१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Saturday, 07 September, 2024
गृह मन्त्रालयमा शुक्रबार बसेको संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगो लगाउन गठित संयन्त्रको बैठकमा कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखक, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी उपमहासचिव जनार्दन शर्मा ।
२o८१ श्रावण १२ शनिबार o६:२३:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

टिआरसी विधेयकमा संयन्त्रको गृहकार्य : कानुनी भाषा मिलाएर  सोमबार अन्तिम रूप दिइने 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार o६:२३:oo

मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषामा स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक (आर्बिटरी) गरिएको हत्या लेख्ने कि दोहोरो भिडन्तबाहेक गरिएको हत्या राख्ने, मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने, द्वन्द्वमा संलग्न बालसेनालाई परिपूरण (राहत र सहयोग)मा समेट्दा कसरी शब्दको प्रयोग गर्ने, घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोक्ने गरी सहमति हुन नसकेका चार विषयमा छलफल भइरहेको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)मा मिल्न बाँकी विषयमा सहमतिनजिक पुगेका प्रमुख दलहरूले कानुनी भाषा मिलाएर सोमबार अन्तिम रूप दिने तयारी गरेका छन् । टिआरसी विधेयक टुंग्याउन गठित सहजीकरण संयन्त्रले टुंगिन बाँकी विषयमा सरोकारवालासँग समेत छलफल गरी प्रतिवेदन शीर्ष तहमा बुझाउने तयारी गरेको हो । दलहरू सकेसम्म जारी अधिवेशनमा संसद्मा विधेयक लैजाने योजनामा छन् । 

कार्यदल सदस्य महेश बर्तौलाका अनुसार शुक्रबार बसेको कार्यदल बैठकले सरोकारवालासँग छलफल गरी भाषागत रूपमा समेटेर अन्तिम रूप दिने तयारी भएको बताए । ‘कार्यदलमा हामी विवाद भएका तथा छलफल हुन बाँकी विषयमा केन्द्रित भएर काम गरिरहेका छौँ । अब फिनिसिङ गर्ने तहमा पुग्दै छौँ,’ उनले भने, ‘अन्तिम रूप दिनुअगाडि एकपटक सरोकारवालाहरूसँग केही राय पनि लिनुपर्ने भएकाले सोमबार केही व्यक्तिहरूसँग परामर्श गर्दै छौँ । सोमबार बिहान परामर्श गरेर त्यसपछि अन्तिम बैठक बसेर कार्यदलबाट टुंग्याएर शीर्ष तहमा पेस गर्नेछौँ ।’ उनका अनुसार हत्याको परिभाषामा करिब सहमति छ । सजाय घटाउने विषयमा अन्तर्राष्ट्रिय संक्रमणकालीन न्यायका मान्यता र प्रचलित कानुनी व्यवस्थाअनुसार २५ देखि ३० प्रतिशतसम्मको माग दाबी लिएर जाने भन्नेमा सहमत बनेको छ । 

कार्यदलका अर्का सदस्य जर्नादन शर्माले सैद्धान्तिक रूपमा सहमति जुटिसकेको र अब सरोकारवालासँग संवाद गरेर भाषिक विषय टुंग्याइने बताए । शर्माका अनुसार सुरक्षाकर्मीका परिवारलाई राहत दिने विषयमा सहमति बनेको छ । ‘हामी सैद्धान्तिक रूपले सहमतिमा पुगेका छौँ । व्यावहारिक रूपले शब्दहरू लेख्ने र मिलाउने भन्नेमा सरोकारवालाहरूसँग परामर्श गरेर टुंगो लगाउने भन्ने सहमति गरेका छौँ,’ उनले भने, ‘कानुनमन्त्री, कानुनसचिव, महान्यायाधिवक्ता, संसद्को कानुन समिति सभापतिलगायतसँग छलफल गर्दै छौँ । उहाँहरूको सल्लाह लिएर कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिनेछ । ’

