क्यासिनो सञ्चालन गरेबापत रोयल्टी नबुझाएको पाँचतारे याक एन्ड यती होटेल बन्द गराउन गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ । पटक–पटक ताकेता गर्दा पनि रोयल्टी तिर्न आनाकानी गरेको भन्दै पर्यटनमन्त्रीले २५ माघमा याक एन्ड यती होटेल र रोयल क्यासिनो बन्द गर्न निर्देशन दिएका थिए ।
सोमबार गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी पर्यटन विभागलाई होटेलको रोयल्टी बक्यौता रकम उठाउन आवश्यक सहयोग गरिदिन निर्देशन दिएको हो । ‘पर्यटन विभागले होटेल र क्यासिनो बन्द गर्ने निर्णय कार्यान्वयनमा सहयोग गरिदिन बोधार्थ पत्र पठाएको थियो,’ गृहका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘हामीले आवश्यक सहयोग गरिदिनु भनेर प्रशासनलाई पत्र पठाएका छौँ ।’
चार दशकदेखि दरबारमार्गमा सञ्चालन भइरहेको याक एन्ड यती होटेलले क्यासिनोको रोयल्टी र नवीकरण दस्तुर गरी ४२ करोड २५ लाख ६८ हजार दुई सय ५३ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको विभागले बताएको छ । याक एन्ड यतीले २२ पुस ०४८ मा क्यासिनो इजाजतपत्र पाएको थियो, जहाँ गिल्ट इन्भेस्टमेन्ट प्रालिले रोयल क्यासिनो सञ्चालन गर्दै आइरहेको थियो ।
पटक–पटक रोयल्टी बक्यौता तिर्न ताकेता गर्दा पनि आनकानी गरेको भन्दै मन्त्री आलेले क्यासिनो सञ्चालन इजाजतपत्र र पाँचतारे वर्गीकरण पनि रद्द गरिदिएका छन् । साथै, होटेलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार पनि रोक्का राख्ने मन्त्रीस्तरीय निर्णय भएको छ ।