१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ६ शुक्रबार
  • Saturday, 21 September, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o७८ फाल्गुण ६ शुक्रबार o६:१८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री देउवा र ओलीबीच छलफल : संसदमा अवरोध नगर्न र एमसिसीमा सहयोग गर्न आग्रह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ६ शुक्रबार o६:१८:oo

बालकोट पुगेर प्रधानमन्त्री देउवाले ओलीसँग झन्डै दुई घन्टा छलफल गरे, संसदमा अवरोध नगर्न र एमसिसीमा सहयोग गर्न आग्रह

एमाले अध्यक्ष केपी ओलीको निवासबाट फर्किँदै प्रधानमन्त्री देउवा । तस्बिर : अमुल थापा/नयाँ पत्रिका 

एमाले अध्यक्ष केपी ओलीलाई भेट्न पत्नी आरजुसहित बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अवरोध खुलाउन र एमसिसीमा सहयोग गर्न आग्रह गरेका छन् । ओली पनि विभिन्न सूत्रमार्फत प्रधानमन्त्री देउवासँग नियमित संवादमा छन् । प्रधानमन्त्रीले  यसअघि २४ पुसमा बालकोट पुगेर ओलीसँग संसद् खुलाउने विषयमा छलफल गरेका थिए । 

‘संसद् अवरोध खोल्नुपर्‍यो । एमसिसी टेबुल गरेर छलफल गर्ने र अनुमोदन गर्नुपर्ने भएको छ । यसमा तपाईंहरूको सहयोगी भूमिका चाहियो । अन्य विषयमा पनि सहकार्य गर्दै जान सकिन्छ,’ ओलीसँग प्रधानमन्त्री देउवाको प्रस्ताव थियो । सत्तागठबन्धनमा रहेका दलहरूले एमसिसी टेबुलपूर्व सदन सुचारु हुनुपर्ने माग राख्दै आएका छन् । 

प्रधानमन्त्री देउवाको प्रस्तावमा ओलीले सदन खोल्ने विषयमा आफूहरूका माग सम्बोधन हुनुपर्ने र एमसिसीमा पहिला गठबन्धनबीच सबै विषय टुंगिनुपर्ने जवाफ फर्काएका थिए । ‘पहिला गठबन्धनमा वारपार गर्नुस्, त्यसपछि हाम्रो भूमिका तय गर्छौँ,’ देउवालाई ओलीको जवाफ थियो । लगातारको संसद् अवरोध र एमसिसीमा दोहोरो भूमिका लिएकोमा एमालेको आलोचना भइरहेको छ । 

जबर्जस्ती एमसिसी अगाडि बढाए गठबन्धन तोडिने र सरकारबाट बाहिरिन सक्ने गठबन्धनका अन्य दलका नेताहरूको अभिव्यक्ति आइरहेका वेला प्रधानमन्त्री देउवाले विपक्षीसँग संवाद गरेका हुन् । माओवादी र एकीकृत समाजवादीले संसद् अवरोध खुलाएपछि एमसिसी अगाडि बढाउन सकिने सर्त राखेपछि प्रधानमन्त्री देउवा ओलीलाई मनाउने प्रयासमा बालकोट पुगेका थिए ।

देउवा र ओलीबीच पौने दुई घन्टा छलफल भए पनि दुवैतर्फका सचिवालयले विषयवस्तुबारे केही खुलाएका छैनन् । भेटपछि ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले लामै कुराकानी भए पनि विषयवस्तु जानकारी नभएको बताए । ‘प्रधानमन्त्रीज्यूले खबर गरेरै आउनुभएको थियो, अध्यक्षज्यूसँग लामै कुराकानी गर्नुभयो र जानुभयो,’ बज्राचार्यले सञ्चारकर्मीसँग भने, ‘भेटमा के–के कुराकानी भयो, अध्यक्षज्यूले कुनै जानकारी गराउनुभएको छैन ।’ 

बिहीबार दिउँसो डा. मीनेन्द्र रिजाललाई ओलीनिवास पठाएर एमसिसी पारित गराउने एजेन्डामा कांग्रेस प्रमुख विपक्षी एमालेसँग सहकार्य गर्न तयार रहेको सन्देश देउवाले दिएका थिए । एमसिसीलाई लिएर गठबन्धनबीच विवाद बढ्दै गएको वेला ओलीलाई भेट्न बालकोट पुगेका रिजालले गठबन्धनको भविष्यसमेत अन्योलमा परेको भन्दै एमसिसीमार्फत सहकार्यको प्रस्ताव गरेका थिए । ओलीले भने माओवादीकै सहयोगमा सरकारले एमसिसी पास गर्न सक्ने बताएका छन् ।

गठबन्धन टिकाएर एमसिसी पास गर्ने विषय गम्भीर चुनौतीपूर्ण बनेको भन्दै प्रमुख विपक्षी दलको हैसियतमा एमालेले पारित गराउन भूमिका खेल्नुपर्ने रिजालको आग्रह थियो । ‘गठबन्धनमै एकमत छैन, टिक्ने–नटिक्ने ठेगान पनि छैन । त्यसैले एमसिसी पास गर्ने विषय गम्भीर बनेको छ । यो अवस्थामा प्रमुख विपक्षी दल एमालेको पनि उत्तिकै महŒवपूर्ण सहयोगको आवश्यकता छ । सदन खोल्ने र अनुमोदन गर्ने विषयमा सहकार्य गरौँ,’ ओलीसमक्ष रिजालको प्रस्ताव थियो । 

तर, जवाफमा ओलीले प्रचण्डकै सहयोगमा एमसिसी पास हुने दाबी गरेका थिए । ‘प्रचण्डजी एमसिसीकै पक्षमा हुनुहुन्छ, पहिले कहिलेचाहिँ विरोध गर्नुभएकोथ्यो ? अमेरिकालाई पास गर्ने लिखित प्रतिबद्धतापत्र पनि बुझाउनुभएकै हो । त्यसैले उहाँ कसरी एमसिसीको पक्षमा हुनुहुन्न भन्न मिल्छ ? खासमा अलिक अप्ठ्यारो परेकाले केही दिनका लागि उहाँले कार्यकर्तालाई उरालेको मात्रै हो, अरू बिस्तारै सब ठीकठाक भइहाल्छ,’ ओलीले रिजाललाई दिएको जवाफ उद्धृत गर्दै उनीनिकट एक नेताले भने । 

स्थानीय चुनावको सँघारमा एमसिसी र प्रधानन्यायाधीशमाथिको महाभियोगको दुवै मुद्दा बोक्न नहुने सांसदहरूको दबाबपछि एमाले एमसिसी टेबुल गर्ने र मतदानका लागि निर्णयार्थ पेस गर्दा पनि संसद्मा सबै सांसदको उपस्थितिमा नाराबाजी जारी राख्ने तयारीमा छ । एमालेको यस्तो रणनीतिपछि एमसिसीमा साझा धारणा तय गर्न नसकेको सत्तागठबन्धनलाई झन् अप्ठ्यारो स्थिति सिर्जना भएको छ । एमालेले संसद् अवरोध खुलाउन संसदीय कामकारबाहीमा दोहोरो मापदण्ड अपनाउने सभामुख अग्नि सापकोटाले गल्ती सच्याउनुपर्ने या राजीनामा दिनुपर्ने लगातार अडान राख्दै आएको छ ।