उनका अनुसार पीडितलाई केन्द्रमा राखेर गम्भीर मानव अधिकार उल्लंघनका घटनामा सजाय पाउनुपर्छ भन्नेमा सहमति छ । मेलमिलाप र परिपूरणमा विशेष ध्यान दिइएको उनको भनाइ छ । 

कार्यदलमा दलहरूबीच अधिकारको गम्भीर उल्लंघनको परिभाषामा स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक (आर्बिटरी) गरिएको हत्या लेख्ने कि दोहोरो भिडन्तबाहेक गरिएको हत्या राख्ने, मानव अधिकारको उल्लंघनको घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने, द्वन्द्वमा संलग्न बालसेनालाई परिपूरण (राहत र सहयोग)मा समेट्दा कसरी शब्दको प्रयोग गर्ने, घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोक्ने गरी सहमति हुन नसकेका चार विषयमा छलफल भइरहेको छ । 

कार्यदल सदस्य बर्ताैलाका अनुसार मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषामा स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक (आर्बिटरी) गरिएको हत्या लेख्ने कि दोहोरो भिडन्तबाहेक गरिएको हत्या भन्ने विषयमा सहमति जुटेको छ । दलहरू स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक हत्या (आर्बिटरी किलिङ) परिभाषा राख्न सहमत छन् । यसैगरी, घटी सजायको सन्दर्भमा महान्यायाधिवक्ताले ७० देखि ७५ प्रतिशत कम सजायको सिफारिस गर्न सक्ने सहमति कार्यदलमा छ । यसअनुसार महान्यायाधिवक्ताले २५ देखि ३० प्रतिशतसम्म सजाय सिफारिस गर्न सक्ने प्रस्ताव छ । 

द्वन्द्वमा संलग्न अयोग्य लडाकु, घाइते, बालसेनालाई परिपूरणमा समेट्ने विषयमा २० फागुन ०८० मा बसेको बैठकले ‘घाइते तथा अपांग भएका वा सशस्त्र द्वन्द्वबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित अन्य व्यक्तिलाई आवश्यक राहत र सहयोगसहितको परिपूरण’ शब्द राख्ने समझदारीअनुसारको विकल्पमा सहमति जुटाउन प्रयत्न भइरहेको छ । कार्यदलमा सुरक्षाकर्मीका परिवारले यसअघि तीन लाख राहत पाएकोमा थप सात लाख परिपूरण दिएर १० लाख पु¥याउने प्रस्तावमा दलहरूबीच सहमति छ । 

गत मंगलबार बसेको कार्यदल बैठकमा दलहरूबीच सुरक्षाकर्मीका परिवारलाई राहत दिने र सजायका मापदण्डका विषयमा सहमति जुटेको थियो । शुक्रबारसम्म गरी संयन्त्रका चार बैठक बसेका छन् । 

कानुन समितिले ५ जेठ ०८० मा ध्रुवबहादुर प्रधानको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले चार विषयमा सहमति जुटाउन नसकेपछि शीर्ष तहबाट समाधान खोज्ने गरी समितिलाई प्रतिवेदन बुझाएको थियो । यी विषयमा सहमति जुटाउन कार्यदल बनाइएको थियो । यी विषय टुंग्याउन १३ असारमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट बर्ताैला र माओवादीबाट शर्मा सदस्य रहेको सहजीकरण संयन्त्र बनाइएको थियो । 

ओलीले प्रधानमन्त्री बनेपछि पहिलोपटक गत मंगलबार (८ साउन) ‘टिआरसी’मा मिल्न बाँकी चार बुँदाका विषयमा कार्यदल सदस्यसँग ब्रिफिङ लिएका थिए । विश्वासको मत प्राप्त गरेसँगै गत आइतबार (६ साउन) मा संसद्मा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका थिए । उनले कांग्रेस–एमालेबीचको सत्ता–सहकार्यका लागि भएको सहमतिमा समेत शान्ति प्रक्रियाको विषयलाई प्राथमिकतामा राखिएको बताएका थिए ।