१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ४ बुधबार
  • Sunday, 29 September, 2024
काठमाडौं महानगरले दुई दिनदेखि फोहोर नउठाएपछि नयाँ बानेश्वरको सडकमा थुप्रिएको फोहोर । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडौं
२o७८ फाल्गुण ४ बुधबार o८:oo:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बन्चरेडाँडा ल्यान्डफिल बन्यो, तर प्रयोगमा आएन 

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ४ बुधबार o८:oo:oo

सहरी विकासमन्त्री रामकुमारी झाक्री र महानगरका मेयर विद्यासुन्दर शाक्यबीचको टसलले दुई दिनदेखि उठेन काठमाडौंको फोहोर  

पासाङ ल्हामु सडकखण्ड कालोपत्रे गर्न माग गर्दै गत २८ मंसिरदेखि स्थानीयले १० दिन सडक अवरुद्ध पार्दा काठमाडौं उपत्यकाको फोहोर दुई सातासम्म उठेन । स्थानीयले सिसडोल ल्यान्डफिल साइटसम्म पुग्ने गाडीसमेत रोकेपछि उपत्यकाका सडक बजार फोहोरले दुर्गन्धित बनेका थिए । काठमाडौंमा दैनिक उत्पन्न हुने हजारदेखि १२ सय टन फोहोर ल्यान्डफिल्ड साइट पुर्‍याउन काठमाडौं महानगरलाई पछि हम्मेहम्मे परेको थियो ।

महानगर स्रोत भन्छ- मेयर एमाले हुनुभयो । सहरी विकासमन्त्री नेकपा एकीकृत समाजवादी पर्नुभयो । त्यसैले बन्चरेडाँडासम्म फोहोर पुग्न नसकेको हो । मेयरले अग्रसरता देखाउने हो भने त फोहोर बन्चरेडाँडा पुग्न कति समय लाग्छ र ? मंसिरमै तयार भइसकेको बन्चरेडाँडामा हालसम्म फोहोर लैजान नसक्नु भनेको राजनीतिक खिचातानी नै हो।

यसअघि असोज पहिलो साता नयाँ ल्यान्डफिल्ड साइट बन्चरेडाँडा तयार नहुँदै फोहोर फाल्दा वरपर प्रदूषण फैलने भन्दै स्थानीयले अवरोध गरे । जसका कारण सिसडोल ल्यान्डफिल्ड साइटतर्फ पनि फोहोर फाल्ने अवस्था रहेन । त्यसैले असोजमा पनि केही दिन फोहोरले काठमाडौं दुर्गन्धित भएको थियो । 

२१ र २२ माघमा परेको पानीले सिसडोल ल्यान्डफिल्ड साइट जाने बाटो बिग्रिँदा गत शुक्रबारसम्मै उपत्यकाको फोहोर पूर्ण रूपमा उठ्न सकेको थिएन । पानीले सिसडोलतर्फको कच्ची सडक बिग्रिँदा फोहोर बोक्ने गाडी सडकमै रोकिए । जसकारण काठमाडौंका सोल्टीमोड, बागबजार, पुतलीसडकलगायत स्थानमा अझै फोहोर थुप्रिरहेका छन् ।

यीबाहेक गत २८ जेठमा मनसुन सुरु हुँदा असार, साउन र भदौमा फोहोर उठ्ने दिनभन्दा नउठ्ने दिन धेरै भए । यो वर्ष मात्रै होइन, यस्ता समस्या बर्सेनि दोहोरिने गरेको छ । उपत्यकाको काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । तर, वर्षौंदेखि सिसडोलको विकल्प नखोजिँदा बर्सेनि पटक–पटक समस्या दोहोरिने गरेको छ । निजी र महानगरपालिका गरी दैनिक दुई सयभन्दा बढी टिपर–ट्रकले नुवाकोटको ककनी गाउँपालिका–२ को सिसडोल फोहोर लैजाने गर्छन् । दैनिक दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजार टनभन्दा बढी फोहोर फालिरहेका छन् । 

ल्यान्डफिल तयार छ, फोहोर नफाल्नु महानगरको गल्ती हो : रामकुमारी झाँक्री सहरी विकासमन्त्री
उपत्यकाको फोहोर व्यवस्थापन गर्ने काम महानगरको हो । यसका लागि बन्चरेडाँडा ल्यान्डफिल तयारी अवस्थामा छ । तर, महानगरले प्रयोग गरिहेको छैन । फोहोर फाल्न तयार भइसक्दा पनि फोहोर नफाल्नु महानगरको गल्ती हो । साइटको बाँकी काम पनि छिट्टै सकिनेछ । 

बन्चरेडाँडा बन्यो, तर प्रयोगमा आएन
सिसडोलको विकल्प बन्चरेडाँडा फोहोर व्यवस्थापनका लागि तयार भइसकेको छ । तर, महानगरले बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण नभएको भन्दै उपत्यकाको सबै फोहोर सिसडोलमै लैजाँदै आएको छ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले उपत्यकाको फोहोर व्यवस्थापन गर्ने काम महानगरको भएको भन्दै यसका लागि बन्चरेडाँडा तयारी अवस्थामा रहेको बताइन् । ‘सहरी विकास मन्त्रालयले ल्यान्डफिल साइट फोहोर फाल्न हुने गरी निर्माण गरे पनि महानगरले प्रयोग नगरेको हो । फोहोर फाल्न तयार भइसक्दा पनि फोहोर नफाल्नु महानगरको गल्ती हो । साइटको बाँकी काम पनि छिट्टै सकिनेछ,’ मन्त्री झाँक्रीले भनिन् ।

