मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ५ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ५ बिहीबार o७:५९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दोहोरो अंकले बजार घट्दा तीन  दिनयताकै कम कारोबार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ५ बिहीबार o७:५९:oo

बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको सुरुवातदेखि उतारचढाव देखिएको बजार बन्द हुँदा १९ दशमलव ८४ अंकले घटेर दुई हजार सात सय ३४ दशमलव ४४ बिन्दुमा आइपुगेको छ । 

अघिल्लो दिन सत्तागठबन्धनबीच एमसिसी पास गर्ने सहमति भएको खबरसँगै बजार बढेको थियो । विशेष गरी, विद्युत् पूर्वाधारमा लगानी हुने गरी सहयोग उपलब्ध हुने खबरले सूचीकृत सबै जलविद्युत् कम्पनीको मूल्य बढेको थियो । तर, बुधबार सत्तारुढमध्येको एकदल माओवादीको असहमतिका कारण संसद्मा एमसिसी पेस नै हुन पाएन । यही कारण लगानीकर्ताहरूसमेत निराश भएको ब्रोकरहरू बताउँछन् । 

राजनीतिक कारणले बजारमा अल्पकालीन प्रभाव परे पनि बजारले लगभग हालको न्यूनतम बिन्दु भेटेको र  सकारात्मक समाचार मात्रै आएमा पनि बजार बढ्न थाल्ने लगानीकर्ता नयन बास्तोला बताउँछन् । 

एमसिसी पेस हुन नसकेकै कारण बुधबार बजारमा सूचीकृत लगभग सबै जलविद्युत् कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सामलिङ पावरको भने मूल्य बढेको छ । दोस्रो त्रैमासिक रिपोर्टअनुसार कम्पनी करिब ६ करोड रुपैयाँ नोक्सानमा छ । कात्तिकमा आएको बाढीका कारण आयोजना बन्द गर्नुपरेको र आम्दानी घटेको कम्पनीको विवरणमा उल्लेख छ । 

जलविद्युत् कम्पनीहरूको मूल्य घटे पनि सबैभन्दा धेरै रकमको कारोबार हुनेमा पनि यही क्षेत्रका कम्पनी छन् । बुधबार अपी पावर, नेसनल हाइड्रोपावर र अरुणभ्याली हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै रकमको सेयर किनबेच भयो । यी कम्पनीको १६ करोडदेखि २१ करोड रुपैयाँसम्म कारोबार भएको हो । यस दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि तीन दशमलव ४७ बिन्दुले घटेको छ । कारोबारमा आएका १३ समूह सूचकमध्ये ११ वटा समूहको सूचक घटेका छन् । जलविद्युत् समूह र विकास बैंक समूह सूचक लभगभग दुई प्रतिशतको दरमा घटेको छ । ‘अन्य’ र जीवन बिमा समूह सूचक सामान्य बढेको छ । ३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा एक सय ५४ वटाको सेयर मूल्य घटेको छ । 

बुद्धभूमि नेपाल हाइड्रोपावर, मैलुङ खोला जलविद्युत्, सिंगटी हाइड्रो इनर्जी, सिइडिबी हाइड्रोपावर र शिवश्री हाइड्रोपावर कम्पनीको उच्चदरमा मूल्य घटेका छन् । यी कम्पनीको सेयर मूल्य तीनदेखि करिब ६ प्रतिशतले घटेको हो । 

घटेको बजारमा पनि गुराँस लघुवित्त वित्तीय संस्था, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, एनआइसी एसिया ब्यालेन्स फन्ड, युनाइडेट इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । यी कम्पनीहरूको मूल्य भने करिब तीनदेखि करिब चार प्रतिशत हाराहरीमा बढेको हो । यस साताको सुरुमा करिब ६ अर्ब रुपैयाँको कारोबार भए पनि त्यसयता हरेक दिन कारोबार रकम घटेको छ । बुधबार तीन अर्ब एक करोड रुपैयाँको कारोबार भएको हो । 

इमर्जिङ नेपालको आइपिओ बाँडफाँड
बुधबार इमर्जिङ नेपालको सेयर बाँडफाँड भएको छ । ५१ हजार ६ सय ७० जना सर्वसाधारणले कम्पनीको सेयर हात पारेका छन् । सबैले १० कित्ताको दरमा सेयर हात पारे पनि ८ जनाले भने ११ कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार कुल २३ लाख ३१ हजार २५८ जना लगानीकर्ताले आवेदन दिएकामा २३ लाख २८ हजार सात सय ६ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो ।