वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा मंगलबार निधन भएको छ। उनी ताना शर्माका नामबाट लोकप्रिय थिए। विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका उनले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन्।
डा. शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार तथा ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए। उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो। उनी पाठ्यपुस्तक लेखक पनि थिए। प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले दिवंगत शर्माको निधनबाट नेपाली वाङमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्। रासस