Skip This
सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा : अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको  विद्युत् सेवा भरपर्दो र गुणस्तरीय हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ३ मंगलबार o६:२३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा : अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको  विद्युत् सेवा भरपर्दो र गुणस्तरीय हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ३ मंगलबार o६:२३:oo

सोलुखोला जलाधार क्षेत्रको जलविद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण सम्पन्न प्रसारण लाइन सोमबार बिहान साढे ११ बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाको तिंलासम्म तीन सय दुईवटा टावर रहेको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ ।  

आयोजनाअन्तर्गत तिंलामा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, आठ एमभिए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ ०७६ देखि सञ्चालनमा छ । तिंला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत् आपूर्ति हुनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार छनोटमा भएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्थालगायतका कारण आयोजना निर्माणमा केही ढिलाइ भएको बताए । 

‘सोलु नदी बेसिनमा निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ । निर्माण सम्पन्न भई बर्खाको समयमा पूर्ण क्षमतामा चल्न नसकेको २३ दशमलव ५ मेगावाटको सोलुखोला र निर्माणाधीन जलविद्युत् आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत् प्रवाहको समस्या समाधान भएको छ,’ घिसिङले भने । आयोजनाहरूको विद्युत् सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लामा आफ्नै उत्पादनबाट आपूर्ति दिन सकिनेछ । अर्कोतर्फ बढी भएको विद्युत् ढल्केबर सबस्टेसनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो हुनेछ ।  

तिंला सबस्टेसनबाट विद्युत् आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत् सेवा भरपर्दो र गुणस्तरीय हुनुका साथै चुहावट पनि घट्नेछ । सोलुखोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलुखोला (दूधकोसी), ८२ मेगावाटको तल्लो सोलुखोलालगायतका जलविद्युत् आयोजनाको विद्युत् तिंला सबस्टेसनमा जोडिनेछ । त्यहीँ प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग तीन सय २५ मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ ।  

सोलु करिडोर प्रसारण लाइनको निर्माणमा केही ढिला हुने देखिएपछि सोलुखोला जलविद्युत् आयोजनाको विद्युत् पोहोर फागुनबाट अस्थायी रूपमा ३३ केभी लाइनमा जोडिएको थियो । प्रसारण लाइनको रुट सार्न माग गर्दै उदयपुरको कटारी नगरपालिका–४, मरुवामा करिब दुई वर्ष अवरोध भएको थियो । सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै ठूला समस्या र अवरोध भोगिएको र यसबाट पाठ सिक्दै अन्य आयोजनाहरू निर्माण गरिनुपर्ने आयोजना प्रमुख जनार्दन गौतमले बताए । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग ०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता ०७३ को असोजबाट कार्यान्वयनमा आएको हो ।