षक, विद्यार्थी तथा राजनीतिक दलका संगठनबाटै त्रिविका शैक्षिक गतिविधिमा असर पार्ने काम भइरहेको छ । 

दुई वर्षमा दुई सय दिन उपकुलपति कार्यालयमा तालाबन्दी 
विश्वविद्यालयमा चरम राजनीतिक गतिविधि बढेपछि त्यसलाई रोक्न त्रिविका प्राध्यापकले माग राखेका हुन् । त्रिभुवन विश्वविद्यालय, नेपाल प्रगतिशील प्राध्यापक संगठनले त्रिविलाई सधैँ खुला राख्न अब हुने धर्नामूलक कार्यक्रममा सहभागी हुनसमेत प्राध्यापकहरूलाई आह्वान गरेका छन् । नेविसंघले त्रिवि उपकुलपतिको कार्यकक्षमा पटक–पटक तालाबन्दी गर्दै आइरहेको छ । पछिल्लो दुई वर्षमा करिब दुई सय दिन उपकुलपतिको कार्यालयमा तालाबन्दी भएको छ । 

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले पनि तालाबन्दी हटाउन अपिल गरेको छ । महामारीयता पुससम्म विभिन्न संगठनले एक सय ४९ दिन त्रिविमा ताला लगाएका महाशाखाले जनाएको छ । पछिल्लो समय ६ माघमा लगाएको तालाबन्दीको बारेमा १० माघमा उक्त तालाबन्दीको कारण छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । तर, तालाबन्दी गरिरहेका संगठन वार्तामा आउन नखोजेको महाशाखाले जनाएको छ । 

जनकपुरस्थित युथ क्याम्पसलाई सम्बन्धन दिन त्रिवि अनुगमन निर्देशनालयका कर्मचारीले घुस मागेको भन्दै नेविसंघले ७ माघदेखि उपकुलपतिको कार्यालयमा ताला लगाएको थियो । विद्यार्थीहरूले बिहीबार पनि विरोध जनाएका थिए । 

त्यसैगरी, त्रिवि आंशिक प्राध्यापक संघले त्रिवि सेवा आयोगमा ताला लगाएको छ । विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्नेलगायत माग राखेर तालाबन्दी गरेको हो । मासिक तलबको व्यवस्था गर्नेलगायत सम्झौता गरे पनि कार्यान्वयन नगरेका कारण सेवा आयोगमा ताला लगाएको उसले जनाएको छ । सेवा आयोगले पहिले स्थगित भएका परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेसँगै शिक्षकहरूले तालाबन्दी गरेका हुन् । उनीहरूले आफ्ना माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने जनाएका छन् । यसअघि पनि लामो समयसम्म तालाबन्दीलगायत आन्दोलनका कार्यक्रम भएका थिए । त्रिविले वार्ता समिति गठन गरेर सम्झौता भएपछि आन्दोलन फिर्ता भएको थियो ।