वर्षात्को वेला सिसडोलसम्म टिपर पुग्नै नसक्ने अवस्था हुँदासमेत जबर्जस्ती फोहोर थुपार्दै आएको छ । अब पनि बन्चरेडाँडामा लगेर फोहोर नफाल्ने हो भने आउने वर्षायाममा झन् भयाभव हुने महानगर स्रोतको दाबी छ । ‘मेयर नेकपा एमाले हुनुभयो । सहरी विकासमन्त्री नेकपा एकीकृत समाजवादी पर्नुभयो ।

त्यसैले बन्चरेडाँडासम्म फोहोर पुग्न नसकेको हो । मेयरले अग्रसरता देखाउने हो भने त फोहोर बन्चरेडाँडा पुग्न कति समय लाग्छ र ?’ स्रोत भन्छ, ‘मंसिरमै तयार भइसकेको बन्चरेडाँडामा हालसम्म फोहोर लैजान नसक्नु भनेको राजनीतिक खिचातानी नै हो ।’ 

‘बन्चरेडाँडा हस्तान्तरण नै भएको छैन’

 बञ्चरेडाँडा फोहोर प्रशोधन केन्द्र 

महानगरको वातावरण विभाग प्रमुख सरिता राई भने बन्चरेडाँडा सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले आधिकारिक रूपमा बन्चरेडाँडा हस्तान्तरण नगरेकाले प्रयोग नगरेको बताउँछिन् । ‘हामीलाई गत वर्षको भदौमै बन्चरेडाँडा प्रयोग गर्न भनिएको थियो । तर, कन्स्ट्रक्सनको चरणमा रहेको बन्चरेडाँडामा कुनै पनि हानिनोक्सानी पुर्‍याएमा सरकार जिम्मेवार नहुने सर्त राखेकोले प्रयोग गरेनौँ,’ राईले भनिन्, ‘हामीलाई आधिकारिक रूपमा प्रयोग गर्न पत्र पनि नआएकाले बन्चरेडाँडा ल्यान्डफिड साइट प्रयोग नगरेका हौँ ।’ उनका अनुसार बन्चरेडाँडामा निःशर्त फोहोर फाल्ने अवस्था भए यस्ता समस्या बारम्बार आउने थिएन ।’ 

आधिकारिक रूपमा ल्यान्डफिल प्रयोग गर्न पत्र आएको छैन : सरिता राई, वातावरण विभाग प्रमुख, काठमाडौं महानागर
सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले आधिकारिक रूपमा बन्चरेडाँडा हस्तान्तरण गरेको छैन । गत वर्षको भदौमै बन्चरेडाँडा प्रयोग गर्न भनिएको हो, तर कन्स्ट्रक्सनको चरणमा रहेको बन्चरेडाँडामा हानिनोक्सानी पुर्‍याएमा सरकार जिम्मेवार नहुने सर्त राखिएको छ । यही कारण प्रयोग गरेनौँ । आधिकारिक रूपमा प्रयोग गर्न पत्र पनि आएको छैन । 

१६ वर्षअघि यसरी सुरु भएको थियो बन्चरेडाँडा ल्यान्डफिल
तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ । उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले ०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो ।

त्यसका लागि एक हजार सात सय ९० रोपनी जग्गा अधिग्रहण गरेर करिब ६१ करोड रुपैयाँ मुआब्जा पनि बाँडियो, तर १६ वर्ष बित्दा पनि ल्यान्डफिल साइट निर्माण सम्पन्न हुन सकेको छैन । बञ्चरेडाँडामा सामान्य अवस्थामा फोहोर बिसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्यान्डफिल गर्दा कम्तीमा ५० वर्षसम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने सरकारको दाबी छ । 

जापान सहयोग नियोग (जाइका)को दुई अर्ब १० करोड सहयोगमा ल्यान्डफिल साइट बनाउने निर्णय भएको थियो । जाइकाले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन पनि बनाएको थियो । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्ने वेलामा स्थानीय विकास मन्त्रालय र वन मन्त्रालयबीच विवाद भयो ।

तीन वर्षमा सक्ने भनिएको आयोजनाको इआइए गर्न नै चार वर्ष लाग्यो । त्यसपछि दातृ निकाय जाइकाले हात झिक्यो, उसले सहयोग गरेको दुई अर्ब १० करोड पनि फ्रिज भएर गयो । खासमा त्यतिवेलैदेखि आयोजना अलपत्र परेको हो । 

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थल भन्दै सरकारले ०५२ मै बन्चरेडाँडाको पहिचान गरेको थियो । त्यहीअनुसार सडक निर्माणका लागि ०५७ देखि नै ट्रयाक खोल्न थालेको थियो । तर, सडक निर्माण अझै सकिएको छैन । ०६२ अघि काठमाडौंको फोहोर गोकर्णस्थित ल्यान्डफिल साइटमा डम्पिङ गरिँदै आइएको थियो । त्यसका लागि करिब दुई सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

यो साइट भरिएपछि काठमाडौंमा फोहोर उठ्न छाड्यो । त्यसपछि सरकारले बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको हो । यसका लागि तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहोरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत परिचालन केन्द्रले जाइकासँग समन्वय गरेको थियो ।

बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गर्न तीन वर्ष लाग्ने भएपछि त्यतिन्जेल उपत्यकाको फोहोर सिसडोलमा व्यवस्थापन गर्न थालियो । त्यसका लागि सिसडोलमा चार सय २० रोपनी जग्गा अधिग्रहण गरियो । २२ जेठ ०६२ देखि फोहोर त्यहीँ फाल्न सुरु गरिएको थियो ।